समाजवाद होइन, नवसामन्तवादी यात्रा « Drishti News – Nepalese News Portal
Logo

समाजवाद होइन, नवसामन्तवादी यात्रा


लक्ष्मण देवकोटा


लेनिनको भनाइ छ, एउटा झुटलाई पटक–पटक दोहार्याइरह्यो भने त्यो झुठ पनि सत्यजस्तो लाग्न थाल्छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको देशभक्ति र समाजवादी क्रान्तिका गफ मानिसहरुलाई हो कि जस्तो लाग्ने झुटहरु हुन् ।

आम मानिसले सतहमा जे देख्छ, त्यही बुझ्छन् । गोयबल्सहरुले बडो योजनाबद्ध तरिकाले नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने एउटै मात्र पात्र भनेको खड्गप्रसाद ओली नै हुन् भनेर बजारमा डंका पिटिरहेका छन् । ओलीका पुतलाहरु शहरका चोकहरुमा देखिन थालेका छन् । देशभक्ति र संयुक्त काव्यबोध र गीति झंकारले बालुवाटार झंक्रित भएको भ्रम छरिएको छ ।

गतिलोसँग नियालेर हेर्ने हो भने, वास्तविकता बडो कुरुप र कपटपूर्ण देखिन्छ । सानो उदाहरण हेरौं, सर्वोच्च अदालतले ओलीको संसद् विघटनको कदमलाई गलत भनिदियो र संसद् पुनःस्थापना गरिदियो । ओलीमा किञ्चित हिनतावोध छैन ।

ऋषि कट्टेलले माग्दै नमागेको फैसला सुनाइदियो अदालतले त्यो राजनीतिक पूर्वाग्रह र षड्यन्त्रको हिस्साको एउटा रुप थियो । सर्वोच्चको राजनीतिक फैसलाले ओलीको चाहनाबमोजिम एमाले र माओवादी केन्द्र ब्युँताइदियो । संवैधानिक अंगहरुमा आफ्ना हनुमानहरुलाई पहिल्यै ठिकठाक पारेका ओलीकै आदेशमा निर्वाचन आयोगले सर्वोच्चको फैसला कुरेर कपटपूर्ण काम गरेको छर्लङ्गै देखियो ।

कार्यपालिकाको छायाँमा न्यायपालिकाले समेत राजनीतिक निर्णय लिएर आफ्नो छविमा दाग लगायो । फैसला भएपछि मान्नैपर्ने विधानअनुसार नैतिकता हुने हो भने सर्वोच्चको दोस्रो फैसला आउँदा ओली प्रधानमन्त्री पदमा हुँदैनथे । अहँ दलबलका साथ उनी अन्तिम दमसम्म बालुवाटारबाट नहट्ने तानाबाना बुन्दै बसिरहे । ओली अध्यक्ष रहेको एमालेलाई अदालतले ब्युँताइदिएपछि महाधिवेशनबाट निर्वाचित समितिको बैठक डाक्नुपर्नेमा ओलीले बदमासी गरे ।

कुटिल र कपटपूर्ण तरिकाले माओवादी केन्द्रका मानिसहरु थपेर अदालती निर्णयलाई नै लत्याइदिए । हिजोको तितोपिरोका कारण माधवकुमार नेपालहरु मन नपरे पनि अदालतको आदेश त शिरोपर गर्नुपर्ने होइन र ओलीले ? संसद्लाई काम दिनुपर्ने दायित्व सरकारको हो । ओलीलाई जसरी हुन्छ, जतिसक्दो चाँडो चुनाव चाहिएको छ, त्यो पनि आफू सत्तामा रहेकै बखत । सत्ताको मादकतामा उनका अगाडि बाँकी सबै लिलिपुट देखिएका हुन सक्दछन् ।

मध्यमवर्गीय नेपाली समाजको अवसरवादी चरित्रलाई फेरि दलाल पूँजीवादी अर्थतन्त्रको आडभरोसामा अल्मल्याइराख्ने रणनीति कम्युनिष्ट सिद्धान्त बोक्ने जो कसैको लागि पनि खतरनाक कुरा हो । कालान्तरमा यो प्रत्युत्पादकसिद्ध हुनजान्छ ।

