Logo
Logo

तीन जना राष्ट्रसंघीय शान्ति सैनिक मारिए


- दृष्टि न्युज/संवाददाता


बामाको, १२ फागुन (एएफपी) । मालीमा तैनाथ तीन जना राष्ट्रसंघीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो ।
मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका छन् । मालीमा तैनाथ राष्ट्रसंघीय मिसन (मिनुस्मा) मा गिनीका झण्डै ९०० सैनिक कार्यरत छन् । मिनुस्मामा गिनी समेत विभिन्न देशका करिब १५ हजार सैनिक रहेका छन् ।
मिनुस्माले जारी गरेको एक वक्तव्यमा राजधानी बामाकोबाट करिब ४४ किलोमिटर दक्षिणपश्चिमको शिबी भन्ने स्थानमा शुक्रबार बिहान अपरिचित सशस्त्र समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको जनाइएको छ । आक्रमणमा अर्का एक सैनिक घाइते भएका छन् ।
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले एक वक्तव्य जारी गरी आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषदले समेत आक्रमणको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ ।
इस्लामिक अतिवादीहरुले सन् २०१२ मा उत्तरी मालीमा कब्जा जमाएपछि राष्ट्रसंघले शान्ति सैनिक पठाएको छ । सन् २०१५ मा बामाको सरकार र सशस्त्र विद्रोहीबीच शान्ति सम्झौता भइसकेको छ । तर, इस्लामिक विद्रोहीले हत्याहिंसाका घटना नरोकेका कारण उक्त सम्झौताको पूर्ण कार्यान्वयन हुन सकेको छैन । सन् २०१३ मा राष्ट्रसंघीय शान्ति सैनिक परिचालन भएयता मालीमा १९० जनाभन्दा बढी सैनिकको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्