आमाको सम्झना « Drishti News – Nepalese News Portal
Logo

आमाको सम्झना


शंकरमान सिंह


सीता जन्मभूमि जनकपुरमा जन्मिएको हुँदा आमाको नाम मिथिला रह्यो । बुवा दशरथमान सिंहसँगको विवाहपछिको दाम्पत्य जीवन पूर्ण, सफल र सार्थक रह्यो । उहाँको चार छोरा क्रमशः धरणी, रामचन्द्र, डा. बालकृष्ण र म शंकरमान सिंह र दुई छोरीहरु मुना, सावित्री छन् । सन्ततिप्रति आमाको स्नेह, माया ममता लालनपालनका कारण उहाँका सन्तति आज उच्च नैतिकताका साथ सफल जीवन बिताइरहेका छन् । जसको श्रेय आमाबुबामा जान्छ ।

राणाकालमा सुब्बा गजबहादुरको कान्छी छोरीको रुपमा जन्मिनुभएकी आमा मिथिलाको बाल्यकाल जनकपुरलगायत विभिन्न ठाउँमा बित्यो । बुवा दशरथमान सिंहसँगको बिबाहपश्चात तानसेन र बुटवलमा अधिकांस समय बिताउनुभएकी आमाले जीवनभर बुवाको पेशामा सघाउनुभयो । बीएचयुबाट अध्ययन सकेर पाल्पा फर्किएपछि बुवा आयुर्वेदिक औषधिको उपचारमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजालगायत जिल्लामा हिँड्नुहुन्थ्यो ।

बिरामीको औषधोपचारमा बुवा गइरहनुपर्ने भएकोले घर परिवारको पूर्ण रेखदेख आमाले गर्नुहुन्थ्यो । ‘ए फर एप्पलदेखि जेड फर जु’सम्म ९० बर्षको उमेरमा पनि उहाँले कण्ठस्थ रहेको र सामान्य शिक्षा प्राप्त गर्नु भएकी आमा घरको कुशल प्रशासक र व्यवस्थापकजस्तै हुनुहुन्थ्यो ।

उहाँ भन्ने गर्नु हुन्थ्यो उचित शिक्षा पाएको भए म पनि कुशल प्रशासक बन्थे, राजनीतिमा लागेको भए देश नै हाँक्ने क्षमता र आत्मविश्वास उहाँमा थियो । अलि हठी एवं जिद्दी स्वभावकी आमाको बुवासँग करिब सत्तरी वर्ष लामो जीवनयात्रामा हामीले जाने बुझेसम्म कहिले पनि झैँझगडा भएको अनुभूत भएन ।

धर्मप्रति अत्यन्तनै श्रद्दा भाव राख्नु हुने भएकोले हाम्रो तानसेन वसन्तपुर घरमा केही न केही पूजा भइरहन्थ्यो । यसका अतिरिक्त खासगरी प्रत्येक शनिबार पाल्पास्थित भगवती मन्दिर, मंगलबार श्रीनगर गणेश, प्रत्येक मंसिर वा वैशाखमा पाथीको रोटसहित पाल्पा भैरवमा पहिलो पूजा, अमर नारायण मन्दिर, टक्सार गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर आदिमा नियमित प्रबचन सुन्ने वा पूजा आराधना गर्ने उहाँको दैनिकीजस्तो भएको थियो । मुक्तिनाथदेखि उहाँले चारधाम तीर्थ, भगवान साइबाबाको दर्शन, नैमी सारान्यलगायत थुप्रै तीर्थस्थलको दर्शन गरी ज्ञान, दर्शन र मोक्ष प्राप्त गर्नुभयो ।

