Logo
Logo

भरतपुर महानगरमा भटाभट अगाडि बढ्दै विकासका योजना


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन । भरतपुर महानगरपालिकामा निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेपछि हालसम्म विकास निर्माणका योजना भटाभट अगाडि बढिरहेका छन् । महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा आगामी दुई वर्षभित्र विकासको उदाहरणीय नमुना प्रस्तुत गर्ने हिसाबले महानगरले भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै काम अगाडि बढाएको छ ।

सडक बत्ती जडान, वृक्षारोपण, एक घर एक बिरुवा अभियान, वडा नम्बर चारलाई वातावरणमैत्री वडा घोषणा, वडा नम्बर दुईलाई बालश्रममुक्त वडा घोषणा, सिंगो महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा, महानगरभित्र रहेका सार्वजनिक र पर्ती जग्गाहरु खोजबिन गरी संरक्षण, स्वदेशी र विदेशी शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो ।
उहाँका अनुसार, स्मार्ट सिटी मास्टर प्लानका लागि प्रश्नावली तयार भै घरपरिवार तहको तथ्यांक संकलनको तयारी अन्तिम चरणमा पुगेको छ । सहभागितामूलक विकास मोडल अवलम्वन गरी ५० देखि शत प्रतिशतसम्म लागत सहभागिता जुटाइएको छ । ४ स्थानमा निजी सवारी साधन पार्किङ लट सञ्चालनमा ल्याइएको, वडा नम्बर ३ स्थित न्यूरोडमा ट्रक पार्किङ्गको व्यवस्था गरिएको, सडक पेटीमा व्यवसाय गर्नेलाई बालकुमारी कन्या माविको जग्गा भाडामा लिई व्यवस्थापन गरिएको, तीनपांग्रे सवारी साधनलाई मुख्य राजमार्गमा नियमन गरिएको र अन्य साना सवारी साधनको रुट निर्धारणको प्रक्रिया शुरु गरिएको छ ।
पूर्वाधार निर्माण
महानगर प्रमुख दाहालका अनुसार, सडक ग्राभेल, पीच, नाली, सडकपेटी, पार्क तथा पोखरी निर्माण तथा संरक्षण, ९५ किमी रिङ्गरोड र केही लिंकरोडमध्ये १० किमी रिङ्गरोड र ६५ किमी लिङ्करोड निर्माण शुरु भएको छ भने अन्य स्थानमा ईआइए र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । गत आवमा महानगर, जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे भएका छन् । करिब ६० किमी सडक मर्मत भएका छन् ।
महानगरपालिकाका वडा कार्यालयहरु व्यवस्थित गर्न २ वटा वडा कार्यालयको निर्माण सम्पन्न भैसकेको छ भने अन्य ५ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् । सहरी विकास मन्त्रालयको बजेटबाट देवाघाटमा अत्याधुनिक शवदाह गृह निर्माण, बस टर्मिनल मर्मतका साथै रिङरोड र लिंकरोडको काम प्रारम्भ भएको छ ।
‘नारायणगढको लायन्सचोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुतले व्यावसायिक भवन निर्माणको काम यसै बर्षबाट काम शुरु गर्ने लक्ष्य लिइएको छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको बाटो फुटपाथ र सर्भिस ट्रयाक यसै आवमा सुरु गर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।’
फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आँपटारीमा रहेको महानगरपालिकाको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रमका लागि कोरियाली सरकारसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्बन्धी सम्झौता भई काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, भरतपुर वडा नम्बर १९ स्थित रानीपोखरी पार्क निर्माण सहितको पहुँचमार्ग, देवघाटमा विद्युतीय शवदाह गृह, भरतपुर केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कको स्तरोन्नति टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने भएको छ । रंगशाला निर्माणको लागि भरतपुर महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा १६ बिघा जग्गा उपलब्ध गराएपछि डीपीआर निर्माण कार्य सुरु भइसकेको छ । सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि तीन नम्बर वडा अन्तर्गत नारायणी नदी किनारमा प्रकृया अगाडि बढाइएको र औद्योगिक प्रदर्शनीस्थल र भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार निर्माणमा महानगरको समन्वयात्मक पहल भइरहेको महानगरपालिकाले जनाएको छ ।
स्वास्थ्य
भरतपुर महानगरपालिका वडा नम्बर ९ मा शहरी स्वास्थ्य क्लिनिक स्थापना भई संचालनमा आएको छ । महिला तथा ज्येष्ठ नागरिकहरूलाई भरतपुर अस्पतालको ओपिडि टिकट निःशुल्क रुपमा उपलव्ध गराइएको छ । महानगरपालिकाकै पहलमा भरतपुर अस्पताल केन्द्रीयस्तरको अस्पतालमा स्तरोन्नति भएको छ । चितवनलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरे अनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रिया अघि बढेको छ ।
शिक्षा
