Logo
Logo

देशभरि घुसको महामारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सव थियो । आयोगले राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका सबैजसो उच्च पदस्थ व्यक्तिलाई एकै ठाउँमा जम्मा गरेर भव्य रुपमा स्थापना दिवस मनायो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा रहेका व्यक्तिबाटै भ्रष्टाचार भइरहेको भन्दै त्यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताएपछि कार्यक्रममा रहेका व्यक्तिहरुबीच मुखामुख भयो । धेरैको अनुहार कालोनिलो भयो । राष्ट्रपतिले कसलाई संकेत गर्न खोजेको हो भन्ने कुरा त्यहाँ उपस्थित सबैले बुझेको हुनुपर्छ ।
राष्ट्रपतिको भनाइ थियो, ‘भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिहरूबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय हो ।’ त्यसको केही दिनमै आयोगकै आयुक्त राजनारायण पाठकले घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि भने राष्ट्रपतिले भन्न खोजेको विषयले सबैले बुझेका छन् । देशमा सर्वत्र भ्रष्टाचार मौलाइरहेको छ भनेर अख्तियारको स्थापना दिवसमा राष्ट्रपतिले नै भन्नुले भ्रष्टाचार कसरी बढीरहेको छ भन्ने प्रष्ट हुन्छ ।


कारबाही होला पाठकमाथि ?
सो प्रकरणमा पाठकले राजिनामा त दिएका छन् । तर उनीमाथि के कारबाही हुन्छ भन्ने धेरैको चासो छ । किनकी भिडियो प्राप्त भएको लामो समयसम्म पनि सरकारले उनीमाथि कारबाही गर्न कुनै चासो दिएन । लम्बोदर न्यौपाने पक्षले सामुदायिक कलेज नेपाल इन्जिनियरिङ कलेजलाई निजी बनाउन खोजेपछि त्यसविरुद्ध आयोगमा उजुरी परेको थियो । उजुरी छानबिन नगरी तामेलीमा राख्नका लागि आयुक्त पाठकका आफन्तमार्फत डिल भई पटक–पटक घुस लेनदेन भएको थियो । छानबिन तामेलीमा नराखेपछि र पैसा पनि फिर्ता नदिएपछि कलेज सञ्चालकले आयुक्त पाठकसँग भएको कुराकानीको गोप्य रूपमा भिडियो खिचेका थिए । भिडियो सार्वजनिक गर्ने चेतावनी दिँदासमेत पाठकले पैसा फिर्ता नदिएपछि उनीहरूले भिडियो विभिन्न निकायमा र्पुयाएका थिए । त्यसपछि उनी राजिनामा दिन बाध्य भए ।

करोडौं सम्पतिका मालिक
०३९ मा कानुन अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका राजनारायण पाठकले ०६६ मा नायब महान्यायाधिवक्ताबाट अवकाश पाएका थिए । चार वर्षअघि अख्तियार आयुक्तमा नियुक्त भएका पाठकको छवि राम्रो छैन । १४ फागुन ०७१ मा प्रमुख आयुक्त रहेका नवीन घिमिरेसँगै उनी कांग्रेसको कोटाबाट आयुक्तमा सिफारिस भएका थिए। लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा पाठक उनका प्रिय थिए । कार्की हटेपछि उनी आयोगमा एक्लिएको स्रोत बताउँछ । अख्तियारभित्रै अख्तियारको दुरुपयोग गरेका कारण कर्मचारीले पनि उनलाई रुचाउँदैनन् ।
कांग्रेस निकट अन्य व्यक्तिहरु आयुक्तको दौडमा अगाडि थिए । तर, आर्थिक चलखेलमा माहिर पाठकले सबैलाई पछि पारेर सो पद हत्याएका थिए । पैसा बुझाएर अख्तियारमा पुगेकाले सुरुदेखि नै उनको ध्यान कमाउनमा केन्द्रीत थियो ।

