Logo
Logo
११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

महिला कहिलेसम्म प्रताडित हुनुपर्ने ?


निर्मला बडाल जोशी


  • निर्मला बडाल जोशी

कुशल व्यवस्थापनको माध्यमबाट महिलालाई सीप, शक्ति, क्षमता र कार्यकौशलताका आधारमा समाजमा स्थापित गर्न सकिने धेरै आधार छन् । तर, आज पनि सामाजिक बन्धनहरु बाधक बनेका छन् ।

वर्तमान व्यवस्थामा महिला अधिकारसम्पन्न छन् । तर, सामाजिक जन्जीरहरूबाट उम्कन महिलालाई सहज छैन । महिला र पुरुषबीचको विभेद जस्ताको त्यस्तै छ । सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक, राजनीतिक, न्यायीक लगायतका सबै क्षेत्रमा महिलाको पहुँच स्थापित हुन सकेको छैन । रीतिरिवाज, प्रथा र परम्पराहरु अझै पनि विभेदयुक्त छन् । बालविवाह, बहुविवाह, दाईजो प्रथा, कम्लरी प्रथा, छाउगोठ जस्ता परम्परा महिलाका लागि अभिशाप हुन् । परम्परा र प्रथाको बन्दी बनेका छन्, महिला । अहिलेको तीतो यथार्थ यो नै हो ।

पुरुषको छोरा पाउने चाहनामा धेरै सन्तान जन्माउँदा ग्रामिण क्षेत्रका महिला पाठेघर खस्ने र क्यान्सरको पीडाले अझै प्रताडित छन् । उनीहरुले उपचार पाउनको साटो उल्टो पारिवारिक र सामाजिक तिरस्कार खेप्नु परेको छ । छोरा नजन्माए वापत बहुविवाह, पारिवारिक बहिस्कार र घरेलु हिंसाको पीडा उस्तै छ ।

बोझिलो घरेलु तथा पारिवारिक जिम्मेवारीले व्यक्तिगत इच्छा आकांक्षा र स्वतन्त्रताको दैलो उघार्न सकिरहेका छैनन्, महिला । आठ घण्टा काम, आठ घण्टा आराम भन्ने अन्तर्राष्ट्रिय मान्यतासँग नेपाली महिलाको जीवन पद्धतिले मेल खादैन ।

गर्भवती अवस्थामा पनि आराम गर्न नपाउनु, पोसिलो आहार नपाउनु र धेरै सन्तान जन्माउनुपर्ने बाध्यताले कमजोर शारीरिक, मानसिक अवस्थाको कुरै नगरौँ । महिलाको पीडा व्याख्या गर्न सामान्य साहसले पुग्दैन ।

बाउबाजेहरु भन्ने गर्नुहुन्थ्यो– ‘त्रेता युगमा पनि एउटा मात्रै दानव थियो, जसले सीतालाई हरण गरेर बन्दी बनाएका थिए ।’ तर, त्रेता युगदेखि आजसम्मको इतिहासलाई फर्केर हेर्दा यहाँ हजारौँ रावणहरुको जन्म भइसकेको छ ।

सामाजिक ऐक्यबद्धता, सौहार्दता, पारिवारिक विश्वास स्खलित हुँदैछ । समाजमा दिनदिनै रावणहरुको जन्म भइरहेको आम महिलाले अनुभूत गर्न थालेका छन् । डर, त्रास, भय, नकारात्मक सोच, चिन्तन र असुरक्षाको महसुस हुन थालेको छ । जन्मदिने बुवाआमा, दाजुभाई, छरछिमेकी र आफन्तप्रतिको विश्वास कमजोर हुँदै गएको छ ।

पुरुषको आर्शीवाद र दयामायाको भूलभुलैयामा रमाउने हो भने महिलाले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरु गुम्ने खतरा हुन्छ । एसीडको राप, बलात्कारको चित्कार, घरेलु हिंसालगायतका तमाम उत्पीडनले महिला फेरि प्रताडित हुनुपर्ने हुन्छ ।

छोरीहरु विद्यालय जान डराउनुपर्ने, सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा कयौँ सुत्केरी महिलाहरुले ज्यान गुमाउनुपर्ने, गाउँमा खानेपानी नहुँदा घण्टौँ हिँडेर पानी बोक्नुपर्ने स्थिति उस्तै छ । असुरक्षा, अशान्ति, आर्थिक संकट, राजनीतिक उथलपुथल, सामाजिक–धार्मिक विकृती सबैखाले समस्या झेल्नु अहिले महिलाको नियती जस्तै बनेको छ ।

