Logo

शासक


प्रेमिला राई


 

ऊ सबैभन्दा अग्लो आसनमा बस्छ
र, बोल्नेहरूको जिब्रो थुत्न उर्दी गर्छ
ऊ सबैभन्दा माथिल्लो आसनमा बस्छ
र, ऊतिर चोर औँला तेर्साउनेहरूको औँला काट्न आदेश जारी गर्छ
ऊ यो देशको उच्च स्थानमा बस्छ
र, सबै सबैको घाँटीमा पासो लगाउँछ ।

ऊ यो देशको शासक !
ऊ मनलाग्दी बोल्छ
ऊ मनलाग्दी गर्छ
खबरदार !
कोही नबोलुन् ऊ विरुद्ध
कोही नउठुन् ऊ विरुद्ध
कोही नउभिउन् उसको अघिल्तिर
शिर्फ दायाँबायाँ जयजयकारको धुन बजोस्
जयजयकाराको फूल बर्सियोस
जयजयकारको आवाज गुन्जियोस् !

ऊ यो देशको शासक !
ए ! बेला न कुबेला हल्ला गर्ने को त्यो ?
वर्जित छ सडकमा हल्ला गर्न
चोक, गल्ली चौतारामा उभिन
ए ! सडकमा कविता भन्ने को त्यो ?
महाराजको आदेशविना गीत गाउने को त्यो ?
को त्यो झण्डा उठाएर जोड जोडले कराउने ?
ए ! सडकमा आगो बाल्ने को त्यो ?

ए ! को त्यो
सडकमा हल्ला नगर
चोक, गल्ली, चौतारामा हल्ला नगर
यहाँ महाराज जोक्सको राजनीतिमा अधिनस्थ होइसिन्छ
यहाँ महाराज नयाँ उखानको निर्माणमा एकाग्र होइसिन्छ
महाराजको ध्यान भंग गर्ने को त्यो ?
न साँझ न बिहान
न दिन न रात
न गाउँ न सहर
चुपचाप बस !
यो समय कोही कसैले साउती नमार्नु
हो यसै भनिरहेछन् महाराजको रजौटे भरौटेहरू

मेरो देशमा एउटा सन्की शासक छ
ऊ भन्दैछ–
म नै देश हुँ र देश नै म हो
म अमर अटुट हो
हो यसै भन्छ ऊ
म २१औँ शताब्दीको कम्युनिष्ट महामहिम हुँ
ऊ बेपर्वाह हतियारको आडमा ठमठम हिँडिरहेछ
ऊ निसंकोच गरिबको रगत तनतन पिइरहेछ ।

कहिलेसम्म हाम्रो छाला टाँगेर
महामहिम हिँड्ने बाटोमा ओछ्याउने ?
कहिलेसम्म हाम्रो मुटु चुडेर महाराजलाई चढाउने ?
कहिलेसम्म हाम्रो दृष्टिमा पर्दा खसालिरहने ?
यो समय हामीले बोल्न जरुर छ
यो समय हामीले लड्न जरुर छ
यो समय हामीले उठ्न जरुर छ

त्यसैले,
ए सिमान्तकृत हो अब त उठ
ए उपेक्षित अमान्छेहरू हो अब त जाग
ए दोस्रो दर्जाको महिलाहरू हो अब त ब्युँझ
सबै सबै उठ, जाग, ब्युँझ
यो सन्की महाराजको श्रीपेच उतारौँ
यो ढोङी शासकको अहंकार झारौँ
ए विवेकी मान्छेहरू हो आओ
यो पागल शासकविरुद्ध जोड जोडले बोलौँ
यो दलाल शासकविरुद्ध एक भइ लडौँ ।
०००

प्रतिक्रिया दिनुहोस्