हँसिया र हथौडाको पसल थापे जे पनि गर्न पाइने हो ? « Drishti News – Nepalese News Portal
Logo

हँसिया र हथौडाको पसल थापे जे पनि गर्न पाइने हो ?


लक्ष्मण देवकोटा


हजार भँगालाहरु नाघेर मात्रै महासागरमा पुगिन्छ भन्ने सत्यलाई नेपालका वामपन्थीहरुले दुत्कारिहेको दृश्य फेरि एकपटक दोहोरिन पुगेको छ । अहंकार र अभिमानको रथमा सवार केपी शर्मा ओली गुटले हँसिया हथौडाको बदनामी गरेर मात्रै नपुगेर सिंगो कम्युनिष्ट आन्दोलनलाई नै धुलिसात बनाउँदै लैजाने भए ।

नेकपा एमालेभित्रको झैझगडा र विभाजनले वामपन्थी मतदाता कोही कतै खुशी हुने अवस्था देखिएको छैन । जनता निराश छन् दुईतिहाइ मत दुरुपयोग भएकोमा ।

सतहमा जेजस्ता विवादहरु भए पनि मुलतः यो सबै कचिंगलको बीउ नयाँ संविधानलाई स्वीकार्दै समावेशी, समतामूलक समाजको निम्ति लडिरहेको शक्ति र त्यो परिवर्तनलाई स्वीकार्न नसक्ने शक्तिबीचको लडाइँ नै हो । सँगसँगै भूराजनीतिक टकरावका बाछिटाहरुको उपज पनि हो ।

भुइँचालोले क्षतविक्षत भएर अस्तव्यस्त भएको अवस्थामा भारतीय नाकाबन्दी सहेको नेपालले यो संविधान ल्याउनको निम्ति कम्ता मिहिनेत र बलिदानी गरेको छैन । चीनसँगको सामिप्यताका कारण दक्षिणी शक्तिको अस्वाभाविक चलखेलको परिणाम पनि हो यो अवस्था । त्यसमा सफ्ट कूटनीति गर्ने युरोपेली युनियन र चीनसँग वैश्विक लडाइँ लडिरहेको अमेरिकाको भरथेग पनि देखिएको छ ।

यस्तो विषम अन्तर्राष्ट्रिय परिस्थितिमा कम्तीमा घरेलु शक्तिहरु एक भैदिएहुन्थ्यो भन्ने आम चाहनालाई पनि केपी ओली गुटले बुझ्न सकेनन् । एउटा सुदूर राजनीतिक अस्थिरताको सुरुङतिर मुलुक अगाडि बढिरहेको छ । नरेन्द्र मोदीको हिन्दू राष्ट्रवाद लोकप्रियतावादको घोंडा चढेर अहिले छिमेकी यूपी, बिहार र पश्चिम बंगालसम्मै आइसक्यो ।

मानिसहरुले प्रश्न गर्न थालेका छन्, यदि निजी स्कूल, निजी अस्पताल र सबै कुरामा निजीहरुकै जगजगी गर्नु थियो भने चुनावका बेला लेखिएको घोषणापत्र झूठको पुलिन्दा मात्रै थियो त ? के हँसिया हथौडाको झण्डा फहराएर पसल थापे जे पनि गर्न र बोल्न पाइने हो ?

केपी ओलीले यही सत्य बुझेरै होला, चीनसँगको मित्रतालाई बीचमै भुलेर भारतीय गुप्तचरहरुसँगको निकटता बढाएको र सँगै आन्दोलनमा होमिएका माधवकुमार नेपाल, भीम रावलहरुलाई कारवाहीको कोर्रा हानिरहँदा भारतीय गुप्तचरहरुको बालुवाटारसम्मकै प्रवेशले राजनीतिमा छिमेकी स्वार्थ, चाहनाले के–कति काम गरिरहेको छ बुझ्न सकिन्छ ।

