Logo
Logo

‘ओलीले ठग्ने काममात्रै गरेपछि १९ पृष्ठ लामो दस्तावेज ल्याएँ’


दृष्टि संवाददाता


फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डले ५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसर आइतबार आयोजित कार्यक्रममा बोल्दै ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त गर्न खोजेको समेत बताए ।
‘अहिले दुई धार छ । एउटा यो संविधानलाई कसरी च्यात्ने होला भन्ने छन्’ उनले भने, ‘माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई कसरी निस्तेज होला भनेर देशभित्र र देश बाहिरका गणतन्त्र विरोधी सामन्तवादका दलालहरु मिलेर एउटा समूह बनेको छ ।’
अध्यक्ष प्रचण्डले संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको बताउँदै भने, ‘ओली विदेशीको अगाडि लम्पसार पर्नसक्छ ।’
‘२०औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नुहोला’ उनले भने, ‘अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’
उनले केपी ओलीले ले जालझेल, षड्यन्त्र र पार्टीभित्रै विधि पद्धतिको निर्मम हत्या गर्न थालेपछि विद्रोहको झण्डा कसले उठाएको बताउँदै भने, ‘त्यो झण्डा मैले उठाएँ । अब मलाई साथ दिने कि नदिने ?’ उनले केपी ओलीले ठग्ने काम मात्रै गरेपछि १९ पृष्ठ लामो दस्तावेज ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्