Logo
Logo

अन्तिम अवस्थामा कर्णालीका मुख्यमन्त्रीलाई झट्का


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही संकटमा परेको छन् । राप्रपाले साथ नदिएपछि उनी संकटमा परेका हुन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहीलाई अन्तिम अवस्थामा राप्रपाले साथ नदिने भएपछि झट्का लागेको हो ।

कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण शाहीसँग १२ सांसदमात्र छन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र पनि पुग्दैन । एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोरक्रस गर्नुपर्ने हुन्छ ।

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा पनि २० सांसद आवश्यक पर्दछ । २० सांसद एमालेसँगै रहेको अवस्थामा एमालेका सांसदले फ्लोरक्रस गरेनन् भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट छ । यसअघि नै एमालेले मुख्यमन्त्रीलाई मत नदिन ह्वीप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्