Logo
Logo
चुरेमा डढेलो

‘वन माफिया र तस्करको मिलेमतोमा आगो लगाइन्छ’


हिक्मत बम


धनगढी । पछिल्लो दुई सातादेखि चुरेमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । नेपाल सरकारले वन विकास र वनजंगल संरक्षणका लागि प्रत्येक वर्ष करोडौँ बजेट वियोजन गर्ने गरेको छ । तर, वन माफिया, वन तस्कर, वन कर्मचारी र मन्त्रीहरुको मिलेमतोमा सो रकम हिनामिना हुने गरेको छ । जसले गर्दा हरेक वर्ष चुरे क्षेत्र विनासको चपेटामा पर्दै जान थालेको छ ।

विशेषगरी चैत्र र बैशाख महिनालाई सुख्खा महिनाका रुपमा लिइन्छ । यो समय भनेको आगलागी र बढी हावाहुरी चल्ने समय हो । हावाहुरीका कारण आगलागीको सबैभन्दा ठूलो खतरा पनि हुने गर्दछ ।

 

पछिल्लो समयमा चुरे क्षेत्रको वनजंगलको विनास आगलागीकै कारण बढी हुने भएकाले चुरे क्षेत्रको संरक्षणका लागि राज्यस्तरबाट निकै रकम विनियोजन हुने गरेको छ । तर, सो रकमको सहि सदुपयोग नहुँदा चुरे क्षेत्र विनासको चपेटामा पर्दै जानाले जैविक विविधतामा पनि ठूलो असर परेको छ ।

वन जंगलमा आगो लाग्न थालेपछि हरियालीसमेत नस्ट हुनुका साथै वनजंगलमा भएका साना तथा ठूला बोटबिरुवाहरु पनि जलेर नष्ट हुने र हरियाली पनि नष्ट भएर जाने गरेको छ । जसले गर्दा वायुप्रदुषण हुँदै जान थालेसँगै वातावरण धुवाँमय भएको छ ।

बसन्त ऋतुको समयमा वनजंगलमा लाग्ने आगलागी नियन्त्रण गर्न दक्ष प्राविधिक र उपकरणबीना सम्भव नहुने स्थानीयले बताएका छन् । यो समयमा सुख्खाखडेरी हुने र पानी पनि नपर्ने भएकाले आगलागीका घटनाहरु धेरै हुने बताइन्छ ।

जसको असर मानव वस्तीमा मात्र नभई वनजंगलमा पाइने पशुपन्छी, वातावरणीय सन्तुलन र जैविक विविधतामा परेको सजिलै देख्न सकिन्छ । यसको उदाहरणका लागि चरेको वनजंगलमा पाइने सर्पलाई लिन सकिन्छ ।

वनजंगलमा लागेको र लगाइएको डढेलोले चुरेको जंगलमा पाइने सर्पहरु चुरेको तल्लो तटिय क्षेत्र कैलाली र कञ्चनपुरको समथल भू—भागमा देखापर्ने गरेका छन् । र, सर्पको टोकाईबाट वर्षेनी सो क्षेत्रमा ३०÷४० जनाले ज्यान पनि गुमाउनु परेको समाचारहरु पढ्न, देख्न र सुन्न पाइन्छ ।

चुरे आफैँमा पनि अति जोखिम र सम्वेदनशील छ । तर, मानिसहरुले आफ्नो स्वार्थको लागि चुरेका वनजंगलहरु विनास गर्दै जान थालेका छन । रुखबिरुवा फडानी गरेर होस् या वनजंगलमा आगो लगाएर होस् । तर, चुरे जतातजैबाट विनासको चपेटामा परेको देखिन्छ ।

स्थानीयका अनुसार रातीको समयमा वन माफिया र वन तस्करहरुले वनजंगलमा गएर आगो लगाउने गरेका छन । चैत्र–बैशाखको समयमा कटानी आदेश रोकिने र कार्तिक-मंसिरको समयमा कटानी आदेश खोलिने भएकाले वन माफिया र तस्करहरुले सुखाखडा काठ काट्ने उद्देश्यले बसन्त ऋतुको समयमा आगो लगाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

