Logo
Logo

४ हजार किलोमिटर रेलयात्रामा भियतनाम पुग्दै किम, सर्वसाधारणका लागि रेलसेवा बन्द


- दृष्टि न्युज/संवाददाता


भियतनाम, १३ फागुन (एएफपी) । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ ।
किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै छन् । उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै आउने छन् । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ ।
किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन् । उनी चीनको राजधानी बेइजिङ हँुदै रेलमा भियतनाम पुग्नुछन् । भियतनामका अधिकारीहरुले जनाएअनुसार उनी मंगलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्ने भएका छन् ।
उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन् । उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन् ।
उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम रहेको छ । दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन् । उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन् ।

साथै उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मंगलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन् ।
उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लाग्नु भएको हो । उहाँहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो । हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्