Logo
Logo

राष्ट्रियस्तरको यात्रामा शाइन रेसुङ्गा बिकास बैंक


दृष्टि संवाददाता


काठमाडौं । देशको कान्छो विकास बैंक शाइन रेसुङ्गा विकास बैंकले राष्ट्रियस्तरुको विकास बैंकको रुपमा कारोबार सुरु गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा मुख्य कार्यालय रहेको यस बैंकले एकैपटक काठमाडौं उपत्यकामा ५ वटा नयाँ शाखा खोलेर केन्द्रीय प्रतिस्पर्धामा उत्रिएको हो । आइतबार बैंकले काठमाडौंको नयाँ बानेश्वर, न्युरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक शाखा विस्तार गरेको छ ।

शाखा विस्तार घोषणा गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष धानेश्वर पौडेलले मोफसलको रुपमा रहेर बैंकिङ कार्य गरिरहेको शाइन रेसुङ्गाले अब संघीय राजधानी काठमाडौंसँग नेटवर्क विस्तार गर्दै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको भन्दै खुशी व्यक्त गरे । बैंकको संस्थापक अध्यक्ष समेत रहेका पौडेलले १२ वर्षअघि सुरुवाती संघर्षको समय स्मरण गर्दै राष्ट्रियस्तरको विकास बैंक भएकोमा बैंकका सेयर धनी, सेवाग्राही तथा कर्मचारीलाई धन्यवाद दिए ।

समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले १२ वर्षे यात्रामा शाइन रेसुङ्गाले ठूलो आरोह अवरोह पार गर्दै अन्ततः राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाउन सफल भएको बताए ।

यो बैंक २०६५ सालमा स्थापना हुँदा हामी सबैभन्दा कान्छो विकास बैंकको रुपमै थियौं । र, आज राष्ट्रिय स्तरमा जाँदा पनि राष्ट्रिय स्तरको विकास बैंकमध्ये सबैभन्दा कान्छो विकास बैंककै रुपमा रहेका छौं, सीइओ पौडेलले भने । पौडेल भन्छन्– ‘करिब ९० को हाराहारीमा रहेका विकास बैंकमा यो विकास बैंकले त्यतिखेर त्यो बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि चुनौतिपूर्ण थियो भने आज हामी कान्छो विकास बैंकको रुपमा अगाडि बढी राख्दा पक्कै पनि फेरि त्यो चुनौती कायमै छ ।’

ग्रामीण क्षेत्रमा रहेर व्यवसाय गर्दा बैंकसँग सीमित पूर्वाधार भएकोमा अब त्यो विस्तार हुने सीइओ पौडेलको भनाई छ । उनले भने ‘हामी ५० प्रतिशतभन्दा बढी आर्थिक कारोबार हुने, बैंकिङ कारोबार हुने काठमाडौंमा प्रवेश गरेका छौं । र, यो अवसरमा यहाँहरुलाई हामी के भन्छौं भने हामीले केही नयाँ कुरा गरिहेका छैनौं, एउटा बैंकरले जे गर्नुपर्ने हो । हामी त्यही रोल मात्र गर्छौं, त्योभन्दा बाहिर जाँदैनौं ।

सीइओ पौडेल भन्छन्– ‘कर्पोरेट गभर्नेन्स, इथिकल बैंकिङ, प्रुडेन्ट बैंकिङ, इन्टरनेट कन्ट्रोल र सर्भिस डेलिभरीमा जोड दिन्छौं । त्यही कारणले नै हामी यहाँसम्म आएका छौं । र, हाम्रो यी कुरालाई नै यहाँहरुले स्वीकार गरिदिनु भएको छ भन्ने विश्वास छ ।’

हाल यस बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने, कुल निक्षेप लगानी ३३ अर्ब रहको छ । ३० अर्ब बराबरको कर्जा लगानी रहेको बैंकले जनाएको छ । हालै मात्र विस्तार भएको बैंकको काठमाडौंका ५ नयाँ शाखासहित देशैभरी ८० शाखा विस्तार भएका छन् भने, बैंकको सेवाग्राही (ग्राहक) ४ लाख बढी पुगेका छन् । बैंकले हालै पोखरा र महेन्द्रनगरमा शाखा विस्तार गरेकोमा छिट्टै धनगढीमा पनि स्थापना गर्ने बैंकको तयारी छ ।

शाइन रेसुङ्गा बैंक २०६५ सालमा शाइन डेभलपमेन्ट बैंक लिमिटेडको नाममा रुपन्देहीको बुटवलमा ३ जिल्ला कार्य क्षेत्र भएर स्थापना भएको थियो । स्थापनासँगै करिब ४ वर्ष गुल्मी जिल्लाको रेसुङा विकास बैंकसँग मर्ज गरेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो । उक्त बैंकलाई मर्ज गरी सकेपछि कार्य क्षेत्र पनि ३ जिल्लाबाट बढाएर १० जिल्लामा विस्तार गरिएको थियो ।

२०७३ सालमा प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई पनि मर्ज गरिएको थियो । डेढ वर्षअघि बाँके जिल्लामा केन्द्रीय कार्यालय भएको भार्गव विकास बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय भएको पूर्णिमा विकास बैंकलाई एक्वायर गरेर शाइन रेसुङाले राष्ट्रिय स्तरको विकास बैंकका लागि आफ्नो योग्यता पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्