Logo
Logo
दृष्टिकोण

जनताले श्रद्धाका साथ ओलीको नाम लिने छैनन्


लक्ष्मण देवकोटा


खेल मैदानमा रेफ्री पनि फुटबलमा लात्तो हान्न छिरेपछि खेल भद्रगोल हुने नै भयो । ऋषि कट्टेलले माग्दै नमागेको विषयमा प्रवेश गरेर सर्वोच्च अदालतका माननीयहरुले गन्जागोल राजनीतिलाई झन गन्जागोल बनाइदिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाबमोजिम अदालती फैसला आएको छ । यो फैसलाले प्रतिगमनका नायकहरुको हौसला बढेको छ र बालुवाटारको खरानीमाथि उभिएर फेरि दुईतिहाइ ल्याउने हुँकार गरिरहेका छन् ।

पुनःस्थापित प्रतिनिधिसभामा पुग्दा कुनै हीनबोध नभएकाहरु यसबखत सकेसम्म वडासम्मै विभाजनको चिरा पार्ने, ओलीको विरोध गर्नेहरुलाई सकेसम्म निषेध गर्ने र अराजक ओली समूहले जसरी पनि शासन गर्ने रणनीतिमा अघि बढेको देखिन्छ ।

पूर्वजहरुले भनेका थिए, ‘संघे शक्ति कलौयुगे ।’ शक्ति एकतामा छ विभाजनमा होइन । समाज परिवर्तनको लामो यात्रामा नेतृत्वले बाटो बिराउँदा कत्रा कत्रा साम्राज्यहरु पतन भएका छन्, इतिहासमा । हेर्दाहेर्दै आँखा झिम पार्दा नपार्दै नायकहरु खलनायक भइसकेका हुन्छन् ।

शक्तिको सही प्रयोग भएन भने त्यो शक्तिले स्वयंलाई भष्म पारिदिने रहेछ । ओली त्यही अवस्थितिमा पुगेकाछन्, ठ्याक्कै मिखायल गोर्वाचोभकै आँखा अगाडि सोभियत युनियनको झण्डा क्रेमलिनमा पहिलो पटक पराजयका साथ झारिएको थियो ।

साधारण परिवारमा हुर्किएर कम्युनिष्ट पार्टीमा लामो काम गर्दै देशको उच्च तहमा पुगेर कम्युनिष्ट पार्टीको सर्वनाशमा अहं भूमिका खेलेको दाग लाग्ने गोर्वाचोभलाई रुसीहरुले श्रद्धाका साथ नाम लिंदैनन् ।

सन् १९९१ को डिसेम्बर २५ को दिन । पश्चिमा साम्राज्यले बेलुकीदेखि नै खबर फुकिरहेको थियो रेडियो टीभीमा, अब हाम्रो प्रतिद्वन्दी सोभियत संघ रहेन । सोभियत संघ पतन भयो । सोभियत संघ हार्यो । कम्युनिष्टहरु सकिए । त्यसैको २५ वर्षपछि बीबीसीका पत्रकारसँग कुरा गर्दै ठट्यौलो स्वभावका मिखायल गोर्वाचोभले भनेका थिए, कम्युनिष्ट शासनको समाप्तिपछि रुसमा प्रजातन्त्र आएको छ ।

मानिसहरु प्रजातान्त्रिक अभ्यासमा छन् । अहँ मैले बताउन खोजेको ग्लास्त्रोनस्त्र र पेरेस्त्रोइकाले अर्कै बाटो लियो । मैले हाम्रो साम्राज्य नै पतन गराउने ध्येयका साथ त्यो सुधारको कार्यक्रम ल्याएको थिइन ।

आफूले गरेको काममा पछुतो मानिरहेका गोर्वाचोवले पत्रकारलाई आफू उभिंदै गरेको बैशाखी देखाउँदै भनेका थिए– ‘हेर्नुहोस् पहिला म दुई खुट्टाले ठम्ठम्ती हिंड्थें । अहिले मलाई हिंड्न तीनवटा खुट्टा चाहिएको छ ।’

यो व्यंग्य राजनीतिप्रति थियो । उनले आफूले गर्न खोजेको सुधारको कार्यक्रम अमेरिकीहरुको लागि व्यवस्था नै सिध्याउने माध्यम भएकोमा पछुतो लागिरहेको बताउँदै घुमाउरो पारामा संकेत गरेका थिए, आफूले गर्न खोजेको कुरा गर्न सकिएन र मानिसहरुलाई बुझाउन सकिएन भने नतिजा आत्मघाती हुनेरहेछ ।

