Logo
Logo

गन्तव्य : पर्यटक तान्दै महभीर झर्ना


- दृष्टि न्युज/संवाददाता


भोजपुरको नागीमा रहेको महभिर झर्ना । पछिल्लो समय टेम्केमैयुङ्ग गाउँपालिकाले सो स्थानसम्म पुग्ने पदमार्ग निर्माण गरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस

भोजपुर, १२ फागुन । पर्यटकीय क्षेत्र टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।
भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ ।
गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत संकलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई यहाँ पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् ।
यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत संकलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ । स्थानीय शिव राईले भने, ‘यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भइरहेको छ ।’
प्रचारप्रसारको अभावले यो झर्ना ओझेलमा परेको देखिन्छ । तर स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करीब रु छ लाख बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो । मध्यपहाडी लोकमार्गले छोएको कारण पनि यो झर्नामा आउने पर्यटकको संख्या दिनानुदिन बढिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्