Logo
Logo

पोखरामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने


दृष्टि संवाददाता

315
Shares

पोखरा । नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा यही चैत २० र २१ गते पोखरामा देशका उत्कृष्ट रेस्लरसहितको राष्ट्रिय रेस्लिङ प्रतियोगिता सञ्चालनको तयारी गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव एवं राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विश्वमा मात्र नभई नेपालमा पनि रेस्लिङ खेलप्रति युवा वर्गको आकर्षण बढिरहेका अवस्थामा खेलको विकास र विस्तार गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देशीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा देशका १४ जिल्लाबाट ३५ जना खेलाडीले ‘लाइट’, ‘हेभी’ र ‘हार्डकोट’ विधामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । पहिलो संस्करण विसं २०७५ मा काठमाडौँमा सम्पन्न भएको थियो । प्रतियोगिताको विजेताले नगद रु एक लाखसहित च्याम्पियन बेल्ट र उपविजेताले रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने स्थानीय व्यवस्थापक लुना गुरुङले जानकारी दिए ।

सङ्घले यसअघि विसं २०७३ फागुन १८ देखि २१ गतेसम्म पोखरामा नेपाल–भारत मैत्रीपूर्ण प्रतियोगिता र विसं २०७४ फागुनमा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । यस वर्ष पनि अन्तरराष्ट्रिय प्रतियोगिता आयोजनाको योजना रहे पनि कोरोना भाइरसका कारण सफल हुन नसकेको महासचिव श्रेष्ठले बताए ।

उनले भने ‘गत वर्ष नै हामीले अन्तरराष्ट्रिय प्रतियोगिताको तयारी गरेका थियौँ तर कोभिडका कारणले गत वर्ष सम्पन्न हुन सकेन । यस वर्ष पनि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता नै गर्न प्रतिबद्ध रहे पनि वातावरण अनुकूल रहेन ।’

रेस्लिङ खेलको विकासका लागि खेलाडी उत्पादन र निरन्तर तालीमका लागि रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको र सो एकेडेमीमा नेपालमा चर्चित रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ)ले नियमित खेलाडीलाई प्रशिक्षण दिँदै आएको बताइन्छ ।

खेलाडीलाई अन्तरराष्ट्रियस्तरको प्रशिक्षण दिनका लागि सङ्घले वैदेशिक प्रशिक्षणको व्यवस्था गरेको सङ्घले जनाएको छ । नेपाल रस्लिङ सङ्घले आगामी असारमा देशका सातै प्रदेशमा प्रदेशस्तरीय च्याम्पियनसीप आयोजना गर्ने योजना रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षक तामाङले नेपालमा रेस्लिङ खेलप्रति दर्शककले माया दिँदै आएको बताउँदै चीन, अमेरिका र जापानबाट तालीम लिएर आफूले प्रशिक्षणको कार्य गर्दै आएको बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रतियोगिताले दर्शकको माया पाउने विश्वास व्यक्त गर्दै आफूहरुको ध्यान आगामी वर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा केन्द्रित रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताका लागि पोखरा रोजाइमा पर्नुले समग्र गण्डकी प्रदेश गौरवान्वित भएको बताउँदै यसले पोखरालाई खेलकूदको राजधानी शहर बनाउन मद्दत पुुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्