Logo
Logo

तामाकोशीको काममा भइरहेको ढिलाइ सह्य नहुने प्रधानमन्त्रीकाे चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलाइ सह्य नहुने चेतावनी दिएका छन् ।

बिहीवार नापी कार्यालयबाट अनलाइन प्रणाली ’मेरो कित्ता’ मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशीको काममा अस्वाभाविक रूपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सह्य नहुने बताएका हुन् ।

माथिल्लो तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ खर्च भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति बेहोर्नुपर्ने पनि उनले चेतावनी दिए ।

ओलीले भने, ‘अत्यन्तै अस्वाभाविक ढङ्गले माथिल्लो तामाकोशीको काममा ढिलाइ गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुचि बढाउनुपर्ने जस्तो देखेको छु । माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलासुस्ती अस्वाभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु, एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरूको यो ढिलासुस्ती हो या अरू केही हो, त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’

यसैबीच प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सजग र सचेत हुनका लागि सबैलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्