मेक इन नेपाल नारामा सीमित नहोस् « Drishti News – Nepalese News Portal
Logo

मेक इन नेपाल नारामा सीमित नहोस्


शंकरमान सिंह


‘मेक इन नेपाल’ले नेपाली उत्पादक कम्पनीहरूलाई विश्व बजारमा आफ्नो ब्रान्ड स्थापित गर्न मद्दत पुर्याउँछ । यसले निश्चितरूपमा नेपाली जीडीपी वृद्धि र नेपाली मुद्राको मूल्य बढाउन सहयोग गर्दछ । यो अभियान सफल भएमा लगानीकर्ता देशमै लगानी वृद्धि गर्न उत्साहित हुनेछन् । जसले उत्पादन र रोजगारी वृद्धि हुनेछ ।

नेपालमा लगानी गर्ने वातावरणको अभावमा पूँजी पलायनलाई पनि यो सोचले रोक्ने छ । विश्वभरका कम्पनीहरूले मेक इन नेपाल परियोजनामा ठूलो लगानी गर्ने सम्भावना पनि उत्तिकै छ ।

यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । आधुनिक पूर्वाधारको विकास गर्नुका साथै विदेशी पूँजीका लागि नयाँ क्षेत्र खोल्नुसमेत आवश्यक र अनिवार्य छ । नेपाललगायत विश्वमै सेवाका क्षेत्रहरू अर्थव्यवस्थाको एक महत्वपूर्ण अंग बनेको छ । विकसित देशका अधिकांश व्यक्तिहरू सेवा व्यवसायमा संलग्न छन् । सेवा क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा पनि हो ।

सेवा क्षेत्रले धेरै मानिसलाई रोजगारीका अवसरहरू प्रदान गर्छ । जसले देशबाट बेरोजगारी समस्या कम गर्न मद्दत पुर्याउँछ । नेपालको सन्दर्भमा हाम्रो देशमा थोरै उद्योग भएका कारण धेरै मानिस बेरोजगार छन् र रोजगारीका लागि विदेश जान बाध्य छन् ।

धेरैजसोले निजी क्षेत्र, रेस्टुरेन्ट, स्कूल कलेजहरू, बैंक र होटल आदि क्षेत्रमा रोजगारीका अवसरहरू पाइरहेका छन्, जुन अपर्याप्त छ । जसले शैक्षिक बेरोजगारको संख्या पनि बढ्दैछ । कृषि क्षेत्र देशको प्रमुख उत्पादनको क्षेत्र हो । हामीले कृषि क्षेत्रको विकास मात्र गर्न सक्यौं भने खाद्यान्न, तरकारी, मासुजन्य कुरामा आत्मनिर्भर हुन सक्छौं ।

कृषिका बारेमा हामीले जति कुरा गर्यौं, त्यति काम पनि गर्न सकेको भए खाद्यान्न, फलफूल, तरकारी र मासुजन्य कुरामा आज धेरै हदसम्म आत्मनिर्भर हुने थियौं । तर, बढ्दो शहरीकरणले गाउँ रित्तिएको छ । खेतीयोग्य भूभाग कंक्रिटले ढाकिएको छ ।

सरकारले ‘मेक इन नेपाल’ अभियानलाई गम्भीरताका साथ चिन्तन, मनन र मूल्यांकन गरे नेपाल बनाउने राम्रो माध्यम बन्न सक्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर २०१४ मा दिल्लीको लालकिल्लाबाट शुरू गरेको लोकप्रिय अवधारणा ‘मेक इन इण्डिया’को पहिलो बीउ महात्मा गान्धीले सन् १९४४ मा नै रोपेको जस्तो लाग्छ । उनले भारतीय अर्थव्यवस्थाको विकासको सम्बन्धमा केही सिद्धान्त र नीतिहरूको वकालत गरेका थिए ।

जसलाई उनले भारतीय सरकारले सन् १९४७ मा स्वतन्त्र भएपछि अनुशरण गर्ने आशा गरेका थिए । गान्धी मोडेलको उद्देश्य थियो– ‘सामग्रीको उत्पादनमा वृद्धि गर्नुका साथै भारतीय जनताको सांस्कृतिक तह विशेषगरी कृषि र प्रकृतिमा निर्भर लाखौ गाउँमा बस्ने गरिबको उत्थान गर्नु हो ।’

समग्रमा, ‘मेक इन इन्डिया’ असफल भएको हो कि भन्ने आशंका देखिन्छ । तथापि, दीर्घकालमा यसको असर देखिन बाँकी नै छ । मेक इन इण्डिया किन असफल भयो ? त्यसका तीन कारण छन्– पहिलो कारण, यसले उत्पादन क्षेत्रको लागि अत्यन्त महत्वाकांक्षी वृद्धिदर तय गर्यो ।

१२–१४ प्रतिशतको वार्षिक वृद्धिदर औद्योगिक क्षेत्रको क्षमताभन्दा बाहिर छ । ऐतिहासिक तवरमा भारतले यो हासिल गरेको छैन र त्यस्तो एक्कासी परिवर्तनको लागि क्षमता निर्माण गर्ने आशा गर्नु ठिक थिएन ।

दोस्रो कारण, धेरै क्षेत्रलाई यसले सतहमा ल्यायो, यसले नीति केन्द्रित नोक्सान निम्त्यायो । तेस्रो कारण, विश्वव्यापी अर्थतन्त्रको अनिश्चितता र बढ्दो व्यापार संरक्षणवादलाई ध्यानमा राखेर, पहल एकदमै दुव्र्यवहारपूर्ण देखियो ।

नेपालमा हालै केही निजी क्षेत्रका उद्यमी व्यवसायीले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।

निजी क्षेत्रबाट यस्तो उत्साहजनक प्रस्ताव आउनु स्वागतयोग्य छ । यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको कुरा सार्वजनिक भएको छ ।

आशा गरौं सरकारले यस अभियानलाई गम्भीरताका साथ चिन्तन, मनन र मूल्यांकन गरे नेपाल बनाउने यो एउटा राम्रो माध्यम बन्न सक्छ ।
नेपालमा यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

यो लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब अमेरिकी डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुरयाउने तथ्यांक पेश गरेको छ । यो चाहनाको सूचीजस्तो नहोस्, व्यवहारिकमा कार्यान्वयन होस् ।

प्रतिक्रिया दिनुहोस्