Logo
Logo

प्रज्ञामा अनिताको आवाज


दृष्टि संवाददाता

378
Shares

काठमाडौँ । कवि अनिता लामा सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरू लेखिरहन्छिन् । समसायिक घटनाहरूले उनलाई तत्क्षण छुन्छन् र सिर्जना कोरेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छिन् । ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरी ३ ओटा कविता संग्रह ल्याइसकेकी अनिता मंगलबार एकल कविता वाचनमा उत्रिइन् ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘अनिताको आवाज’ शीर्षक एकल कविता वाचन कार्यक्रममा अनिताले समसायिक राजनीतिक–सामाजिकचेतका कवितामात्रै सुनाइनन्, लोप हुँदै गइरहेको परम्परागत नेपाली सांस्कृतिक सम्पदा, ज्ञान र अभ्यासप्रति चिन्ता समेत जाहेर गरिन् कवितामार्फत । प्रधानमन्त्रीपत्नी राधिका शाक्यलाई साक्षी राखेर उनले भुइँमान्छेका आवाज मुखरित सिर्जनाहरू समेत सुनाइन् ।

जेसुम अभियानद्वारा आयोजित एकल कविता वाचनको शुरुवात उनले आमा र बुबामा समर्पित गरेर दुई छोटा कविता ‘दियो’ र ‘बुबा’बाट गरेकी थिइन् । आमाको योगदान र समर्पणलाई दियोसँग दाँजिएको कविताबाट उनले शुरुमै ताली पाइन् भने एउटा सन्तानका लागि बुबा भन्दा ठुलो कोही हुन सक्दैन भन्ने भावको ‘बुबा’ सिर्जनाले हलको माहौललाई भावुक बनाइदियो–

बुवा ! म कहिल्यै ठुली भइनँ
ठुली हुन पनि जानिनँ
काँधमा बुई चढाएर स्ुकल गएको
काँधमा ऋण बढाएर कलेज गएको
काँधको हड्डी खियाएर जीवन जिएको
तिमीभन्दा स्पात अरु केही थिएन
तिमीभन्दा ठुलो अरु केही हुनै दिइनँ ।

त्यसपछि उनले वैदेशिक रोजगारमा गएको आफ्नो पति सम्झेर पत्नीले लेखेको चिठ्ठी आधारित कविता ‘पसिना’ सुनाइन् । मुलुकलाई समृद्धितिर लैजान रेमिट्यान्स पठाउने युवा पसिनाहरूको कथा, उनीहरूको पारिवारिक मनोदशा, पैसासँगै यादहरू पठाएपनि भौतिक रुपमा नजिक हुन नसकेको दाम्पत्य जीवनको पीडालाई यो कविताले सशक्त रुपमा उजार गरेको थियो–

ओ प्रिय खसम !
बहुलाएर वरिपरिको वायु
हिमपात र आँधी तुफान बज्रन्छ छातिमाथी
भो, गर्दिन म तिम्रो पसीनाको बिक्री
भो, मिलाउँदिन म तिम्रो सपनामा काँध
भो नपठाउ मलाई, तिम्रो जिन्दगी पग्लिएको पसिना
म पलपल हरपल त्यही पसिनाको सुगन्ध अभावमा
बारबार आफैलाई मरेको देख्दछु ।

लगत्तै उनले ‘प्रसाद’, कवितामा भुँइमान्छेको कथा सुनाइन् । मन्दिर आसपास फुल र प्रसादका सामाग्री बेच्ने श्रमिकहरूको वास्तविकता उजागर गरिएको यो कविताले पनि राम्रै ताली पायो । ‘म’, ‘खतरा’, ‘ओ एमाले’, हुँदै मुलुकको विकास र समृद्धिलाई भुइँमान्छेको दृष्टिकोणबाट हेरिएको कविता ‘बिर्खबहादुर माझी’ सुनाइन् । ‘अटकनारायण’ शीर्षकको कवितामा उनले हराउँदै गएको नेपाली संस्कृतिप्रति चिन्ता प्रकट गरिन् । ‘स्थानीय कला र संस्कृति उजागर गर्ने उद्देश्यले तीनबर्षदेखि हामीले जेसुम अभियान चलाइरहेका छौँ’, उनले कविताको रचना गर्भ सुनाइन्, ‘केही महिनाअघि भक्तपुरमा कार्यक्रम गर्दा त्यहाँको स्थानियतामा ह्रास आइरहेको देख्यौँ । मौलिकपन हराउँदै गएको पायौँ, अनि यो कविता जन्मियो ।’

अन्तिममा उनले आधा दर्जनजति छोटा कविता सुनाइन् । ‘माइलस्टोन’, ‘घुम्टो’, ‘पसल’, ‘स्पन्दन’, ‘फूल’, ‘बलिदान’, ‘ओछ्यान’, ‘प्रेम’, जस्ता छोटा कविता निकै चोटिला थिए । ‘कुरीकुरी’ शीर्षकको छोटो कविताले उनले महिलामाथि हुने यौन हिंसाप्रति व्यंग्य कसिन्–

मित्र !
तिमीले धाप मारेको कि
कुमको बोटिसको तुना माडेको ?
तिमीले ह्याण्ड सेक गरेको कि
ह्याण्डसेक भित्र बुढी औंलाको
काउकुति मारेको ?
छि, स्त्री छाला देख्नासाथ
लम्पट हुने तिम्रो नजरलाई
कुरीकुरी…

अनिताका कविता सुनेपछि हालै आत्मकथा कृति ल्याएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले शुभकामना दिँदै भनिन्, ‘अनिताको कविता लेखनबारे मलाई राम्रोसँग थाहा छ । उनको साहित्यिक लेखन कविताबाट अन्य विधामा पनि फड्को मारेको हेर्न चाहन्छु ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक दशकअघि कवि अनिताको कृति विमोचन गरेको सन्दर्भ सम्झे । ‘कवि अनिता हामी बाँचिरहेको समयकी आवाज हुन् । उहाँका कविताहरूले समसामयिक विषयवस्तुका अलवा समय, सम्यता र संस्कृतिको वकालत गरेका छन् । उहाँ एक अब्बल कवि हुनुहुन्छ भन्ने कुरा आज वाचित कविताहरूले पुष्टि गरेका छन् ।’

कवि अनितालाई अर्का कविहरू स्नेह सायमि, शशी लुमुम्बू, सुरेश हाचेकाली र फूलमान वलले एक एक ओटा कविता वाचन गरेर साथ दिएका थिए । जन्मदिनको समेत अवसर पारिएको कार्यक्रममा कवि अनितालाई बुबा कान्छा लामा, आमा माया लामा र दिदी एवं वाग्मती प्रदेश सांसद सीता लामाले
तामाङ परम्परा अनुसार टोटलाको फूलको टीका लगाइदिएर शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन कवि अस्मिता मालीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्