Logo
Logo

गति सीमितका सूचना पाटी स्थापना


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुली । सिन्धुलीको धुरा बजार क्षेत्रमा दुर्घटना बढेपछि न्यूनीकरण गर्न आज गति सीमितिका सूचना पाटी राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका–६ वडा कार्यालयको सहयोगमा गति सीमितका सूचना पाटी राखिएको हो । 
धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म गति सीमितका २० वटा सूचना पाटी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिधा सडक भएकाले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्न यस्तो अभियान शुरु गरिएको कार्यालयले जनाएको छ । 

आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह र वडा नं ६ का वडाध्यक्ष उज्ज्वल थापाले सडकको बीचमा गति सीमित अधिकतम गति ३० लेखिएको सूचना पाटी राखेर शुभारम्भ गर्नुभएको थियो । 
बजार क्षेत्रमा दैनिकजसो दुर्घटना हुने गरेको र अधिकांश दुर्घटना तीव्रगतिका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिनुभयो । उहाँले सडकको बीचमा राखिएका गति सीमितको सूचना पाटीलाई रातको समयमा झिक्न र बिहान पुनः सडकको बीचमा राख्न आग्रह गर्नुभयो । 
धुराबजार क्षेत्रमा हरेक ३०÷३० मिटरमा गति सीमितका सूचनापाटी राखिएको र अधिकतम गति ३० भन्दामाथि रहने सवारीलाई कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो । 
प्रहरीले गति मापन गर्ने र तीव्र गति रहेको पाइए ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गरिने उहाँको भनाइ छ । बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न अन्य बजार क्षेत्रमा समेत यस्ता बोर्ड राखी बजारलाई दुर्घटनामुक्त बनाउने उहाँको भनाइ छ । 
ट्राफिक प्रहरीले गति सीमितका बोर्ड राखेपछि धुरावासीले सुरक्षित महसुस गरेको जयमान तामाङले बताउनुभयो । सिन्धुलीका बजारमा तीव्रगतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका उपाय प्रहरीले अपनाइरहेको छ । बजार क्षेत्र दुर्घटनाको उच्च जोखिम रहेको भन्दै त्यस्ता स्थानमा गति सीमित गराउन ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्