Logo
Logo

ओलीले देशलाई बन्धकी राखे : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने र राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भएको आरोप लगाएका छन् ।

फाइल फोटो

शुक्रबार ‘बागमती प्रदेश कराँते च्याम्पियनसिप-२०२१’ कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरु आएको बताउँदै भने, ‘यस्ता खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिन्ह खडा भएको छ । नेपालीलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार छैन ।’ अध्यक्ष प्रचण्डले तानाशाही र निरंकुश शक्तिहरु पुरै परास्त हुने अझै बाँकी रहेको बताए ।
उनले भने, ‘उनीहरु (तानाशाही)को कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताका विरुद्ध चलिराखेको छ । तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता र बलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’ अध्यक्ष प्रचण्डले केही मानिसले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको समेत दावी गरे ।

‘अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने सपना देखेका छन्, उनले भने, ‘स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रीत गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखापरेको छ ।’ उनले षड्यन्त्रपूर्ण तरिकाले संघीयता उल्ट्याउन खोजे नेपाली जनतालाई मान्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्