साथै, ज्योतिष विद्या, अजिमा र भविष्य पहिले जान्नेमा उहाँको उत्सुकता थियो । उहाँले देवघाटको पवित्र धर्मस्थलमा शंकराचार्यको प्रतिमूर्ति स्थापित गर्नुभयो र धार्मिक प्रयोजनको लागि जग्गासमेत प्रदान गर्नुभयो । यसै क्रममा तानसेन असनटोलका दाँतका डाक्टर दिवंगत डा. महेन्द्रप्रसाद प्रधानले आमाको सन्दर्भमा भन्नुभएको थियो, ‘काकीकहाँ जहिले आए पनि पूजा र प्रसाद दिनुहुन्छ । कहिले छोराको जन्मदिन, कहिले यो पूजा, कहिले त्यो पूजा’ स्मरणीय छ ।

जीवनको उत्तराद्र्धमा पाल्पा छाडेर काठमाडौँमा रहँदा र विगतमा पाल्पामा बस्दा काठमाडौँ आएको अवसरमा पशुपतिनाथ, गुहेश्वरी, बूढानीलकण्ठ, कार्यविनायकलगायत अन्य १०औँ मन्दिर देवदेवीस्थानमा पूजा आराधना, लाखबत्ती बाल्ने धार्मिक कार्य गर्नुभयो । कुशल ब्यबस्थापकको रुपमा आमाले ‘गर्नेभन्दा गराउने ठूलो’ भन्ने धारणा र ‘गेटिङ द थिङ्ग्स डन थ्रो अदर्स’ भन्ने ब्यबस्थापनको सामान्य तर, महत्वपूर्ण सिद्दान्तको उपयोगमा उहाँ अब्बल साबित हुनुभयो ।

किफायती स्वभाबकी आमाले जीवनमा कहिले पनि आफूले पैसा बोकेर हिँड्नुभएन, भन्नुको तात्पर्य आफ्नै हातले कहिले खर्च गर्नु भएन । अर्थात्, नगदको भुक्तानी उहाँको हातबाट नभई बुवा, छोराछोरी, बुहारी वा सहयोगीको हातबाट हुने गर्दथ्यो । वैवाहिक जीवन र खासगरी बुवाको व्यावसायिक यात्राका कठिन शुरुका दिनहरुमा वर्षौँसम्म साधारण सुती खद्दरको साडी लगाउने, पहरे धारामा आफैँ लुगा धुन जानुहुन्थ्यो ।

तराईमा हुर्केकी आमा पाल्पा तानसेनको पहाडको कष्टकर जीवन कसरी सफल बनाउँलान् भनेर धारामा नुहाउन लुगा धुन आउने महिलाहरुले सुनाउँथे । घरदेखि अलि टाढा रहेको सिँधुरे धारामा नुहाउन, लुगा धुन जाँदा चार हातखुट्टाले घिस्रदै धारामा लुगा धुन जाने गरेको उहाँले हामीलाई सुनाउनुहुन्थ्यो ।

भ्रमणमा अत्यन्त सौखिन आमा नयाँदिल्लीबाट काठमाडौँ आउँदा जहाज चढ्न नै नपुगी काठमाडौँ उत्रिएकी भन्ने र उखान टुक्कामा समेत माहिर आमाबाट बुवाले पनि दंग पर्दै भन्नुहुन्थ्यो, मेरी श्रीमतीको शब्दकोषमा वृद्धि भएको सुनाउनुहुन्थ्यो । आमा ‘सबैको साटो खा बूढी आटो’, ‘आप कुशल तो जगत कुशल आप नकुशल तो ढिकीका मुसल’ जस्ता केही उखान र भनाइ छन्, जुन मर्मस्पर्शी हालको सन्दर्भमा छन् ।

आमाले देखाउनुभएको अत्मियताको विषयमा नेपाल कम्युनिष्ट पार्टीका तीन संस्थापक सदस्यमध्येका नारायणविलाश जोशीकी धर्मपत्नीसँगको मित्रता, प्रगाढता र निरन्तरताबाट प्रष्ट हुन्छ । उहाँले नेपालका प्रख्यात एवं सयौँ कालजयी गीतका रचनाकार र तत्कालीन भूमिसुधार अधिकारी कालीप्रसाद रिजालकी धर्मपत्नीलाई प्रश्रव पीडालका बेला पु¥याएको सहयोगको उल्लेख स्वयं कालीप्रसादले आफ्नो पुस्तक ‘काँडामा हाँसेको जिन्दगी’मा उल्लेख गर्नुभएको छ ।