विडम्वना, नक्शा छापेर चुलिएको ओली राष्ट्रवादको भ्रमबाट मानिस मुक्त हुन सकिरहेका छैनन् । एमाले र माओवादीको एकताबाट नेपाल कम्युनिष्ट पार्टी निर्माण हुँदा धेरै राजनीति नबुझेका तर जनताप्रति वामपन्थीको समर्पण देखेका आम नेपालीलाई धेरै आशा पलाएको थियो ।

विगतमा झैं सुस्ता, महेशपुरका कुरा उठ्नेछन्, असमयमै नेपालका खोलानालाहरु भारतका झोलीमा चढाइने छैनन्, युवाको यौवन भारतको दिल्लीमा दरवानी गरेर बित्यो छोराहरुको यौवन अरबको खाडीमा बित्ने छैन भन्ने आशा थियो । सामन्ती समाजको घिनलाग्दो अवशेष जातीय प्रथा, महिलामाथिको विभेदको अन्त्य हुनेछ भन्ने अपेक्षा थियो ।

नमिता, सुमिता काण्डको सनसनी पढेर २०४६ को आन्दोलनमा होमिएको तातो रगत यो मुलुकमा अब त्यस्ता घटनाहरु कहिल्यै हुने छैनन् भन्ने अपेक्षा थियो ।

राज्यको सबै तहमा सबैलाई बराबरी अवसर हुनेछ, पहुँचका आधारमा राज्यको दोहन हुनेछैन भन्ने अपेक्षा थियो । त्यही यात्रा जसलाई समाजवादी यात्रा भन्न सकिन्थ्यो । यसका निम्ति बाटो खनिदिएको थियो, संविधानले । अहिले त्यही संविधान केहीलाई घाँडो भएको छ ।

रुकुममा दलितहरुमाथि भएको घटनाले समाजको वास्तविक घिनलाग्दो यथार्थलाई छर्लङ्ग पारिदिएपछि भन्न सकिन्छ, समाज परिवर्तनको यो लामो यात्रा झन् कठिन र जर्जर बन्दै गइरहेको छ । परिवर्तनको यो महान यात्रामा अझ धेरै संघर्ष गर्नुपर्नेछ । हो, संघर्षको शैली फेरिएको छ ।

नयाँ युगको सपना देखाउँदै सत्तामा पुगेर चरम पूँजीवादी भासमा जाकिएका ओली गुटका कारण बदनाम वामपन्थी आन्दोलनलाई नयाँ शीराबाट शुरु गर्नुपर्ने अवस्था आएको छ । त्यसको पहिलो प्रवेश भनेकै परिवर्तनकारी शक्तिहरुबीचको ध्रुवीकरण हो ।

ओली गुट नेतृत्वको एमाले पूर्णत बहुदलीय जनवाद विरोधी कित्तामा उभिएको प्रष्ट छ । षड्यन्त्र र तानाबाना बुनेर असहमत विचारहरुलाई सिध्याउने लयमा ऊ अघि बढिरहेका छन् । माधव नेपालहरुमाथि गरिएको कारवाहीको सन्देश के पनि हो भने, हेर तलका कार्यकर्ता हो– ‘मेरा विरुद्धमा उभिनेको हविगत यस्तै हुनेछ ।’

असमहतहरुलाई कारवाहीको कोर्रा लगाएर विचार र सिद्धान्तविहीन ‘आइ लभ यू ओली बा’ वाला समूह तयार गर्नु ओलीको अहिलेको रणनीति हो । माथिदेखि तलसम्म शुद्धीकरणका नाममा वैचारिक कार्यकर्ताहरुलाई बढारेर मारवाडी अवसरवादी र हनुमानहरुको झुण्ड बनाए मात्र आफ्नो जयजयगान भइरहन्छ भन्ने उनले बुझेका छन् ।

ओलीभित्र जनवादी भावनाको कुनै अवशेष बचेको छैन । प्रतिशोधको अग्निकुण्डले जल्दै उनी असहमतहरुको विचारलाई मात्र होइन, उनीहरुको भविष्यलाई सर्वनाश पारेर आफू प्रवृत्ति टिकाइरहन चाहन्छन् एमालेका नाममा । मार्क्सवाद–लेनिनवादको विचार भन्न र भट्याउन मात्र हो, वैचारिकरूपमा प्रयोग गर्न छोडेर उनी दलाल पूँजीवादी अर्थतन्त्रको नोकरको रुपमा काम गर्न तम्तयार देखिन्छन् ।

