Logo
Logo

भो, मलाई भाइरल शब्द नै मन पर्दैन-अञ्जना राई, गायिका


दृष्टि संवाददाता


खोटाङ सांगीतिक क्षेत्रका लागि उर्वर जिल्ला मानिन्छ । नेपाली सांगीतिक क्षेत्रमा झण्डै ६० प्रतिशत कलाकार खोटाङकै छन् । पुराना गायक बच्चु कैलासदेखि पछिल्लो समय चर्चामा रहेका राजेशपायल राईसम्म खोटाङकै हुन् । यही उर्वर जिल्लाबाट गायिका बन्ने सपनासहित काठमाडौं आएकी अञ्जना राई चम्किँदो क्रममा छिन् । खोटाङ हलेसीकी अञ्जना भन्छिन्, ‘गायिका बन्ने रहरले काठमाडौं आएकी हुँ । अहिले रहर सपना पूरा गर्दैछु ।’ करिब पाँच वर्षयता गीतसंगीत क्षेत्रमा सक्रिय अञ्जनाले दर्जनौँ गीतहरु स्वर दिइसकेकी छन् । गायनलाई ‘प्यासन’का रुपमा लिएकी अञ्जना क्लासिकल गीत गाउन रुचाउँछिन् । साँझ–बिहान गायनको अभ्यास र दिउँसो एक प्राइभेट कम्पनीमा जागीर गर्दै आएकी अञ्जना भन्छिन्, ‘नयाँ भइञ्जेल गायनबाट बाँच्न गाह्रो छ । त्यसैले जागिर खानै प¥यो ।’ अञ्जनाले चाँडै ‘मस्ती’ नामक एल्बम ल्याउँदैछिन् । यिनै गायिका अञ्जनासँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहन्छ ?

एल्बम ‘मस्ती’को तयारी गर्दैछु । एल्बमको तयारी गरिरहेकै बेला कोरोनाले गर्दा लकडाउन भएपछि रोकिएको थियो । अहिले त्यही एल्बम ल्याउने तयारी गर्दैछु ।

अहिलेको अवस्थामा पनि एल्बम ?

एल्बम निकाल्ने मेरो पहिलेदेखिकै सोच हो । हिजोआज सिंगल ट्रयाक निकाल्ने लहर छ । तैपनि एल्बम ल्याउँदैछु । तर, एल्बममा तीन वटामात्र गीत राख्दैछु ।

गायन क्षेत्रमा लाग्नुभएको कति भयो ?

पाँच वर्ष भयो । २०७२ सालमा काठमाडौं आएकी हुँ । काठमाडौं आएपछि संगीत सिक्दै गाउन थालेकी हुँ ।

सुरुमा काठमाडौं केका लागि आउनुभएको थियो ?

म त गायिका नै बन्छु भनेर आएकी हुँ । गायनमा मेरो सानैदेखि रुची र इच्छा थियो ।

गाउँमा हुँदा पनि गाउनुहुन्थ्यो ?

गाउँथेँ । त्योबेला आफ्नो गीत थिएन । अरुका गीतहरु स्कुल र गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा गाउँथे ।

काठमाडौं आएर संगीत सिक्नुभयो कि भएन ?

मैले लगातार दुई वर्ष सिकेँ । फ्युचर कल्चरमा मैले दुई वर्ष निराश मगरसँग क्लासिकल संगीत सिकेकी हुँ ।

हालसम्म तपाइँले कति गीत गाउनुभयो ?

खास धेरै गाएकी छैन । १२/१५ वटा गाएकी छु । अहिले पनि सिक्दैछु । म संघर्षरत गायिका हुँ । संगीतबाटै केही गरौँ भन्ने उद्देश्य छ ।

तपाइँको पहिलो रेकर्डिङ भएको गीत कुन हो ?

‘आज मलाई किन किन’ बोलको गीत हो । मेरो पहिलो यो गीतलाई निकै रुचाइएको थियो । अहिले पनि यु–ट्युबमा हेर्न सकिन्छ ।

तपाइँका चलेका गीतहरु भन्नुपर्दा ?

केही गीत छन् । खाशै चलेको त भन्न मिल्दैन होला । ‘आज मलाई किन किन’, ‘शंका नगर’ ‘चौतारी वरमा’ बोलका गीतहरु नै हुन् । यी गीत जतिले सुन्नुभयो, सबैले मन पराउनुभएको छ ।

गीत संगीतबाहेक अरु के गर्नुहुन्छ ?

एउटा अफिसमा जागीर गर्छु । अहिले नयाँ भइञ्जेल संगीतले मात्र काठमाडौंँमा धान्न सकिँदैन । बाँच्नुका लागि पनि यहाँ जागीर गर्नुपरेको छ । विस्तारै व्यस्त भइयो भने जागीर छाड्नुपर्ला ।

आफूले रोजेको क्षेत्रबाट खुसी हुनुहुन्छ ?

खुसी नै छु । रुचि र इच्छा पूरा गर्दैछु । सोचेजस्तो त भएको छैन । तैपनि आफूले रोजेको क्षेत्र भएकाले सन्तुष्ट छु ।

हिजोआज यु–ट्युबमा भाइरल हुने जमाना छ, तपाइँलाई इच्छा छैन ?

भो मलाई भाइरल हुनु छैन । भाइरल भन्ने शब्द पनि मन पर्दैन । म क्लासिकल म्युजिक मनपर्छ । क्लासिकल र आधुनिक गीत गाएरै नाम कमाउने इच्छा छ । आज भाइरल हुने भोलि गुमनाम हुने गीत गाउँदिन म ।

करिब १० महिना लकडाउन हुँदा समय कसरी कटाउनुभयो ?

लकडाउनमा पनि यही काठमाडौंमै थिएँ । लकडाउन अवधिभर संगीतको अभ्यास गर्ने, टिकटक बनाउने र नाच्ने गरेरै बित्यो ।

लकडाउन खुलेपछि कार्यक्रमहरु गर्नुभयो कि भएन ?

गरेकी छैन । भर्खरै त कार्यक्रमहरु हुन थालेको छ । यही आउँदै गरेको नेपाली नयाँ वर्षमा चितवनमा कार्यक्रम गर्दैछु । त्यसका लागि चितवन जाँदैछु । यही ३१ चैतको साँझ कार्यक्रम हुँदैछ ।

सामाजिक सञ्जाल कतिको चलाउनुहुन्छ ?

एकदमै धेरै चलाउँछु । फुर्सद भयो फेसबुक, यु–ट्युब र टिकटक नचलाइ चित्तै बुझ्दैन । इन्स्टाग्राम पनि चलाउँछु ।

फेसबुक म्यासेन्जरमा प्रेम प्रस्ताव गर्नेहरु थुप्रै आउलान् नि ?

त्यो स्वभाविक हो । तर, धेरैचाहिँ आउँदैन । अर्को कुरा म म्यासेन्जर त्यति हेर्दिनँ । हेरेँ भनेपनि काम विनाको म्यासेसको रिप्लाई दिन्नँ ।

प्रतिक्रिया दिनुहोस्