Logo
Logo

गण्डकी प्रदेश : बैठक माग गर्दै चार दलद्वारा निवेदन


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशसभा बैठक बोलाउन माग गर्दै प्रतिपक्ष नेपाली कांग्रेससहितका तीन दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन निवेदन दिएका छन् । चालू अधिवेशन अन्त्य गरिएसँगै चार दलको बिहीबार बसेको बैठकले सो निवेदन दर्ता गर्न निर्णय गरेको हो ।

 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकाएक प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि प्रमुख तीन दल कांग्रेस, माओवादी र जसपाको बैठक बसेर समावेदनमा जाने निर्णय भएको थियो ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने पक्का भएपछि गुरुङले बुधबार रातिबाटै लागू हुनेगरी अधिवेशन अन्त्यको घोषणा प्रदेश प्रमुखमार्फत जानकारी गराएका थिए ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ संकटमा परेका थिए । उनलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर, ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएपछि गुरुङ संकटमा परेका हुन् ।

जनमोर्चाको साथ पाएपछि कांग्रेस, माओवादी र जसपाले बिहीबार नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् । अविश्वासको प्रस्तावमा २८ सांसदको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्