Logo
Logo

गौरा र देउडाको मौलिकता गुम्दै, अश्लीलता हावी



२४ भदौ, डडेल्धुरा । प्रदेश ७ मा हर्षोल्लासका साथ मनाइने गौरा पर्व र सो पर्वमा नाचिने देउडाको मौलिकता हराउँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । गौराको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा गाउने र नाच्ने चलन छ ।

गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ आयोजना भएको थियो । १८ गतेदेखि सुरु भएको महोत्सव २३ गतेसम्म चल्यो । भदौ १८ गतेसम्म मनाइने गौरा पर्व नसकिदै सदरमुकाममा देउडीयहरुको घुइँचो लाग्यो । गाउँको गौरा सकेर मानिसहरु सदरमुकाम झरे । शहरको गौरा महोत्सवले अमरगढी नगरपालिका सेलागाउँकी ७४ वर्षीया नारुदेवी अवस्थीको मन जितेन । ‘पहिले पहिले गाउँमै गौरा मनाइन्थ्यो, सबै जना देउडा खेल्थे, गौरा नचाउँथे तर आजभोलि गाउँमा कोहि छैन सबै यता आउँछन्,’ लोली गोरा भाका हाल्दै अवस्थीले भनिन्, ‘गाउँमा गौरा सकेर सबै यता आए । म पनि बजारको गौरा हेर्न आएँ ।’

पहिले पहिले बिहे व्रतमा फाग गाउने गरिन्थ्यो तर आजभोलिको डिजेले त्यो संस्कृतिलाई परिवर्तन गरिसकेको उनको आरोप छ ।

मौलिकता हराउँदै, अश्लीलता हावी हुँदै

शिव पार्वतीको स्वरुप मानिले गौरा पर्वलाई आधुनिकीकरणले छोइसकेको छ । डडेल्धुरा बसपार्कमा भएको देउडा तथा गौरा नाच कार्यक्रममा पनि त्यही देखियो । मानिसहरु झिलमिल तथा बुट्टे साडी र धोती तथा किशोर किशोरीहरु जिन्सको पाइन्टमा सजिएका देखिन्थे । ‘पहिले गौरालाई गाउँघरमा धेरै महत्व दिइन्थ्यो, बुढापाकाको इज्जत सम्मान दिएर गौरा बनाउने, नचाउने गरिन्थ्यो । चैते धुमारी गाइन्थ्यो,’ गौरा गायीका लक्ष्मीदेवी अवस्थीले भनिन्, ‘तर अहिले यो रिति हटिसक्यो, बजारमा देखावटी गौरा मनाइन्छ ।’

‘यो बजारमा मनाइने गौरा पैसाको लागि हो,’ डोटेली भाषा मिसाउँदै उनले भनिन्, ‘गाउँघर की गौरा हरागई ।’

सामान्यतया देवताको गुणगान तथा सुखदुःख बाँड्न खेलिने देउडामा अहिले अश्लीलता हावी भएको पाइन्छ । मौलिक भाका, लय र शब्दलाई छाडेर ‘भण साली तेर लबर काँ छ ?’ जस्ता अश्लील शब्दावली गीतमा प्रयोग भइरहेको भागेश्वरका देउडा कलाकार केशव पाण्डेयले बताए । उनले भने, ‘पहिले हामी रातभर देउडा खेल्थ्यौं, दुःखसुख र स्वदेश तथा विदेशका कुरा गर्थ्यौं । पहिलेको जस्तो रमाइलो अहिले हुँदैन । अहिले देउडामा सुन हरायो, सुगन्ध मात्र बाँकी रह्यो ।’

विगत ११ वर्षदेखि देउडा खेलीरहेको बताउने पाण्डेयले मौलिक संस्कृती बचाउन स्थानीय सरकारले विद्यालय तहमा गौरा र देउडाबारे जानकारीमुलक पाठ्यसामग्री राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्