Logo
Logo

वीपी प्रतिष्ठानको भीसी विवादमा फसे स्वास्थ्यमन्त्री यादव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुमराहमा राखेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू अनुकुलका उपकुलपति राख्ने प्रपञ्च रचिरहेका रहस्य बाहिर आएको छ ।
हालका उपकुलपतिको कार्यकाल करिब साढे ३ वर्ष बाँकी छँदै उनले सुनियोजित ढंगले नयाँ भिसी (उपकुलपति) नियुक्त गर्न खोजेका रहस्य बाहिरिएको हो । यसमा स्वास्थ्यमन्त्रीको द्रव्यमोहले काम गरेको पाइएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिको बेला निकै लामो समयदेखि स्वास्थ्यमन्त्रीले आर्थिक लाभ लिंदै आएका छन् । प्रत्येक पटक भीसी नियुक्तिमा निकै ठूलो रकमको चलखेल हुने गरेको छ । परम्पराजस्तै भनेको घूस लिएर भिसी नियुक्त गर्ने क्रमलाई निरन्तरता दिंदै उपेन्द्र यादवले आफू निकटका व्यक्तिलाई भिसीमा नियुक्त गर्न खोजेका हुन् । नयाँ भीसी बन्नेहरुसँग ठूल रकमकोे डिल गरिएको स्रोतले जनाएको छ ।
निकै मोटो रकम आउने भएपछि स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्रीलाई समेत गुमराहमा राखेर काम गरिरहेका पाइएको छ । प्रतिष्ठानको कुलपति प्रधानमन्त्री ओली हुन् ।