चुरे क्षेत्र विनासको चपेटामा पर्दै जानु मानव बस्तीमा ठूलो क्षति पुग्नु हो । र, बस्ती भएको ठाउँलाई नै मरुभूमि बनाउनु हो । चुरेका वनजंगलहरुमा आगलागीका घटनाहरु बढ्दै जाँदा स्वच्छ हावापानी पाउन गाह्रो भएको छ भने वायुपनि प्रदुषण हुन थालेको छ ।

चुरेको शिव, केदार लालिगुँरास, जनजागृती, जनकल्याण, पञ्चबली सामुदायिक वनलगायतका चुरेका अधिकाँश वनमा आगलागी भएको पाइएको छ । जुन दुई सात भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । यसले गर्दा ती सामुदायिक वनमा भएका हरिया सानाठूला बोटबिरुवाहरु जलेर नष्ट भएको स्थानीयहरुले बताएका छन् ।
स्थानीयका अनुसार रातीको समयमा वन माफिया र वन तस्करहरुले वनजंगलमा गएर आगो लगाउने गरेका छन । चैत्र–बैशाखको समयमा कटानी आदेश रोकिने र कार्तिक-मंसिरको समयमा कटानी आदेश खोलिने भएकाले वन माफिया र तस्करहरुले सुखाखडा काठ काट्ने उद्देश्यले बसन्त ऋतुको समयमा आगो लगाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

यदि यो उद्देश्यले आगलागी नगरेको भए सामुदायिक वनका अध्यक्षहरुले नियन्त्रणका लागि पहल गर्नुपर्ने हो तर नियन्त्रणनै गर्दैनन् र नियन्त्रणका लागि पहल पनि गर्दैनन् । यो समयमा वनजंगलमा जाँदा होसियारी अपनाउनुपर्ने हुन्छ ।

कैलाली जिल्लामा १३ वटा सामुदायिक वनमा वैज्ञानिक वन कार्यक्रम लागु गरिएको थियो । ती सामुदायिक वनहरुले करोडौँको राजश्व पनि संकलन गरे । राजश्व संकलन भएको ६० प्रतिशत रकम वन संरक्षण र विकासका कार्यक्रमहरुमा खर्च गर्नुपर्ने हुन्छ । तर, त्यसो भएको देखिँदैन ।

वनजंगलको संरक्षणमा स्थानीय सरोकारवालाहरुको पनि ध्यान जान सकेको छैन । राजश्व संकलन भएको रकम कहाँ जान्छ र के हुन्छ भन्ने कुरा स्थानीयहरुलाई कुनै जानकारी नै नदिएर वन कर्मचारी, वन माफिय, तस्कर र उपभोक्ता समितिका अध्यक्षहरु मिलेर हिनामिना गर्ने गरेको पाइन्छ । जसले वनजंगल संरक्षणको विषयमा चुनौती थप्दै जान थालेको छ । र विनासको चपेटामा चुरे क्षेत्र परेको देखिन्छ ।

चुरेको संरक्षण गर्नका लागि उक्त क्षेत्रमा वृक्षारोपण, वन संरक्षणका कार्यक्रमहरु, वनमा डढेलो नियन्त्रणका कार्यक्रमहरु, जैविक विविधताको संरक्षणका कार्यक्रमहरु, अतिवृष्टि, अनावृष्टि र बाढी, पहिरो रोकथामका कार्यक्रमहरु, वन क्षेत्रमा खुल्ला चरिचरण रोक्ने, रोपिएका बिरुवाको संरक्षण गर्ने, वनलाई दिगो वन व्यवस्थापन गर्नमा मात्रै सरोकारवाला निकायको ध्यान जाने हो भने वन क्षेत्रको संरक्षण हुनुका साथै वन्यजन्तुलाई पनि बाँच्ने अवसर प्रदान गर्न सकिने छ ।

वातावरणीय सन्तुलनदेखि लिएर जैविक विविधतामा ठूलो सहयोग पुग्ने देखिन्छ । त्यसैले वनजंगलमा डडेलो लगाउने वन माफिया र तस्करहरुलाई सरोकारवाला निकायले कडाभन्दा कडा कारबाही गरि कानुनी दयारामा ल्याउन जरुरी छ । त्यसो गरिएन भने चुरे क्षेत्र मरुभूमिमा परिणत हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्