शिक्षा क्षेत्रमा सुधारका लागि महानगरले विभिन्न कार्यदल गठन गरी कामहरु प्रारम्भ भएको छ । नगर शिक्षा ऐनको प्रमाणीकरण, राजपत्रमा प्रकाशन र सरोकारवालाबीच सार्वजनिकीकरण गर्ने काम भएका छन् । विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि तथा विद्यालय लेखापरीक्षण कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । नगर शिक्षा समिति एवं नगरस्तरीय आधारभूत परीक्षा समिति गठन गरिएको छ ।
कृषि
भरतपुर महानगरले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्न विषेश कार्यक्रमहरु संचालन गरेको छ । महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रतिलिटर २५ पैसाका दरले प्रोत्साहनस्वरुप नगद अनुदानको वितरण हुँदै आएको छ । तरकारी, फलफुल, माछा, खाद्यान्न उत्पादनमा लागेका किसानलाई औजार, सिँचाई लगायतमा अनुदानको व्यवस्था गरिएको छ । कृषि तथा सहकारी मन्त्रालयबाट वडा नम्बर २ को बालकुमारी, वडा नम्बर २४ को केरुङ्गा र वडा नम्बर १८ मा तरकारी तथा फलफूल संकलन केन्द्र स्थापना हुने भएका छन् ।
पर्यटन
पटिहानीमा अम्रेला भ्यू टावर निर्माणको चरणमा रहेको, चौकीडाँडामा सूर्योदय र गोलाघाटमा सूर्यास्त अवलोकनका लागि भ्यू टावर निर्माण प्रक्रियामा रहेका छ । धार्मिक पर्यटनको रुपमा देवघाट, छितामाई र गणेशस्थानलाई विकास गर्ने, पर्यापर्यटनको लागि बीसहजारी ताल, बाटुली पोखरी, पटिहानी, जगतपुर र मेघौलीलाई केन्द्र बनाउने महानगरले लक्ष्य राखेको छ ।
राजस्व संकलन
महानगरको आन्तरिक राजस्वमध्ये सम्पत्ति कर, ब्यवसाय कर, सेवा शुल्क तथा घरबहाल कर प्रमुख रुपमा रहेका छन् । ब्यवसाय करको सम्बन्धमा श्रेणी निर्धारण गररी पुँजी, लगानी, कारोबार तथा लोकेसनको आधारमा ब्यापारीको स्वघोषणामा कर लिने कार्य गरिएको छ । घरबहाल कर र व्यवसाय कर संकलनलाई व्यवस्थित गर्नका लागि कार्यविधि तथा सफ्टवेयर निर्माणको कार्य भैरहेको छ ।
राजस्वको दायरा वृद्धिका लागि उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघसँग सहकार्य अघि बढाइएको छ । सहज तथा सरल सेवा प्रदान गर्नको लागि वडाबाटै राजस्व सम्बन्धी कार्य हुँदै आएको छ । सबै वडामा अप्टिकल फाइबर बिछ्याउने कार्य प्रारम्भ भएको ।
ठूला पूर्वाधार
मेट्रो सभा हल, क्रिकेट स्टेडियम, अटोल्याण्ड निर्माणका लागि तयारी भैरहेको छ । व्यवस्थित ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि कोरियन कम्पनीसँग सम्झौता गरी पहिलो चरणमा मास्टर प्लान तयारीका लागि कोरियन सरकारको सहयोगका लागि पहल भैरहेको छ ।
विपद् व्यवस्थापन, जीआईएस, नगर प्रहरी, सरसफाई कर्मचारी, प्राविधिक कर्मचारीलाई क्षमता विकास कार्यक्रमहरु सञ्चालन भएको छ । वेबसाइट, बुलेटिन प्रकाशन एवं सूचना अद्यावधिक गरिएको छ । फुटपाथ व्यवस्थापनसँगै तीनपांग्रे सवारीसाधनको सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ ।
मेयरसँग महिला, मेयरसँग जोखिम समूह सशक्तिकरण कार्यक्रम चलिरहेको छ । वातावरणीय सरसफाई अभियान निरन्तर चलेको छ । प्रदेश स्तरीय विभिन्न ४ वटा योजनाको उपभोक्ता समिति गठन भई लागत अनुमानको तयारीमा रहेको छ । वडा नम्बर १३, १७ र २८ का वडा कार्यालयहरु र सपिङ्ग कम्प्लेक्स वडा नम्बर २१ निर्माणको लागि बोलपत्र आह्वान गरी सम्झौताको प्रक्रियामा गएको छ ।
सूचनाप्रविधिमैत्री र नागरिकमैत्री सेवा, कानूनहरुको निर्माण र राजपत्रमा प्रकाशन, वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणको पहल भइरहेको महानगरपालिकाले जनाएको छ । नारायणी नदीमा आएको बाढी नियन्त्रण गरी क्षति हुनबाट जोगाउने कार्य हुँदै आएका छन् । बजार र राजमार्गको मुख्य २० वटा स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गरिएको छ ।
सुशासनको बाटोमा
महानगरपालिकाबाट स्थानीय सरकार संचालनका लागि आवश्यक ४ वटा ऐन, २ वटा नियमावली र १८ वटा कार्यविधिहरु निर्माण भई लागु भएका छन् । ऐनहरु स्थानीय राजपत्रमा प्रकाशित गर्ने क्रम शुरु भएको छ । विवादहरुको निरुपण मेलमिलाप पद्धतिबाट हुने गरेको छ भने केही विवादहरु न्यायिक समितिबाट टुंगो लगाइएका छन् । महानगरको इजलास पनि सञ्चालनमा आएको छ ।
महानगरभित्रका २९ वटै वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन सबै वडा कार्यालयहरुमा अप्टिकल फाइबर जडान गर्ने काम भैरहेको छ । नगरबासीहरुको जनगुनासो सुन्नका लागि टोल फ्रि नम्बर (१६६००५६५२२२२) र हेल्प डेस्कको स्थापना गरिएको छ ।
महानगरको भावी योजनामा केही ठूला पूर्वाधारहरु निर्माण प्रारम्भ, ठूला आकारका महानगरीय पार्क विकास, खुल्ला चिडियाखानाको अवधारणा, वडा कार्यालय भवन निर्माण, विद्यालय भवन निर्माण, सार्वजनिक जग्गाको पहिचान र संरक्षण, सशक्तिकरण एवं क्षमता विकासका कार्यक्रम, उत्पादन बढाउने कार्यक्रम लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्