साधारण परिवारमा हुर्किएर कम्युनिष्ट पार्टीमा लामो काम गर्दै देशको उच्च तहमा पुगेर कम्युनिष्ट पार्टीको सर्वनाशमा अहं भूमिका खेलेको दाग लाग्ने गोर्वाचोभलाई रुसीहरुले श्रद्धाका साथ नाम लिंदैनन् । कतिपय प्रान्तहरुमा प्रान्तिय सरकारले लेनिनका शालिकहरु जोगाएर राखेको छ । तर, गोर्वाचोभ भन्ने बित्तिकै घृणाको पात्रको रुपमा रुसीहरुले लिने गरेका छन् ।

नेपालको उचाइमा पुगेको कम्युनिष्ट आन्दोलनलाई बेनाम, बेठेगान र विवादै विवादको यो महाभूमरीभित्र धकेल्ने ओलीलाई कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने व्यक्तिको रुपमा, देशको कायापलट गर्ने स्वप्नद्रष्टाको रुपमा इतिहासमा अंकित हुने सुनौलो अवसर जनताले दिएका थिए । १४ वर्ष जेलजीवन बसेको, देखेको कुरा भन्न नडराउने, तल्लो तहको कार्यकर्तासम्मै भिजेको नेताको रुपमा कार्यकर्ताहरुले चिनिरहेका थिए ।

जनतासँग जाने, जनतासँगै घुलमिल हुने र जनताको समस्यामा साथ दिने अर्को अनिवार्य शर्त हो । विभिन्न लय र शैलीमा व्यक्त गरिएपनि मुख्य कुरा यही नै हो । ओलीमा स्वयंमा राज्य र स्वय् नै पार्टी भन्ने जुन प्रवृत्ति देखिएको छ, त्यो जनताको बहुदलीय जनवादको मर्म विपरीत छ ।

मनमोहन अधिकारी सरकारको गृहमन्त्रीको रुपमा काम गर्दा उनले स्यावासी नै पाएका थिए । भारतले नाकाबन्दी लगाउँदा उनले लिएको अडानले त झन् उनको उचाइ बढाएको थियो । यी सबै इतिहासले बलियो शक्ति आर्जन गरेका ओलीले दूरदर्शी निर्णय गर्न सकेनन् ।

निर्णायक भूमिका खेलेको पुष्पकमल दाहाल ‘प्रचण्ड’को माओवादी केन्द्र केवल उनलाई सत्तामा पुर्याउने भर्याङ मात्रै हुनपुग्यो । ओली पुरानो बदला लिने रिस साँधेर बसेका रहेछन् भन्ने कुरा जब उनले प्रचण्डसँग गरेका गुप्त सम्झौताहरुलाई लत्याए, त्यहींबाटै प्रष्ट हुँदै गयो ।

माओवादी केन्द्र र एमालेको एकता प्रचण्डको शक्ति कमजोर भएकोले मात्रै चाहिएको थियो त ? पक्कै थिएन । संसदीय अभ्यासमा आइसकेका दुईथरि कम्युनिष्टहरुको एकताले आर्जन हुने शक्तिलाई सत्ता कब्जा गर्ने माध्यम बनाउने सहमति पनि त थियो । राजनीति भनेको केबल तिगडम र जालझेल मात्र होइन, यो त सिर्जनात्मक कामको पाटो पनि हो भन्ने लक्ष्य पनि त थियो ।

एकताको यो अभिष्ट बीचैमा भद्रगोल बनाएर आफू र आफ्नाहरु बलियो बन्ने, सत्ताको चरम दूरुपयोग गरेर अकूत कमाउने र जसरी पनि चुनाव जित्ने, अनि पूर्ववत एमाले ब्यूँताउने योजनाबद्ध काममा ओली लागिरहेको त घामजस्तै छर्लङ्गै भयो त ।

यहाँनेर एउटा प्रश्न उठ्छ, के कमरेड पुष्पलाल र मदन भण्डारीहरुले देखेको कम्युनिष्ट पार्टीको सपना यस्तै थियो त ? दुईतिहाइ करिबको सत्ताको हर्ताकर्ता अब संसद्मै विश्वासको मत लिनुपर्ने अवस्थामा आइपुग्नु कुन चाहिं अर्थमा शक्ति आर्जनको हिसाबले सही निर्णय ठहरियो ।