कृष्णभक्त पोखरेलहरुलाईझैं गलाएर अन्त्यमा नेपालहरुलाई एक्लै बनाइदिन्छु भन्ने दम्भ पनि हुँदो हो, वरिपरिका चरणदासहरुको वार्तामा । सुवास नेम्वाङ, प्रदीप ज्ञवालीजस्ता जस्तोसुकै आदेश शिरोपर गर्ने मानिसहरुमात्र उनको नजरमा असल कम्युनिष्ट देखिएको हुनसक्दछ ।

सत्ताको दौडमा सबै खालका जालझेल स्वीकार्य र अनुमोदित हुन सक्दछन् भन्ने पुरातन मान्यताको ‘ह्याङओभर’ अझै होला ओलीमा । यी सबै चिन्तन र सोंचाइअनुसार एउटै झुटलाई पटक–पटक दोहोर्याउने कपटका कारण उनको अगाडि संसद् पंगु बनिरहेको छ । के यसैगरी संसद्लाई अर्थहीन बनाउने परिकल्पना गरेको थियो गणतन्त्र नेपालको संविधानले । संविधानसभाको मर्म त्यही थियो त ?

जता जान्छन् ओली त्यतै हाइहाइ देखिएको कारण उनमा देश पूरै एमालेमय भएको देखिएको हुनसक्दछ । अझ देखाउनको लागि कालापानी र लिम्पियाधुराको चुच्चे नक्शाको कहानी हाजिर छ । भारतीयहरुको गुप्त षड्यन्त्रमा नेपालको गणतन्त्रलाई नै गन्जागोल पारेर बहादुर देखिने ओलीको दुईतिहाइ गुमिसकेको छ । एमाले पूर्वएमाले नरहने खतरा बढिरहेको छ । उनले एमालेलाई नै विभाजन गरिरहेका छन् ।

माओवादीलाई त एकीकृत कम्युनिष्ट आन्दोलनबाट धेरै पर पुर्याइसके ओलीले । विप्लवलाई अँगालो हालेर मात्रै कहाँ वामपन्थी एकता हुन्छ कमरेड ? आखिर माधव नेपालहरु पनि एक्लै त रहेनछन् । सिद्धिलाल सिंह, कमल कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रितहरु जसको रगत पसिनाको एक–एक इँटले एमाले निर्माण भएको थियो, ती त ओलीसँग रहेनछन् ।

एमालेका इमान्दार कार्यकर्ताहरु पनि ओलीसँग रहेछन् त भेलाहरुमा देखिएकै छ । अदालतले एमाले ब्युताइदिनुको अर्थ बाटो बिराएका माधव नेपालहरुलाई पूर्ववत घरमा फर्कने पराजित सिपाहीहरुको रुपमा कार्यकर्ताहरुलाई उग्र प्रशिक्षण दिएर र नेता कार्यकर्तालाई कारवाहीको धम्की दिँदै अपमानित गरेर कसरी एमाले सग्लो रहला ?

अनि सग्लो नरहेको खड्गप्रसादको एमालेले दुईतिहाइ ल्याउँछ भनेर दुनियाँले पत्याउनुपर्ने हो ? जसले हुँदाखाँदाको दुईतिहाइको सरकार चलाउन सकेन, जसले लेनिनवादी पद्धतिअनुसारको आफ्नै पार्टी कमिटी फेस गर्न सकेन र अल्पमतले बहुमतलाई शासन गर्न खोज्यो, उसैले कुनचाहिँ बाटोबाट समाजवादको शिखरमा कार्यकर्तालाई डोर्याउला ? खुट्टीदेखि पत्याए… ।

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन लेनिनलाई असाध्यै श्रद्धा गर्थे । लेनिनका कतिपय सैद्धान्तिक कुरामा उनको विमति थियो । तर लेनिनको विषयमा उनले खुलेरै भन्नेगर्थे, ‘म लेनिनका धेरै कुराहरुमा असहमत छु । उनका कतिपय कार्यशैली मलाई चित्त बुझ्दैनन् ।

