Logo
Logo

होली खेल्दा विषाक्त रंगहरुबाट छालालाई कसरी जोगाउने ?


डा. रेखा थापा


काठमाडौं । पहिला–पहिला होलीमा प्राकृतिक रंग प्रयोग हुन्थ्यो । रंगहरु वनस्पतिबाट बनाइन्थ्यो । त्यसैले, मानिसका लागि हानिकारक थिएनन् । तर, आजभोली होलीका रंगहरुमा धेरै मात्रामा रसायन तथा विषाक्त पदार्थ प्रयोग गरिन्छ ।

विषाक्त पदार्थको मिसावटबाट तयार पारिएका रंगहरुले छाला तथा कपालमा प्रत्यक्ष/अप्रत्यक्ष असर गर्छ । छाला सुक्खा हुने, पोल्ने, विमिरा आउने, कपाल सुक्खा हुने, टुक्रने, झर्ने, एलर्जी हुने जस्ता समस्या हुनसक्छ ।

यस्ता रंगहरु आँखाको भित्रि भागमा पर्यो भने आँखामा इन्फेक्सन हुनको साथै अन्धोपनको खतरा हुन्छ । त्यति मात्र होइन, यस्ता रंगको प्रयोगले कहिलेकाहीँ ठूलो समस्या आउन सक्छ र क्यान्सर समेत हुन्छ । आजभोली रंगसँगै पानी पनि खेल्ने गरिन्छ, जुन गलत हो । विभिन्न रंग प्रयोग गरी ‘फेस पेन्ट’समेत गर्ने गरिन्छ । यस्तो अवस्थामा छालामा गम्भीर प्रकृतिको समस्या आउन सक्छ ।

रंगहरुको पर्व होली आइतबार र सोमबार मनाइँदैछ । भनिन्छ, होलीमा प्रयोग गरिने रंगहरुले मानिसका जीवनमा खुशीका रंगहरु भरिदिन्छन् । तर, रंगहरुमा प्रयोग गरिने रसायन तथा विषाक्त पदार्थले मानिसलाई नकारात्मक असर पनि गर्दछ । त्यसैलै सावधानी अपनाएर होली खेल्दा स्थास्थ्यका लागि राम्रो हुन्छ ।

विषाक्त रंगको प्रयोगले स्वास्थ्यमा असर गर्ने थाहा भएपनि होलीको उमंगमा रम्न सबैलाई मन लाग्छ । यस्तो अवस्थामा केही सावनाधी अपनाउन सके रंगको प्रत्यक्ष असर रोक्न सकिन्छ ।

होली खोल्नुअघि के गर्ने ?
– होली खेल्नुअघि छालालाई जोगाउन शरीर भरी जैतुन वा आलमोण्डको तेलले मालिस गर्ने । यसले छालामा रंगको असर कम पर्छ र छाला नरम भइराख्छ ।
– पूरा शरीर ढाक्ने गरी कपडा लगाउने र नढाकिएको भागमा सनस्क्रिन लगाउने । विशेष गरी अनुहारमा ५० एस.पी.एफको सनस्क्रिन लगाएर मात्र होली खेल्ने ।
– होली खेल्नुअघि वाटरफ्रुफ मेकअप गर्न सकिन्छ । यसले रंगलाई छालाको भित्रि भागसम्म छिर्न दिँदैन ।
– घाममा खेलिने भएकोले सन ग्लासेज लगाउनु राम्रो हुन्छ । यसले आँखा वरिपरिको पातलो र संवेदनशील छालालाई रंग र घाम दुवैबाट बचाउँनका साथैं आँखामा रंग पस्नबाट बचाउँछ ।
– नङमा अनावश्यक कलर लाग्नबाट जोगाउँदै ‘क्युटिकल’मा असर पर्नबाट जोगाउँन ‘क्युटिकल ओएल’ लगाउने र नेल पोलिस गर्ने ।
– होली खेल्दा कपाललाई पनि बचाउँनुपर्छ । सबैभन्दा उत्तम उपाय त कपाललाई छोप्ने गरी क्याप लगाउनु नै हो । आजकाल विभिन्न स्टाइलिस क्यापहरु बजारमा पाइन्छ । ती क्यापहरु प्रयोग गर्न सकिन्छ । कपाललाई छोड्नुभन्दा बाँध्नु राम्रोे हुन्छ ।
– होली खेल्नु दुई घण्टा अगाडि कपालमा खरिवल अथवा जैतुनको तेल लगाएर समाज गर्नुपपर्छ । यसोे गर्दा रंगले कपाललाई धेरै हानी  पुर्याउँन सक्दैन ।
– कसैको कपालमा चाँया भए, सुक्खा स्काल्प भए वा कुनै पनि कारण सम्वेदनशील भए जैतुन तेलमा कागती हालेर मसाज गर्ने ।
– ओठमा एस.पी.एफयुक्त लिप वाम लगाउने ।

होली खेलिसकेपछि के गर्ने ?
– होली खेलिसकेपछि ढिलो नगरी मनतातो पानीले नुहाउनु पर्छ ।
– कलर फाल्नको लागि धेरै साबुन प्रयोग नगर्ने, जवरजस्ती नरगड्ने, स्क्रब नगर्ने । यदी यसो गरियो भने छालामा समस्या ल्याउन सक्छ ।
– नुहाउने पानीमा ग्लिसिरिन तथा लेभेन्डर वा रोज जस्ता एरोमा तेलकोे केही थोपा प्रयोग गर्ने । यसले छालालाई नरम बनाउँछ भने रंगबाट हुने इन्फेक्सनलाई कम गर्छ ।
– नुहाइसकेपछि पूरा शरीर तथा अनुहारमा मइस्चराइजर तथा लोसन लगाउने । यसले छालालाई सुक्खा हुन र पोल्न दिँदैन ।
– कपालमा स्याम्पु गरिसकेपछि कण्डिशनर वा प्राकृतिक मास्क प्रयोग गर्ने । यसले सुक्खा हुनबाट बचाउँछ ।

हाम्रा पर्वहरु हाम्रा गौरव हुन् । हामी त्यसैले हरेक पर्वहरुमा खुलेर रमाइरहेका हुन्छौँ । हरेक पर्वहरुले हामीमा उमंग थपिरहेको हुन्छ । होली त्यस्तै पर्व हो । जुन पर्वले हरेकको मन मनमा उमंग भरिदिन्छ । तर, होली खेल्दा केही सावधानी अउनाउनुपर्ने हुन्छ ।  प्रस्तुत सुझावहरु व्यवहारमा प्रयोग गर्दै यस वर्षको होली मनाउनु होला । यस वर्षको होलीले यहाँहरुको जीवनमा उमंग ल्याउन सकोस्, हार्दिक शुभकामना !

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्