Logo
Logo

आगामी चुनावमा डोनाल्ड ट्रम्पलाई टक्कर दिंदै समाजवादी उम्मेदवार बर्नि स्याण्डर्स


- दृष्टि न्युज/संवाददाता



अमेरिकामा आगामी चुनाव अर्को वर्ष सन् २०२० मा हुँदैछ । वर्तमान राष्ट्रपति ट्रम्पले फेरि चुनाव लड्ने मनशाय वनाइरहेको भनिन्छ । उनका विरुद्ध आगामी चुनावमा आफुलाई लोकतान्त्रिक समाजवादी वताउने बर्नि स्याण्डर्सले राष्ट्रपतिको उम्मेदवारी अभियान शुरु गरेका छन् ।

अमेरिकामा वहुदलीय व्यवस्था भनिएपनि मुख्यतः दुई दलको प्रमुत्व रहेकोछ । रिपब्लीकन पार्टी र डेमोक्रेटिक पार्टी । बर्नि स्याण्डर्सले धेरै समय देखि तेश्रो पार्टी वनाउन कोशिस गरेपनि उनी सफल हुन सकेनन् । गत चुनावमा उनले डेमोक्रेटिक पार्टीवाट राष्ट्रपतिको उम्मेदवार वन्न अभियान चलाए । त्यहाँ चुनावको टिकट पाउन पहिला पार्टी भित्रको चुनावमा विजयी वन्नु पर्दछ । डेमोक्रेटिक पार्टी भित्रको चुनावमा बर्नि स्याण्डर्सले ४३ प्रतिशत मत पाए भने हिलारी क्लिन्टनले ५५ प्रतिशत मत पाए । त्यसैले गत चुनावमा डेमोक्रेटिक पार्टीको तर्फवाट हिलारी उम्मेदवार भइन् । तर उनी ट्रम्प संग पराजित भइन ।

यसपाली डेमोक्रेटिक पार्टीको तर्फवाट चुनावी टिकट पाउन बर्नि स्याण्डर्सले पुनः शनिवार देखि अभियान शुरु गरेका छन् । यसपटक उनले डेमोक्रेटिक पार्टी भित्रवाट टिकट पाउने सम्भावना वढेको पर्यवेक्षकहरुको भनाइ रहेको छ ।

उनका चुनावी घोषणाहरु यस्ता छन्—

१) सबै अमेरिकीहरुलाई रोजगारको ग्यारेन्टि गर्ने

२) अहिले भैरहेको करीव ७.२५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बर गर्ने

३) अमेरिकामा रहेका डकुमेन्ट नभएका लाखौं आप्रवासीहरुलाई अमेरिका मै वस्न दिने

४) सबैका लागि स्वास्थ्य सुविधा उपलब्ध गराउने

५) विश्वविद्यालयहरु र कलेजहरुमा निशुल्क शिक्षा उपलब्ध गराइने

६) आर्थिक न्याय, सामाजिक न्याय, जातीय न्याय, वातावरणीय न्यायका लागि संघर्ष गर्ने

७) न्यायपूर्ण राजनैतिक क्रान्ति गर्ने प्रतिवद्धता

८) अमेरिकी वैदेशिक हस्तक्षेपको विरोध

यस्ता चुनावी नाराहरुले अमेरिकामा ठुलो उथल पुथल ल्याउने आशा गरिएको छ । डेमोक्रेटिक पार्टी भित्रवाट उनले टिकट पाउन सफल भएमा आगामी चुनाव रोमान्चक हुनेछ । धेरैले नसोच जस्तो ट्रम्प राष्ट्रपतिमा विजयी भएजस्तै लोकतान्त्रिक समाजवादी बर्नि स्याण्डर्स आगामी राष्ट्रपति नहोला भन्न सकिन्न । तर वाटो अझै कठिन छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्