तर लेनिनजस्ता महान् नेता जसले जीवनको सबै समय गरिब जनताहरुको पक्षमा चिन्तन गरेर बितायो, जसले गरिबहरुलाई शासक बनाउन त्यत्रो लडाइँ लड्यो, यस्ता मानिसहरुको कारण संसारभरमा मानवता जोगाउन ठूलो योगदान पुग्दछ । उनी मानवताका रक्षक हुन् ।’

तर, नेपाली वामपन्थी इतिहासको प्रारम्भिक समयमा मृत्युसँग आमनेसामने भएका खड्गप्रसादहरु कालान्तरमा सत्ताको दलदलले पूरै दलाल पूँजीवादी समूहको पृष्ठपोषक भएर निस्किएका छन् । नीति, सिद्धान्त, कम्युनिष्ट आदर्श, त्यसको अभ्यास र हिजो देखाइएको कम्युनिष्ट सत्ताको न्यूनतम अनुभूति उनी स्वयंलाई त छैन, दुनियाँलाई कसरी होस् ? प्रचण्ड र माधव नेपालहरुका कारण कामै गर्न पाइनँ भन्नु अर्को झुट हो । जसलाई उनले हजार पटक दोहोर्याएर सत्य देखाउन खोजिरहेका छन् ।

नीति सिद्धान्तमा कहींकतै बाधा व्यवधान नगरेका सहयात्रीहरुसँग पार्टीगत बहस गर्न छोडेर गुटमा रमाउन थालेपछि हुने भनेको भाँडभैलो नै हो । यो समाजवाद होइन, नवसामन्तवादको यात्रा हो ।

सूचना प्रविधिको विकास, भूमण्डलीकरणको प्रभाव र वैश्विक समाजको चरित्रका कारण नेपालको मध्यम वर्गीय समाज असाध्यै अवसरवादी चरित्रको हुँदै गएको सत्य हो । यही सत्यलाई लोकप्रियतावादको कसीमा पूर्ववत् एमालेको निर्माण गरेर असहमत सबैलाई तह लगाउने सपना खड्गप्रसादहरुले देखेका छन् ।

सत्ताको चरम दोहन गरेर आफू निकटका मानिसहरुलाई खुलेआम ब्रम्हलूट गर्न दिएर जुनसुकै मूल्यमा पनि निर्वाचन जित्नु ओलीगूटको अभिष्ट हो । यो अभिष्टमा राष्ट्रपतिको पनि सहमति देखियो । नत्र त्यत्रो गरिमामय संस्थामाथि प्रश्न उठिरहेको बेला निर्वाचनको कुरा गर्न आवश्यक नै थिएन ।

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको अस्तित्वलाई नै ओलीको अहंकारले धुलिसात बनाइदिएको छ । यो कपटको राजनीतिले मदन भण्डारीको सम्मान होइन, अपमान भइरहेको छ । न त माक्र्सवाद लेनिनवादको मर्मअनुसारको पार्टी चलिहेको छ ।

मध्यमवर्गीय नेपाली समाजको अवसरवादी चरित्रलाई फेरि दलाल पूँजीवादी अर्थतन्त्रको आडभरोसामा अल्मल्याइराख्ने रणनीति कम्युनिष्ट सिद्धान्त बोक्ने जो कसैको लागि पनि खतरनाक कुरा हो । कालान्तरमा यो प्रत्युत्पादकसिद्ध हुनजान्छ । उनीहरुलाई त उत्पादन र सामूहिक सहभागिताको महाअभियानमा पो सामेल हुन आह्वान गर्नुपर्ने हो । संघीयता र विकेन्द्रीकरणको चिन्तन नै नरुचाउने खड्गप्रसादहरुबाट त्यो अपेक्षा पनि सम्भव देखिँदैन ।

त्यसैले कम्युनिष्ट पार्टी र वामपन्थी आन्दोलनलाई खड्गप्रसाद प्रवृत्तिबाट खतरा छ । यिनीहरुकै कारण वाम आन्दोलन विघटनतिर जाने खतरा बढिरहेको छ ।

  • मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्