Logo
Logo

प्रहरी सुस्ताउँदा सिरहामा भएको अर्को विस्फोटको अन्तर्य


प्रदीपराज दाहाल

7.6k
Shares

 

काठमाडौं । आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भयो । विस्फोटमा ८ जना घाइते भए । मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो ।

जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । नायब सुब्बा यादव सिरहाको विष्णुपुर गाउँपालिका–३ का हुन् ।

घाइतेको नामावली-
१. शिव कुमार यादव, नायब सुब्बा (बिष्णपुर गाउँपालिका, सिरहा)
२. भोला बहादुर मगर, लेखापढी व्यवसायी
३. लक्ष्मी राना (३५), गोलबजार नगरपालिका ६ सिरहा
४. बेचनी मगर, गोलबजार नगरपालिका ६ सिरहा
५. लाल बहादुर बिश्वकर्मा (५२), सिरहा नगरपालिका १६
६. फूलकुमारी ठाकुर (३८), गोलबजार, सिरहा
७. बद्रिनारायण यादव (५४), भगवानपुर गाउँपालिका, सिरहा
८. दिनेश भण्डारी (३५), धनगडीमाई नगरपालिका ४ सिरहा

कसरी भयो विस्फोट ?
मालपोत कार्यालय सधैँ झैँ आइतबार पनि निकै चापमा थियो । शनिवार बिदा भएसँगै आइतबार सेवाग्राहीको उपस्थिति बाक्लिने स्वभाविक नै थियो । सोही अनुसार मालपोतमा कर्मचारी पनि नियमित काम गरिरहेका थिए ।

मालपोतमा कर्मचारी भएको स्थानसम्म सेवाग्राही पुग्ने गरेका छन् । सधैँ झै सेवा दिइरहँदा एक व्यक्ति मालपोत छिरे । कार्यालयको मुख्य कागजात राखिएको स्थानमा पुगेर ति अपरिचित व्यक्तिले आफ्नो झोला राखे । झोल राखेको स्थानमा कुर्सी थियो ।

उनले राखेको झोला कुर्सी मुनि हुँदा र अन्य सेवग्राही पनि झोला बोकेर आउने र त्यसरी नै कतै राखेर काम गर्ने हुँदा कसैले पनि त्यसलाई अनौठो सोचेनन् । त्यसपछि झोला राखेर ति व्यक्ति कार्यालय बाहिर गए । बाहिर जाने वित्तिकै विस्फोट भयो । र, सेवग्राहीसहित ८ जना घाइते भए । दुई जना गम्भीर रहेकाले उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरीको उपस्थिति
बम विस्फोट भएलगत्तै केहीसमय सिरहाको लहान युद्धभूमि जस्तो बन्न पुग्यो । कार्यालयभरि घाइते भएकाको रगतले लतपतिएको भुइँका दृष्य सामाजिक सञ्जालमा भाइरल हुन थाले । प्रहरी घटनास्थल पुग्यो ।

घटनास्थलमा अनुसन्धानका लागि खटेको प्रहरीले एउटा पर्चा भेट्टायो । त्यसपछि प्रहरीले पर्चाको आधारमा केही प्रहरीलाई अनुसन्धानका लागि अन्य निकायको समन्वयमा विभिन्न स्थानमा सर्च अपरेशन गर्न पठायो ।

के थियो पर्चामा ?
प्रहरीले ‘गोइत’ समूहको पर्चा भेट्यो । सोही पर्चाको आधारमा प्रहरीले अन्य टोलीलाई समूहका सदस्य र नाइके खोज्न विभिन्न स्थानमा पठाएको छ । पर्चा धुजाधुजा भएकाले पर्चामा के लेखिएको छ भन्ने कुरा खुल्न बाँकी छ । बम कसले र कतिबेला ल्याएर राखेको कुरा पत्ता लगाउन प्रहरीले अहिले सीसी क्यामेराको फुटेज हेरिरहेका छन् ।

के हो ‘गोइत’ समूह ?
प्रहरीले घटनास्थलमा भेटाएको पर्चा खासमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको हो । भूमिगत समूह गोहितले किन आक्रमण गर्यो भन्ने खुलेको छैन ? आइतबार बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए ।

यादव गोइत समूहका ‘सेकेन्ड म्यान’ हुन् । यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका थिए । यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गोइत समूहको आपराधिक घटनाक्रम
–२०७७ चैत १ मा सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, ७ जना घाइते ।
–२०७५ साउन २७ मा विराटनगर महानगरपालिकामा बम विस्फोट, २१ दिनपछि प्रहरीद्वारा समूहका तीनजना पक्राउ ।
–२०७४ मंसिर २८ मा सिरहाको लहानको लोकतन्त्र चोक छेउमा बम विस्फोट, साइकलको सिटमुनी फिट गरेको सकेट बम विस्फोट, सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ बर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ बर्षीय धनराज चौधरी घाइते ।
–२०७३ मंसिर २३ मा सिरहाको मिर्चैयामा प्रेसर कुकर बम विस्फोट, घटनाको जिम्मा लिने गोइत समूह ।
–२०७३ मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम फेला, घटनाको जिम्मा लिने गोइत समूह
–सप्तरीको झुट्की प्रहरी चौकीको असईको हत्या
–राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बम विस्फोट, घटनाको जिम्मा ।

प्रदेश दुईमा आतंक मच्चाउँदै ‘गोइत समूह’
विशेषगरी विस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घटनाको जिम्मा लिँदै आएको गोइत समूहको ‘बम आतंक’को कारण प्रहरी हैरान हुने गरेको छ । यस्तै, उद्योगी व्यवसायीसँग चन्दा माग्ने उसको श्रृङ्खला अझै रोकिएको छैन ।

युद्धकालमा गोइतलाई हटाएर तत्कालीन माओवादीले मात्रिका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएपछि माओवादी छाडेका गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका थिए । त्यतिबेलादेखि नै पटक–पटक मधेसमा धावा बोल्दै आएका गोइतले अझै पनि मधेसमा आतंक सिर्जना गरिरहेका छन् ।

लामो समयदेखि भारत बस्दै आएका गोइतलाई पक्राउ गर्न प्रहरीको विशेष ब्युरोले गरेको पटक–पटकको प्रयत्न सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्