Logo
Logo

प्रहरी नियमावली कानूनमै अल्झियो, सइको बढुवा रोकियो


दृष्टि संवाददाता


काठमाडौं, ३ बैशाख ।
नेपाल प्रहरीको नियमावली संशोधन कानुन मन्त्रालयमै रोकिएको छ । जसबाट बढुवाको मुखमा रहेका नायब निरीक्षक(सइ)हरुको करिअर प्रभावीत भएको छ ।


सइबाट इन्सपेक्टरमा बढुवाको कोटा हेरफेरसहितको प्रावधानसहित नियमावली संशोधन गर्न लागिएको थियो । हाल इन्सपेक्टरका रिक्तमध्ये ४० प्रतिशत बढुवाबाट पदपुर्ती हुन्छ । त्यसले सइबाट इन्सपेक्टरमा बढुवामा १७ वर्ष लाग्ने अवस्था आइसकेको छ । जसकारण नियमावली संशोधन गरेर ५० प्रतिशत पुर्याउन लागिएको थियो। जसमा कानुन मन्त्रालयले अवरोध गरेको छ । नियमावली समयमा संशोधन हुन नसक्दा तीन महिनादेखि सइ बढुवा प्रभावित भएको छ ।

हाल नेपाल प्रहरीमा सइका एक सय भन्दा धेरै पद रिक्त छन् । त्यसमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ती गर्ने प्रस्ताव गृह मन्त्रालयले गरेको थियो । नियमावली संशोधनका केही प्रावधानमा कानुनले असहमित जनाएको स्रोत बताउँछ ।

उच्च तहका पदहरु बढाउन रातारात नियमावली संशोधन गर्ने तथा सयौं जुनियर अधिकृतको भविष्यसँग जोडिएको विषयमा भने महिनौंसम्म निर्णय हुने गरेको छैन । यसले प्रहरीको तल्लो तहको मनोबल खस्कने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्