भ्रष्टाचारको महामारी
भ्रष्टाचार नियन्त्रण गर्ने निकाय आयोगकै असई दुई साता अघि मात्र घुससहित पक्राउ परेका थिए । आयुक्त पाठककै घुसकाण्ड बाहिर आएपछि देशमा रहेको घुसखोरी प्रष्ट हुन्छ । यसले राज्यका कुनै पनि निकाय भ्रष्टाचारबाट बाहिर छैनन् भन्ने प्रष्ट हुन्छ । सरकारका मुख्य अङ्गहरू न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका जतातजै भ्रष्टाचार छ । जुन नियन्त्रण प्रभावकारी नभएको ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले पनि प्रष्ट हुन्छ । सुशासनमा नेपाल एक स्थान तल खस्किएर एक सय २४ औं स्थानमा पुगेको छ ।
विकास निर्माणका लागि खडा गरिएका विभिन्न कार्यालयदेखि स्थानीय उपभोक्ता समितिसम्म भ्रष्टाचार छ । प्रहरी प्रशासनमा आउने गरेका मुद्दा–मामिलामा ठूलो चलखेल हुने गरेको छ । मालपोत, नापी शाखा कार्यालयले काम छिटोछरितो गरिदिने वा लम्ब्याएर घुस लिने प्रवृत्ती छ । विकासे अड्डाभित्रका कयौँ कर्मचारीहरूको आफ्नै ठेकेदारसँगको आन्तरिक मिलोमतो तथा कैयौँको आफ्नै नाममा ठेक्कापट्टा अनुमति पत्र रहेको र आयोजनाको अध्ययन स्टिमेटमा गडबड अनियमितता गर्दछन् । बाध्यतावश होस् वा नियतिवश, घुस दिनु र घुस लिनु नेपाली समाजमा सामान्य बन्न थालेको छ । महामारी रोगजस्तै भ्रष्टाचार देशभरि फैलिएको छ । अझ निर्वाचनपछि स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारले नै जनाएको छ ।

सात महिनामा एक सय कर्मचारी पक्राउ
हुन त पछिल्लो समय अख्तियारको सक्रियता समेत बढेको छ । तर, पछि घुस खाने क्रम रोकिएको छैन । हरेक हप्ता कम्तीमा तीन जना कर्मचारी घुससहित पक्राउ परिरहेका छन् । किनकी घुस कर्मचारीको बानी नै बनिसकेको छ । घुसबिना उनीहरु कामै गर्न नसक्ने अवस्थामा पुगेका छन् । आइतबार मात्र तीन जना कर्मचारी घुससहित पक्राउ परे । कञ्चनपुरको बेलौरी नगरपालिकाका इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परे । त्यस्तै मालपोत कार्यालय सप्तरीका नासु रुप नारायण शर्मा र कम्प्यूटर अपरेट राजेश कुमार साह तीन हजार रुपैयाँ घुससहित पक्राउ परे ।
गत शुक्रबार भुमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार संजय कुमार ठाकुर ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकिय अधिृकत कैलाश श्रेष्ठ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
पछिल्ला यी घटनाले कर्मचारीतन्त्रमा भ्रष्टाचार आदत बन्दै गएको प्रष्ट हुन्छ । आयोगले पछिल्लो सात महिनामा एक सय भन्दा धेरै कर्मचारीलाई रंगेहात पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । बार्गेनिङ गरेर कर्मचारीले घुस लिएका घटनामा मात्र यसरी आयोगमा उजुरी पर्ने र पक्राउ पर्ने हुन्छन् । धेरै जसो घुसकाण्डहरु मिलेमतोमा हुन्छ । जून बाहिर आउँदै ।

अख्तियारले माग्यो थप अधिकार
नयाँँ संविधान जारी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केही अधिकार कटौती भएको छ । अनुचित कार्यसम्बन्धि छानबिनको अधिकार कटौती भएको छ । भ्रष्टाचार मुद्दा चल्न नसक्ने तर विभागीय कारबाही तथा असुल उपर गर्न सकिने किमिसका अनियमितता अनुचित कार्य अन्र्तगत पर्दछन् । तर, विगत साढे तीन वर्षयता यो अधिकार आयोगलाई छैन ।
सोही अधिकारको दुरुपयोग गरी आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आतंक मच्चाएपछि सरकारले सो अधिकार हटाएको थियो । केही व्यक्तिको बदमासीका कारण अहिले संस्था नै कमजोर बन्न पुगेको छ । संविधानमा अनुचित कार्यसम्बन्धि छानबिन कसले गर्ने भन्ने प्रष्ट छैन । त्यसकारण आयोगलाई नै त्यो अधिकार दिनुपर्ने प्रस्ताव गरिएको छ । आयोगको ऐन संशोधनका लागि हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छ । संशोधनको प्रस्तावमा अनुचित कार्य तथा कर्पाेरेट भ्रष्टाचारको समेत छानबिनको अधिकार आयोगलाई दिन माग गरिएको छ ।
अनुचित कार्यको अधिकार हुँदा आयोगले गल्ती गर्ने कर्मचारीलाई विभागीय कारबाहीका लागि लेख्न पाउँछ । अनियमितता हुन लागेको देखेमा तत्काल सच्याउन निर्देशन दिन पाउँछ । तर, यस्ता किमिसका अनियमिततामा आयोगले केही गर्न नसक्ने अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्