सामाजिक सेवामा ‘तानसेन गुठी’अन्तर्गत ‘दशरथ–मिथिला अक्षयकोष छात्रवृत्ति कोषको स्थापना गरेर पाल्पाका जेहेन्दार विद्यार्थीहरुलाई ठूलो गुन लगाउनुभएको छ ।

आमाकै सक्रियता र सोचमा समेत सबै छोराछोरीहरुलाई उचित शिक्षादिक्षा दिन सधैँ अभिप्रेरित गर्नुभयो । उहाँले सबैसँग समभाव राख्ने र सबैसँग आत्मीयता भएता पनि उहाँसँग मन मिल्ने दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठकी आमा द्रौपदीदेवी, स्व. अमृतमानकी श्रीमती, द्वारिका सैजूकी श्रीमती, भगवती सैजू, राधा भारती, स्व. दुर्गालाल कक्षपतिकी श्रीमती, मितीनी आमा गोविन्दमान बैस्यतकी श्रीमती, स्व. भुयुमान लिगलकी श्रीमती आदि हुन् । भीमसेनटोलका रामकृष्ण दाइसँग पूर्वाधार र निर्माणको कार्यमा लिइने सुझाव र उहाँको परिवारप्रति देखाइएको आदरभाव अनुकरणीय छ ।

भारतका राष्ट्रपति शंकरदयाल शर्माले समेत सम्मानका केही शब्द पोखेका कविवर एवं संस्कृतका विद्वान र मेरा एसएलसी तयारीका आदरणीय गुरु स्व. माधवप्रसाद देवकोटा तथा उनका पुत्रहरु कुलमणि र कृष्णचन्द्रप्रति पनि आमाको श्रद्दाभाव र कथा श्रवण गर्ने गर्नुहुन्थ्यो । बुटवलका हरेराम बाजे, त्रैलोक्य बाजे, रामबाजे आदि अनगिन्ती नाम छन् जोसँग धार्मिक नामको सन्दर्भमा आमाको श्रद्दाले शीर झुकाउनु हुन्थ्यो ।

गोर्खेकोटका स्व. मीनबहादुर श्रेष्ठ दाइले आफ्नो जीवनको ऊर्जाशील समय बुवाको पेशामा बिताउनुभयो । त्यसैगरी बुवाको सहयोगी आशाकाजीको सिर्जनशीलता र लगनशीलता अद्वितीय थियो । बिष्णुकुमारी र शालिकरामलगायत अन्य थुप्रैले पु¥याएको योगदानको आमाबाट सधैँँ उच्च मूल्यांकन भयो ।

करीब तीन वर्ष अगाडि पाल्पामा स्वास्थ्य उपचारका जनाजिब्रोका आदरणीय बुवा दशरथमान सिंह (दशरथ वैद्य)को निधनपश्चात कति पनि बिचलीत नभई संयम, विश्वास, धैर्य र साहसले करिब २७ महिना बुवाबिनाको जीवन बिताउनुभयो । उहाँको अन्तिम समयमा उहाँले अत्यन्तै स्नेह गर्ने आफ्ना साहिला छोरा डा. बीकेमान सिंहको अमेरिकाबाट काठमाडौँमा पाइला टेकेको करिब १ घण्टामा नै उहाँले बेदको पावन श्लोक र भजनको श्रवणबीच आफ्नो नश्वर देह १४ फागुन २०७६ मा त्याग गर्नुभयो । प्रथम वार्षिक पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रदाञ्जली !

– शंकरमान सिंह
३ चैत २०७७

प्रतिक्रिया दिनुहोस्