Logo
Logo

चितवनमा दुर्घटना : वर्षभरिमा ११६ जनाको मृत्यु, ६१२ घाइते


दृष्टि संवाददाता


चितवन । गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

गत असोज ३१ मा चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित केबलकारनजिकै सवारी दुर्घटना । उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । फाइल तस्बिर

दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ ।

सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई÷दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५७३ सवारी साधन परेको उहाँले जानकारी दिए ।

सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३१६ दुर्घटनामा परी १२३ को ज्यान गएको थियो । त्यस वर्ष मङ्सिरमा सबैभन्दा धेरै १९ को ज्यान गएको थियो । सबैभन्दा कम चैत महिनामा तीनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्युदर घटाउन कठिन भएको भट्टको भनाइ छ । साँघुरो बाटो र सवारीको चाप बढी भएका कारण दुर्घटना बढी हुने गरेको उनले बताए । दुर्घटना बढी सङ्ख्यामा पूर्वपश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्