Logo
Logo

स्थानीय भाषा पठनपाठनका लागि काठमाडौं महानगरपालिकाले १७२ शिक्षक भर्ना गर्ने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ ।

संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप महानगरपालिकाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ जना शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसका लागि कामपाले विज्ञापन आह्वान गरिसकेको छ । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ ।

आगामी शैक्षिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ ।

नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताउँछन्।

पछिल्लो समय काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।

कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उनको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संकृतिका बारेमा जानकारी लिन नयाँ पुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताए।

कामपाले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । आगामी शैक्षिकसत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । जसअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ््यक्रमका रूपमा आफँैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ््यपुस्तक तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्