Logo
Logo

के भारत र पाकिस्तान वीच ठुलो युद्ध होला ?


- दृष्टि न्युज/संवाददाता



फागुन १४ गते भारतका लडाकू विमानहरुले पाकिस्तानमा गएर वम आक्रमण गरेपछि भारत र पाकिस्तानका विच ठुलो युद्ध होला कि भन्ने चिन्ता छाएको छ । तर युद्ध विज्ञान तथा राजनीतिको ऐतिहासिक वस्तुगत आधारलाई विश्लेषण गर्ने हो भने यी दुई देशहरुका विच ठुलो युद्ध तत्काल भैहाल्ने सम्भावना देखिन्न ।

जे जति प्रचार भैरहेको छ, त्यो दुबै देशका शासक वर्गले आफ्ना देशका जनतालाई झुक्याउन र भ्रममा राखेर शोषण अत्याचारपूर्ण व्यवस्था कायम राख्न गरिएको प्रचार युद्ध मात्र हो ।

यसका लागि पहिला युद्ध के हो भन्ने वुझ्नु पर्दछ । युद्ध भनेको आफुलाई वचाउनु र अर्को पक्षलाई समाप्त पार्नु वा पराजित गर्नु हो । युद्धमा आक्रमण र प्रतिरक्षा दुबै पक्ष आधारभूत कुरा हो । आक्रमण मात्रले पनि युद्ध जितिन्न, प्रतिरक्षा मात्रले पनि युद्ध जितिन्न ।

आक्रमण र प्रतिरक्षा दुबैका लागि युद्धमा अनेकौं हतियार विकास गरिएको हुन्छ । मानव इतिहासमा प्राचिनकाल देखिको हतियारलाइ हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ । शुरुमा विकास गरिएको ढाल र तरवारमा तरवारले आक्रमण गर्ने र ढालले शत्रु पक्षको आक्रमण छेकेर प्रतिरक्षा गर्ने गरिन्थ्यो । वन्दुक र बुलेट प्रुफ गाडि तथा ज्याकेटको विकास पनि आक्रमण र प्रतिरक्षाको सिद्धान्त अनुसार नै भएको छ । बम र बंकरको विकास पनि आक्रमण र प्रतिरक्षाको दोहोरो नियम अनुसार भएको छ । टैंक आक्रमण र प्रतिरक्षाको संयुक्त स्वरुप हो ।

लडाकू विमान र एन्टी एअरक्राफ्ट गन पनि आक्रमण र प्रतिरक्षाको सिद्धान्त अनुसार विकास भएको छ ।

यी हतियारहरु विकास भएको अवधी सम्म विश्वमा ठुल्ठुला युद्धहरु भए । पहिलो र दोश्रो विश्व युद्ध यहि अवधीमा भयो, जसमा करोडौं मानिसहरुको हत्या भयो ।

तर जब विश्वमा क्षेप्यास्त्र र आणविक हतियारको विकास भयो, तब देखि विश्वमा यी हतियार भएका देशहरु विच प्रत्यक्ष रुपमा ठुलो युद्ध भएको छैन । किनभने आणविक हतियारको प्रतिरक्षा गर्ने हतियारको विकास अहिले सम्म भएको छैन ।

आणविक हतियारको विकास भएपछि आणविक हतियार भएको र नभएको देशका विच ठुलो युद्ध भएको त छ, तर आणविक हतियार भएका दुई देश विच प्रत्यक्ष युद्ध ठुलो रुपमा भएको छैन । दुबै देशले एक अर्का विरुद्ध आणविक हतियार प्रयोग गरेमा दुबै देश पराजित हुने अर्थात दुबै देश ध्वस्त हुने हुँदा आणविक हतियार भएका दुई देश विच ठुलो युद्ध नभएको हो ।

भारत र पाकिस्तान दुबै संग आणविक हतियार छ । यी देशविच ठुलो युद्ध भएमा एकले अर्को विरुद्ध दुबैले आणविक हतियार प्रयोग गर्ने अवस्था आउने र दुबै देशको विनास हुन सक्ने भएकोले भारत र पाकिस्तान वीच ठुलो युद्धको अवस्था नआउने युद्ध विज्ञानको निश्कर्ष हो । किनभने युद्ध भनेको शत्रुलाई नष्ट गर्नु मात्र नभएर आफु वच्नु र विजय पाउनु पनि हो । तर आणविक युद्ध दोहोरो भएमा विजेता कोही पनि वन्न पाउने छैन ।

तर अहिले यी दुबै देशले प्रोक्सी वार अर्थात छद्म युद्ध लडिरहेका छन् । यस अन्तरगत एक अर्को देशका विरुद्ध शत्रुतापूर्ण प्रचारवाजी गर्ने, झुठा अपवाह फैलाउने, सानो परिमाणका आक्रमणहरु गर्ने, छापामार कारवाहीहरु गर्ने आदि गरिरहेकाछन् ।

जबसम्म शोषक वर्गीय राज्यसत्ता भारत र पाकिस्तानमा रहन्छ, तब सम्म शासक वर्गले जनतालाई अन्धराष्ट्रवाद, जातिवाद, धर्म आदिको भ्रम दिएर आफ्नो शासनसत्ता लम्ब्याउने प्रयास गरिररहनेछ । नेपालका शासक वर्गले पनि वेलावेलामा चर्को राष्ट्रवादको नारा दिएर आफ्नो राज्यसत्ता वचाउन जनतालाई भ्रम दिने गरिरहेको छ ।

तसर्थ उत्पीडित वर्गको अन्तराष्ट्रवादी एकता र वोर्डरमा अर्काे देशको जनता मार्न जानु भन्दा आफ्नै देशका शासक वर्गहरु विरुद्ध विद्रोह गर्न प्रेरित गर्ने माक्र्सवाद नै उत्पीडित जनताको सही विचारधारा हो । धार्मिक अन्धता, जातिवाद, अन्धराष्ट्रवाद आदि सबै जनताको शत्रु विचारधारा हो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्