Logo
Logo

नेकपाको सकारात्मक क्लाइमेक्स सकिंदै, अब नकारात्मक क्लाइमेक्स तिर जाँदै


- दृष्टि न्युज/संवाददाता



नेकपा(एमाले) र (माओवादी)का विच एकताको घोषणा गत सालको दशैंको वेला भएको थियो । त्यसपछि यस वर्षको जेठ ३ गते यी दुई पार्टी विच पार्टी एकता भयो । तर १० महिना वित्दा पनि तलका कमिटिहरुको एकता भएको छैन । यस अर्थमा केपि ओली र प्रचण्ड असफल भएका छन् ।

तलका कमिटिहरुको एकता गर्न दशौं महिना सम्म असफल हुनु भनेको प्रमुख नेताहरुको विचारधारा र कार्यक्षमतामा आएको गम्भीर समस्या हो । एकातिर पार्टीका स्थानिय कमिटिहरुको वैठक समयमा हुनु पर्ने भनेर विधानमा लेख्ने, तर अर्कोतिर पार्टी कमिटिहरु नै नवनाइनुले ठुला नेताहरुले नै पार्टी विधानको खिल्ली उडाएको स्पष्ट भएको छ । नेताहरु नै अराजकतावादी भएपछि पार्टीमा त्यसको प्रभाव पर्नु स्वाभाविक छ ।

तलका कमिटिहरु एकिकरण नहुनुको प्रमुख कारण गुटवन्दी हो । नेकपा अब तीन ठुला गुटहरु र अन्य दर्जनौं साना गुटहरुको संयुक्त मोर्चा वनेको छ । ओली, प्रचण्ड, माधव नेपालका ठुला समुह छन् । त्यसपछि सचिवालय र स्थायी समितिमा रहेका नेताहरुको साना समुहहरु छन् । यी गुटहरु विच आगामी महाधिवेशन र आगामी सरकारको लागि शक्ति संघर्ष शुरु भैसकेको छ ।

यस अर्थमा नेकपा पनि नेपाली कांग्रेस जस्तै विभिन्न गुटहरुको संयुक्त मोर्चा जस्तो वन्न पुगेको छ ।

नेकपा अहिले सवभन्दा वढी नांगो तरिकाले गुटवन्दी हुने पार्टी वनेकोछ । विचारधारात्मक भिन्नताले गुट समुह वन्नु देश र जनताको लागि राम्रो हुने गर्दछ । तर नेकपामा अहिले भैरहेको नांगो गुटवन्दीे विचारधारात्मक भिन्नता भन्दा पनि पार्टी भित्र सत्ता र शक्ति हत्याउने उद्देश्यले वनेको छ ।

देश र जनताको लागि यसरी राम्रो हुन्छ भन्ने विचारधारात्मक मतभिन्नताले गुट र उपगुटहरु नबनेर आफ्नो तुच्छ व्यक्तिगत स्वार्थको लागि वनेका गुट उपगुटहरुले नेकपाको वचेखुचेको कम्युनिष्ट कुराहरु पनि विसर्जन गर्दै कांग्रेस जस्तै पार्टी वनाउने तिर उन्मुख भएको छ ।

केन्द्रमा शुरु भएको गुटवन्दी अहिले तल तल सम्म सबैतिर पुगेको छ । ठुला तीन गुटहरु र अन्य दर्जनौं साना गुटहरुको शक्ति संघर्ष अबका दिनहरुमा अझ चर्किदंै जाने देखिन्छ । यी गुट उपगुटहरुको काम एकले अर्कालाई भण्डाफोर गर्ने, कमजोर गर्ने र निल्ने उद्देश्यले भैरहेको छ ।

केवल सत्ता र शक्ति हत्याउन अन्तर संघर्ष तीब्र हुने र वैचारिक संघर्ष सून्यतामा जाने क्रम वढ्ने गर्दा नेकपा अब भित्र भित्रै कमजोर वन्नेछ । पार्टी एकताले ठुलो वनाएर चुनावी जित हासिल गरेपनि त्यसको सही सदुपयोग जनताको पक्ष भएन । एक वर्षको अवधीमा सरकारले जनअपेक्षा अनुसार काम गरेन । यसको असर पनि गुटवन्दीमा परेकोछ ।

पार्टी एकता अब वैचारिक बुर्जुवाकरण हुँदै गुटवन्दीले शत्रुतापूर्ण रुप लिई यदुवंशको हाल हुने तिर जानथालेको देखिन्छ । एमाले माओवादी पार्टी एकताको सकारात्मक क्लाइमेक्स सकिएको छ र अब नकारात्मक क्लाइमेक्स तिर जाँदै गरेको देखिन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्