नेपालको संविधान बनेयता मात्र महिला सशक्तिकरणका नाममा धेरै धनराशी खर्च भएको छ । चाहे त्यो सरकारको तर्फबाट होस् या गैरसरकारी तर्फबाट । तर, परिणाम भने आउन सकेको छैन । महिलाको अवस्था उस्तै छ । यसको एउटा कारण शहर केन्द्रित कार्यक्रम हुनु हो । नेपालका धेरै महिला ग्रामिण क्षेत्रमा बसोबास गर्छन् ।

महिला सशक्तिकरणका लागि बनेका कार्यक्रम लक्षित महिला समुदायसम्म पुग्न नपाउँदै बाटोमा तुहिन्छ । राजनीतिक पार्टीहरुले पनि महिला सशक्तिकरणका कार्यक्रमहरु शहर र सदरमुकाम केन्द्रित गरेका छन् । सरकारी तथा गैह्सरकारी संस्थाहरु ग्रामिण बिकासको लक्ष राखेर कार्यक्रम तर्जुमा गर्छन तर कार्यक्रम सुगम ठाउँहरुमै सिमित हुन्छ । त्यसैले ग्रामिण क्षेत्रका महिलाको अवस्था जस्ताको त्यस्तै छ ।

यस्तो अवस्थामा नेपालको सन्दर्भमा ‘अन्तर्राष्ट्रिय महिला दिवस’लाई विजयोत्सवका रुपमा मनाउने कि महिला मानव अधिकारको संघर्षको निरन्तरताको रुपमा मनाउने ? भन्नेबारे समिक्षा गर्न जरुरी छ ।

संविधानत् तीन तहका सरकार कृयाशिल छन् । व्यवस्थापिकामा सामान्य रुपमा महिलाको उपस्थिति भएतापनि कार्यपालिकाको कार्यकारी पदहरुमा भने स्थानीयदेखि संघीय सरकारमा समेत शुन्य भन्नुपर्छ ।

सातवटा प्रदेश सरकारमा एउटा पनि प्रदेशको प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखको जिम्मेवारी महिलाले पाउन सकेनन् । ७ सय ५३ स्थानीय सरकारमा जम्मा १८ जना महिला कार्यकारी पदमा छन् । राजनीतिक दलका जिल्लादेखि केन्द्रसम्म निर्णायक अहोदामा महिलाको प्रतिनिधित्व छैन । महिलाको क्षमतालाई सम्मान गर्ने पुरुषवादी दृष्टिकोणमा सुधार आउन नसक्नु यसको कारण हो ।

पुरुषवादी मनोविज्ञानमा कति बदलाव आएको छ भन्ने कुरा अपवादबाहेक कयौँ गाउँपालिका, नगरपालिकामा निर्वाचित पुरुष र महिलाको सहकार्य, सह–अस्तित्व तथा समन्वयलाई हेर्दा थाहा हुन्छ । पुरुषत्व त्यति बेला अभिव्यक्त हुन्छ, जब अवसरहरु आउँछन् । महिलो सधैँ निरीह बन्नुपरेको छ ।

रुढीवाढी प्रथा र परम्परासँग जुध्दै राजनीतिक आन्दोलनहरुमा गरेको त्याग र बलिदानको उपलब्धिस्वरुप वर्तमान राज्यव्यवस्थामा महिला सशक्तिकरणले फड्को मारेको त पक्कै हो । कतिपय उपलब्धीहरु प्राप्त भएका छन् । सबैभन्दा ठूलो उपलब्धी त सदियौँदेखि मनभित्र कुण्ठित र दमित भएका पीडाहरु बुलन्द गर्न सक्ने साहस र शक्ति महिलाले बटुल्न थालेका छन् । तर, यतिमात्र उपस्थितिले समानता सम्भव छैन ।

पुरुषको आर्शिवाद र दयामायाको भुलभुलैयामा रमाउने हो भने महिलाले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरु गुम्ने खतरा हुन्छ । एसीडको राप, बलात्कारको चित्कार, घरेलु तथा मानसिक हिंसा लगायतका तमाम उत्पीडनहरुले महिला फेरी पनि प्रताडित हुनुपर्ने हुन्छ । यस्तो अवस्थाबाट मुक्ति पाउन अझै संघर्षमा जुट्नुपर्छ ।

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले सामाजिक प्रेमसहित महिला जनजागरण ल्याओस् र पितृसत्तात्मक सोचद्वारा निर्देशित व्यवहार आचरणमा परिवर्तनको होस्, नेपाल भित्र र बाहिर रहनुहुने सम्पूर्ण दिदिबहिनी दाजुभाईमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामाना !

(लेखक सुदूरपश्चिम प्रदेशका उप–सभामुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्