भन्नलाई प्रचण्डले दर्ता गरेको आरोपपत्र, असहयोग र माधव नेपालको कुण्ठाको नतिजा भन्न सकिएला तर, सारमा यो ओलीको अवसान हो । कुशल नेतृत्वले आफ्नै आँखा अगाडि साम्राज्यको पतन निम्त्याउँदैन, उसले त असहमत पक्षहरुलाई समेटेर लैजान्छ । पार्टीको विधि, पद्धति र प्रकृयालाई सम्मान गर्छ । बहस गर्छ । सामूहिक टिम स्पिरिटको सम्मान गर्छ ।

अहम् र  हुँकारका साथ । सहयात्रीहरुकै हुर्मत काढेर, आफ्ना कार्यकर्ताको असहमत विचारकै कारण नांगेझार पार्दा आफू पनि निर्वस्त्र भइन्छ भन्ने कुरा सल्लाहकारहरुले कहिल्यै भनेनन् । भन्दैनन् ।

कम्युनिष्ट पार्टी नै रहिरहने हो भने पार्टीलाई ध्वंश गर्ने ओलीहरु प्रवृत्तिलाई पराजित गर्नुपर्दछ । स्वय् मदन भण्डारीले बहुदलीय अभ्यासमा कम्युनिष्टहरुले ख्याल गर्नुपर्ने कुराहरुमा पनि यो प्रष्टै भन्नुभएको छ कि अरुको विचारको सम्मान, खुलापन र बहस महत्वपूर्ण कुराहरु हुन् ।

जनतासँग जाने, जनतासँगै घुलमिल हुने र जनताको समस्यामा साथ दिने अर्को अनिवार्य शर्त हो । विभिन्न लय र शैलीमा व्यक्त गरिएपनि मुख्य कुरा यही नै हो । ओलीमा स्वयंमा राज्य र स्वय् नै पार्टी भन्ने जुन प्रवृत्ति देखिएको छ, त्यो जनताको बहुदलीय जनवादको मर्म विपरीत छ ।

शक्तिमा रहिरहन छलछाम र तिगडमको निम्ति उहाँ माहिर हुनुहुन्छ । तर यसरी अन्त्यमा हात पर्ने भनेको पराजय नै हो । सबैलाई ढाँट्न सकिएला, आफैँलाई ढाँट्न सकिन्न । आफ्ना निकटका हजार अपराध पनि माफ गरिदिने तर असहमत विचारहरुलाई भित्तामा पुर्याएर अन्त्य नै गरिदिने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र अभ्यास हुने दुईलाइन संघर्षलाई बर्जित गर्दछ ।

माधव नेपाल र प्रचण्डलाई धारे हात लगाएर मात्रै कम्युनिष्टहरुको लाखौं माइलको यात्रामा विजयको शिखरतिर पुग्न सकिंदैन कमरेड । विजयको शिखर भनेको बालुवाटार होइन, विजयको शिखर भनेको जनताको मन मुटु हो ।

मनमोहन अधिकारी र मदन भण्डारीको नाम मात्रै लिंदा पनि जति श्रद्धाले शीर झुक्छ, त्यस्तै श्रद्धाले शीर झुक्ने महान अवसर गुमाएर तपाईं खरानी बाँडिरहनुभएको छ । अहम् र  हुँकारका साथ । सहयात्रीहरुकै हुर्मत काढेर, आफ्ना कार्यकर्ताको असहमत विचारकै कारण नांगेझार पार्दा आफू पनि निर्वस्त्र भइन्छ भन्ने कुरा सल्लाहकारहरुले कहिल्यै भनेनन् । भन्दैनन् ।

ठोरीमा राम जन्मभूमीको निम्ति पूर्वीय वेदान्त दर्शनको महान् अध्ययनमा लाग्नुभएको प्रधानमन्त्रीज्यूलाई यो कुरो सम्झाइदिने कसले, शिखरमा पुगेपछि हावामा उड्न थालियो भने सोझै खँगारिइन्छ । इतिहासका पानामा पनि विभाजनको मुख्य खलनायकको रुपमा नाम दर्ज हुनेछ ।

केही व्यक्तिका कारण आन्दोलन ढिलो हुनसक्छ, बदनाम हुन सक्छ तर आन्दोलन रोकिंदैन । केशरजंग रायमाझीहरुलाई त इतिहासले चिर्यै, खड्गप्रसाद ओलीहरुलाई पक्कै चिर्नेछ ।

मदनपोखरा, दमकडा, पाल्पा

प्रतिक्रिया दिनुहोस्