यस्तो छ स्वास्थ्यमन्त्रीको कर्तुत

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चालक समितिको निर्णयअनुरुप प्रधानमन्त्री तथा तत्कालीन मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरियो । सचिव केदारबहादुर अधिकारीले दिएको प्रतिवेदन गोप्य राखियो । त्यसपछि बी.पी. विज्ञान स्वास्थ्य प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमिततामाथि छानबिन गर्न भन्दै जसले भ्रष्टाचार ग¥यो उसैको संलग्नतामा फेरि छानविन समिति गठन गरियो ।
खासमा वीपी कोइराला प्रतिष्ठानमा भ्रष्टहरुकै बोलबालाले प्रतिष्ठान नै डुब्ने अवस्थाको सिर्जना भएपछि प्रचण्ड सरकारको पालामा डा. राजकुमार रौनियारलाई भीसी बनाइयो । बी.पी. प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास र रजिष्टार तुलबहादुर श्रेष्ठको समूहले भीसी रौनियारलाई १० महिनासम्म काम गर्न नदिएर अनेक षडयन्त्र गर्दै आएका छन् । र, यिनै व्यक्तिको षड्यन्त्रको शिकार वीपी प्रतिष्ठान सुधारमा लागेका रौनियार बनाइएका छन् ।
२०७३ फागुन १७ गते प्राडा राजकुमार रौनियार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त भएका हुन् । प्रतिष्ठानका पूर्व उपकूलपति प्रा.डा.बलभद्र दास र रजिष्टार तुलबहादुर श्रेष्ठले सञ्चालक परिषद्को बैठकबाट स्वीकृति नलिई लागत बढाई ४ सय शैयाको मातृशिशु भवन निर्माणको ठेक्का साथै २ सय शैयाको कार्डियोलोजी भवन तथा अंकोलोजी भवनहरुको निर्माण सम्बन्धी प्रक्रिया अनियमितरुपमा अगाडि बढाई परामर्शदाता छनौट प्रक्रिया समेत अगाडि बढाएका थिए । वीपी दास र श्रेष्ठले गरेका अनियमित काममध्येको नेपाल फाइनान्सियल स्ट्यान्डर्ड(एनएफआरएस) सम्बन्धी फाइनान्सियल सफ्टवेयरको बिना टेण्डर ठेक्का दिई काम गराएको विषयमा संचालक परिषद्को ४१ औं सभाको बैठकमा छलफल पनि भएको स्रोत बताउँछ ।
संचालक परिषद्को ४१ औं सभाले निर्ण नं. ६९३० मा सभामा उपस्थित सभासद्हरुले प्रतिष्ठानमा दिनानुदिन बढ्दै गइरहेको बिरामीको चाप एवं विशेषज्ञ सेवा दिन आवश्यक रहेकोले आव २०७२÷०७३ देखि निर्माण शुरु भएको भवनलाई निरन्तरता दिनुपर्ने राय सुझाव दिएको थियो ।
संचालन परिषद्को ४० औं सभाबाट उक्त भवनहरुको बजेटको सुनिश्चितता सम्बन्धमा तत्कालीन स्वास्थ्य सचिवको संयोजकत्वमा गठित समितिबाट प्रतिवेदन पेश नभएको अवस्थामा आदिलाई मध्यनजर गरी एक छानबिन समिति गठन गर्ने र उक्त समितिको प्रतिवेदन प्राप्त भएपछि उक्त भवनहरुको निर्माण र एनएफआरएसको विषयमा प्रक्रिया अगाडि बढाउने सम्बन्धमा सभाका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई अख्तियारी दिईएको थियो । सो छानबिन समितिको निर्णय प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव स्वयंले निर्णय गरी प्रक्रिया अगाडि बढाउने अधिकार प्रदान पनि गरेको थियो ।
सञ्चालक परिषद्को उक्त निर्णय बमोजिमको काम गर्नुपर्नेमा स्वास्थ्य मन्त्री यादव भ्रष्टहरुको प्रभावमा पर्दै अनेक, षड्यन्त्र र चलखेल गर्दै आएका छन् । एउटा राम्रो स्वास्थ्य प्रतिष्ठान भ्रष्टहरुकै कारण धरासायी हुँदैछ । भ्रष्टहरुको प्रलोभनमा परेर निर्णय भूमिकामा प्रत्यक्ष संलग्न रहेका ब्यक्तिहरुलाई मन्त्रीले कारवाही गर्नुपर्नेमा तिनै आरोपी रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र कार्यकारिसणी सदस्य रेक्टर गुरुप्रसाद खनाल सम्मिलित छानबिन समिति प्राकृतिक न्यायको सिद्धान्त विपरीत गठन गरियो ।
केदारबहादुर अधिकारीले २०७५ कात्तिक १५ गते प्रधानमन्त्री तथा कूलपति केपी ओलीसमक्ष पेश गरेको प्रतिवेदन र उपप्रधानमन्त्री यादवबाट २०७५ कात्तिक २० गते कुलपति समक्ष बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । सचिव केदारबहादुर अधिकारीको प्रतिवेदनले कसकसलाई के कस्तो आरोप लगाइएको छ भन्ने सम्बन्धमा हालसम्म कुनै जानकारी नभएको अवस्थामा प्रधानमन्त्री तथा कुलपति केपी ओलीलाई गुमराहमा राखेर २०७५ फागुन १६ गते सहकुलपति तथा उपप्रधानमन्त्री यादवले सञ्चालक परिषद्को बैठक बोलाएर छलफल गर्ने नाटक गरेर मधेसी भीसी आरके रौनियारलाई फालेर करोडौं घुस दिनेलाई भीसी बनाउन भ्रष्टहरुले चलखेल गरेको वीपीका कार्यकारी सदस्यहरु बताउँछन् ।
बी.पी. प्रतिष्ठान पूर्व भीसी बलभद्र प्रसाद दास र रजिष्टार तुलबहादुर श्रेष्ठको मिलेमतोमा भएको भ्रष्टाचार ढाकछोप गर्न यो गिरोहले स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई प्रलोभनमा फसाई सकेको स्रोत बताउँछ । यो गिरोहले २०७२ सालदेखि संस्थाले लुटको अखडा बनाएकाले सचिव केदारवहादुर अधिकारीको संयोजकत्वमा छानविन समितिको प्रतिवेदन नै गायब पार्दै आएको छ ।
अचम्मको कुरा त के छ भने, केदारवहादुर अधिकारीले दिएको प्रतिवेदन गायब पारेर जो व्यक्ति भ्रष्टाचारमा मुछिएको छ, छानबिन समितिमा वीपी प्रतिष्ठानका कुलपति तथा प्रधान मन्त्री केपी ओलीलाई झुक्याएर रजिष्टार तुलबहादुर श्रेष्ठ समेत सम्मिलित गरेर अर्को छानविन समिति बनाइयो ।
२०७५ भदौ १७ गते प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) बमोजिम सहकुलपति तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा डा. गुरुप्रसाद खनाल, सिनेटर, बी.पी. प्रतिष्ठानकै भ्रष्टाचारमा मुछिएका रजिष्टार तुलबहादुर श्रेष्ठ रहेको छानबिन समिति गठन गरिएको थियो ।
जो माथि अनियमितता र भ्रष्टाचारको आरोप लागेको छ, उसैको संलग्नतामा गठन भएको समितिले भ्रष्टाचार र अनियमिततालाई गुपचुप पार्न हालका भीसी डा रौनियार फाल्न सक्रिय रहेका छन् । यसबारे स्वयं सिनेटहरु नै आश्चर्यमा छन् ।
भ्रष्टाचारीको आरोप लागेका श्रेष्ठलाई नै भ्रष्टाचार गर्ने को हो ? खोजी गर भनेर छानविन समितिमा राखेर उसैको प्रतिवेदनको आधारमा सिनेटमा छलफल गर्ने तयारी गरेपछि सरोकारवालाहरु सबै छक्क परेका छन् ।
सिनेटको निर्णयलाई लत्याएर आफूखुशी मनोमानी गर्ने रजिष्टारको बानीले कर्मचारी प्रशासन पनि उनीविरुद्ध रुष्ट भएको खबर छ । भवन निर्माण, प्रबन्धक नियुक्तिमा मापदण्डको धज्जी उडाएको, नियमविपरीत भुक्तानी दिएको, खाताको पैसा गायब, सुटुक्क कसैको खातामा ५ लाखको चेक काटेको जस्ता विषयमा मुछिएका श्रेष्ठले कलंकको कालो टिका पनि लगाउन भ्याइसकेका छन् । यसका साथै आह्वान गरिसकेको टेण्डर बारम्बार संशोधन गर्दै खल्ती भर्ने कामका लागि पनि रजिष्टार श्रेष्ठ चर्चित भइसकेका छन् ।
यता प्रधानमन्त्री केपी ओली भ्रष्टाचारको विरुद्धमा शून्य सहनशीलताको अभियान चलाउने अनि उता प्रतिष्ठानका रजिष्टार नै भ्रष्टाचारलाई मलजल गर्नेतर्फ उन्मुख हुँदा सरकारको अभियान केवल नारामै सीमित हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्