विडम्वना के छ भने, सत्ताको रिङभित्रबाट आउट भएर कारवाही भोगिरहेका माधव नेपाल, सम्बन्धविच्छेद भइसकेका प्रचण्डहरुको आगामी भिजन प्रष्ट छैन ।

यो अर्को डरलाग्दो पक्ष हो । एमाले भएवापत पाइने सुविधा, क्षणिक अग्लोपनको रोगले ग्रस्त हुनुभन्दा सही र सत्य माक्र्सवादी बाटो रोज्नुमै प्रचण्ड–माधवहरुको निम्ति उपर्युक्त हुनेछ ।  चारजना केटाहरु गुलेली लिएर मुलुकमा क्रान्ति हुँदैन भन्ने माओवादी आन्दोलनले ऊर्जा हासिल गर्नुको अन्तर्य पनि क्रान्तिप्रतिको इमान्दार समर्पण नै थियो ।

आन्दोलनको वैठानको विषयमा बहस हुनसक्ला तर, समाज परिवर्तनको लाभालाई माओवादी आन्दोलनले विष्फोट गरेको सत्यलाई स्वीकार्न हिच्किचाउनु पर्दैन । त्यही आन्दोलनको उत्कर्षमा शान्तिर्णरूपमा गणतन्त्र नेपालको संविधान, यसको मर्मको रक्षाको निम्ति पनि वामपन्थी शक्तिहरुबीच महाध्रुवीकरणको आवश्यकता छ ।

जनतासँग टाढिँदै गइरहेको दूरी छोट्याएर जनतासँगै बस्न अब काठमाडौँको प्रदूषणबाट सुन्निएका नेताहरु झुग्गी, झुपडी र खलिहानमा पस्नुपर्दछ । गाउँ फेरिएको छ । गाउँलेका सपनाहरु फेरिएका छन् । सोंचाइ फेरिएको छ ।

राज्यको उपस्थिति नभए पनि गाउँलेहरु गोलबन्द हुन थालिसकेका छन् । पाँच वर्ष गरिखानोस् भनेर जिताएर पठाएका नेताहरुले बाटो बिराएकोमा जनता कत्ति पनि खुशी छैनन् । तर नदीले बाटो बनाएझैं आफ्नो बाटो बनाउन जनता सक्षम भइसकेका छन् ।

सँगसँगै दलाल पूँजीवादी अर्थतन्त्रका कारण उत्पन्न विभेद झन् बढेर गइरहेको छ । दैनिक बाकसमा फर्किएका युवाहरुको कारण पिँढी कुरेर बसेका बाबुआमाको आँशुले गाउँ भिजेको छ ।

सत्ता र शक्तिमा पहुँच हुनेहरुलाई त हिजो पनि त देश स्वर्ग नै थियो । आज उनीहरुलाई झन् महास्वर्ग भएको छ । मानिसहरुले प्रश्न गर्न थालेका छन्, यदि निजी स्कूल, निजी अस्पताल र सबै कुरामा निजीहरुकै जगजगी गर्नु थियो भने चुनावका बेला लेखिएको घोषणापत्र झूठको पुलिन्दा मात्रै थियो त ? के हँसिया हथौडाको झण्डा फहराएर पसल थापे जे पनि गर्न र बोल्न पाइने हो ?

कम्युनिष्ट पार्टीकै नाम बेचेर चरम अवसरवादी समाजको निर्माण गर्न अग्रसर शक्तिलाई पराजित गर्न पनि असल वामपन्थीहरुको एकता अनिवार्य छ । अन्यथा सिंगो देशकै भविष्य कता पुग्ने हो ? भन्न सकिन्न । परिस्थितिहरुले त्यतैतिर संकेत गरिरहेका छन् ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्