ओलीपथको ‘ले-माले’बाट परिवर्तन सम्भव छैन « Drishti News – Nepalese News Portal
Logo

ओलीपथको ‘ले-माले’बाट परिवर्तन सम्भव छैन


लक्ष्मण देवकोटा


मिथिलावासीहरुले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई होलीपर्वको अवसरमा महामूर्खको उपाधीले विभूषित गरेर नेपाली समाजको सही विम्व प्रस्तुत गरेका छन् । लोकतन्त्र र विधिको शासनमाथि सत्तासीनहरुबाटै मजाक भइरहेको बेला महर्षी जनकको पावन भूमिबाट देशमा भइरहेको यो भद्रगोलबारे यो व्यंग्य आफैँमा ठूलो सन्देश हो ।

कमजोर अर्थतन्त्र, कमजोर राज्य व्यवस्था र संस्थागत हुँदै गरेको गणतन्त्रको जग फेरि एकपटक मुलुकको राजनीतिले हल्लिएको छ । जनताको मतबाट चुनिएको नेतालाई प्रधानमन्त्री बनाएपछि सत्ताको मदले मदहोस भएकाबाट सुनिने बर्बराहट सुन्दासुन्दा र गर्न हुने नहुने सबै कर्म सिध्याएर एकल अधिपति बन्ने प्रयास गरेको देख्दा एमाले पिँधका कार्यकर्तालाई चित्त दुख्नु स्वभाविकै हो ।

अब ओलीले मुलुकलाई कता लैजाने हुन् ? यसै भन्न नसकिने भयो । खेलका नियमहरु मानेर पो खेल हुन्छ, असहमतहरुलाई बढारेर भित्तामा पुर्याएर पनि कहीँ खेल हुन्छ ?

राज्य संरचना बलियो बनाएर पो आफू उभिएको धरातल बलियो हुन्छ, राज्य संरचनालाई पंगु, संसदलाई गफ गर्ने अड्डा बनाएपछि कसरी लोकतन्त्र बलियो हुन्छ ? ओली कमरेडको बालुवाटार कहाँ पसेन ? अदालतमा पसेर माग्दै नमागेको जिनिस ऋषि कमरेडलाई दियो । राज्यलाई निगरानी गर्न बनाइएको अख्तियारलाई बालुवाटारले खल्तीमा बोकेर हिंडेको छ ।

असहमतलाई थन्कोमन्को लगाउन बेलाबखत बालुवाटारले अख्तियारी कार्ड निकालिदिन्छ । विधिको शासन भए अपराधी दण्डित हुनुपर्ने हो तर, अपराधी स्वयम् अनुशासनको पाठ सिकाइरहेको छ ।

के यस्तै थिए त हिजो भूमिगतकालमा नेकपा मालेको महाअभियान चल्दाका सपनाहरु ? के यस्तै थिए त मनमोहन अधिकारीको नेतृत्वमा नौसको नारा बोकेर गैंची र बेल्चा बोकेर आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा लगाउँदाका समयका कथाहरु ?

अदालतका न्यायाधीश नै दलको सिफारिशमा हुने भएपछि अरु के अपेक्षा गर्न सकियो र ? बालुवाटारको मुखिया आफू मात्र सही र अरु सब अदाना हुन् भन्ने दिव्यज्ञानबाट सञ्चालित छ । शहरमा जंगबहादुरलाई रोलमोडेल मान्ने त्रिपाठी पत्रकारहरु र तिनका चेलाचपेटा गौंडागौंडामा खडिखडाउ छन् । यो मुलुक बीसौं शताब्दीको आरम्भतिर गइरहेको छ या एक्काइसौं शताब्दीको फाइवर गतिमा कुँदिरहेको छ, बडो भ्रम छ ।

कृष्णभक्त पोखरेलहरु रातारात कित्ता परिवर्तन गर्दै ओलीपथमा लम्किरहेका छन् । माधवकुमार नेपाल, भीम रावल घनश्याम भुषाल र सुरेन्द्र पाण्डेहरुलाई कोर्रा हान्दै छ, बालुवाटार । एमाले विभाजनताका चिनियाँ कहावतको फिनिक्स पन्छीको कथा हाल्ने प्रदीप ज्ञवाली र भलाद्मी सभामुख सुवासचन्द्र नेम्वाङहरुको विवेक पनि गुमेको छ । झुक्किएर महासचिव बन्न पुगेका विष्णु पौडेल र सर्वहारा ईश्वर पोखरेलहरु समाजवादको ढोकै ढोकैमा पुग्नु भएको छ ।

ओलीलाई पुस ५ देखि चुनाव लागेको लाग्यै छ । त्यसैले त होला, सरकारलाई करोडौं वक्यौता तिर्न बाँकी व्यापारीहरुले ओलीलाई थापाथलीमा चिटिक्कको बंगलाको व्यवस्था गरिदिएका छन् ।

