Logo
Logo

अस्ट्रेलियाको वेल्स राज्यमा भारी बर्षा, नेपालीहरु पनि प्रभावित


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन प्रभावित भएको छ । अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ तर आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्धार कार्यले कही पनि मानवीय क्षति भएको नभएको उल्लेख छ ।

सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिबार पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई शनिबार रातिदेखि आइतबार बिहानसम्म सतर्क पारिएको छ ।

आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् ।

बिहीबारयता यहाका नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् । केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् ।

संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।

राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् । यहाँको जलवायु विभाग, प्रहरी र आपतकालीन सेवाका संयन्त्रहरु उच्च सतर्कताका साथ परिचालन भएका छन् ।

यस्तै बर्षा र बाढीले त्यहाँ बस्ने नेपालीहरु समेत प्रभावित भएका छन् । गत बिहीबारदेखि भारी वर्षा हुन थालेपछि न्यु साउथ वेल्सका वर्षा र बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय र बसोबास गर्ने नेपालीहरु पनि प्रभावित भएका हुन् । सबैभन्दा बढी प्रभावित पोर्ट मक्वारीमा बस्ने नेपाली भएका छन् । तीमध्ये एक हुन् झापाका प्रविन चौहान ।

शनिबारदेखि टारी स्थित स्थानीय उद्धार केन्द्रमा सुरक्षित् बसिरहेका प्रविन चौहान पोर्ट मक्वारीमा रेस्टुरेन्ट संचालन गरिरहेका नेपाली हुन् । एकै स्थानमा दुईवटा रेस्टुरेन्ट संचालन गरेर दर्जन बढी नेपालीलाई रोजगारीसमेत दिइरहेका उनी आफैं शुक्रबारको बाढीले पोर्टमक्वारी क्षेत्र प्रभावित भएकाले सुरक्षित उद्धार केन्द्रमा बसेका छन् ।

हाल सबैभन्दा बढी प्रभावित पोर्टमक्वारी क्षेत्रका नेपालीलाई टेलिफोन गरी नेपाली दूतावास क्यानबेराकी उपनियोग प्रमुख दुरापदा सापकोटाले अवस्था बुझेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्