हूलका हूल मारवाडी साहूजीहरु एमालेको झण्डामुनि गोलबन्द हुन पुगेका छन् । दुर्गाप्रसाद प्रसाईंको मेडिकल कलेजमै पुगेर सहयात्रीहरुलाई धारे हात लगाउने काम त्यसै कसरी सम्भव भयो होला र ? हिजो रेशम चौधरीलाई हेर्ने नजरिया आज रातारात बदलिँदा पनि प्रदीप ज्ञवालीभित्रको शितविन्दूको साहित्यिक भावनालाई कत्ति पनि चोट पुग्दैन ।

सत्ताको फोहोरी खेलमा सबै किसिमका जायज नाजायज कामहरु एकपछि अर्को गर्दै फत्ते भइरहेका छन् । सोलोडोलो व्यवस्था बदनाम तर, अगुवाहरु रातारात मालामाल हुने धन्दा चलिरहेको छ ।

के यस्तै थिए त हिजो भूमिगतकालमा नेकपा मालेको महाअभियान चल्दाका सपनाहरु ? के यस्तै थिए त मनमोहन अधिकारीको नेतृत्वमा नौसको नारा बोकेर गैंची र बेल्चा बोकेर आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा लगाउँदाका समयका कथाहरु ?

मध्यरातसम्म संसद चल्न नदिएर टनकपुर सम्झौता होइन सन्धी हो, खारेज गर भनी संसदमा हुँकार गर्ने पार्टीको स्वाभिमानी इतिहास थियो त यस्तै ? सर्वहारा अधिनायकत्वले मानिसको स्वतन्त्रतामा अप्ठेरो पारेको हुनाले पो बहुदलीय जनवादको ढोकामा पसिएको हो । बहुदलीय जनवादको ढोकाभित्र छिर्दैमा हिजोको नेपाली काँग्रेसभन्दा झन् दुर्गन्धित हुनका लागि त थिएन ।

अध्यक्षको जिम्मेवारी लिएर पार्टीभित्रका वैठकहरुलाई लत्याउँदै लत्याउँदै अल्पमतीय शासनको फासीवादी अभ्यासको चरम विन्दूमा छन्, यतिबेला ओली । विधि र पद्धति होइन, आफ्ना पुतलाहरु सडक सडकमा उभ्याएर उनले लोकतन्त्रको धज्जी उडाइरहेकाछन् । भएको बहुमतलाई समेत छिन्नभिन्न पारेर सिंगो कम्युनिष्ट आन्दोलनको भविष्य डामाडोल बनाउने श्रेय उनैलाई जानेछ इतिहासमा ।

सत्ताको चरम दुरुपयोग गरेर निर्वाचन आयोग, अदालत, संवैधानिक निकाय सबैतिर एकछत्र कब्जा गर्दै आफ्ना अभिष्टहरु पुरा गर्दै गइरहेका ओलीको अबको एमाले, एमाले होइन, ‘ले–माले’ हुनेछ । ‘लेमाले’ देमाले हुनेछैन । उ आफू मात्रै माथि पुग्ने, आफू मात्रै सम्भ्रान्त हुने चरम दलाल पूँजीवादी चरित्रबाट निर्मित डमी बन्नेछ । बनिरहेको छ ।

आफ्नाहरुलाई राज्यबाट पालित पोषित गर्नु र सत्ताको भजनमा व्यस्त गराउनु यो गुटको महान कार्य हुनेछ । गुटगत दादागिरीले वैचारिक बहसको विर्सजन गर्नु र केही मानिसहरुलाई रोल मोडेल देखाएर मदन भण्डारीको बहुदलीय जनवादको व्यापार गर्नु लेमालेहरुको उत्तर आधुनिक दलाल पूँजीवादी कम्युनिष्ट मैनोफेस्टो हुनेछ ।

निजी मेडिकल कलेज, निजी स्कूल र सबैतिर निजीहरुको बिगबिगीले हुनेखानेहरु राम्रो अस्पताल, स्कूलका निम्ति योग्य, गरिबहरु यो दुनियाँमा बाँच्नकै लागि पनि अयोग्य सावित हुनेछन् ।

गौंडागौंडामा साइबर सेनाहरु तैनाथ भएर मानिसको वैचारिक वध गर्न चौबिसै घण्टा फाइबर लयमा उपस्थित हुनेछन् । ‘बा’को जयजयगानमा श्रमिक आन्दोलनसँग जोडिएका होइन, बलिउडका गीतहरुको गानाबजाना चल्नेछ ।

यो महान समाजवादी यात्राको दृष्य हेर्न यसबखत नेपाली समाज अभिषप्त छ । तर, भौतिकवादमा विश्वास गर्ने र समाजमा द्वन्द्व हुन्छ, पूँजीको सही वितरण र राज्यको जिम्मेवारीबारे जाने बुझेका, गणतन्त्रको आगमनसँगै जुर्मुराउँदै उठेका सिमान्तकृत मानिसहरु एकगठ हुन समय लागेपनि फेरि उनीहरुको आवाज मूलप्रवाहमा आउने नै छन् ।

ओलीपथको ‘लेमाले’बाट देश दुनियाँको परिवर्तन सम्भव छैन । बालुवाटारका आसेपासेको जीवन रंगीन भएर हुन्न, आम जनताको जीवनमा परिवर्तन ल्याउन जनताको बहुदलीय जनवादको सही प्रयोगको निम्ति ठूलो वैचारिक विमर्शको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्