Logo
Logo

असंवैधानिक सरकारलाई आज भोलि नै ठेगान लगाइन्छः प्रचण्ड


दृष्टि संवाददाता


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अर्को सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार माडीमा पार्टीको भातृ संगठन वाईसीएलले आयोजना गरेको सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने–‘म अहिले एकक्षणपछि काठमाडौं गएर पार्टीहरुको मिटिङ गर्दै छौं । निरङ्‌कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं ।’

उनले कर्णाली प्रदेश सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा भयो सबैले देखेको बताए । उनले भने, ‘कर्णालीमा के भयो ? तपाईं हामीले देखेका छौं । कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो, तपाई हामीले देखेका छौं । गण्डकी के हुँदैछ तपाईँ हामीले देखेका छौं र लुम्बिनी प्रदेशमा के हुँदैछ, तपाई हामीले देख्दैछौं ।’

नयाँ सरकार केन्द्रमा बनेपछि माडीको विकास र माडीको युवाहरुको रोजगारी र सुकुम्बासीहरुको समस्या र माडीका सबै समस्या समाधान गर्न युद्धस्तरमा काम अगाडि बढ्ने उनले बताए ।

‘एउटा निरंकुश सरकार पतन भएर जनपक्षीय सरकार आएपछि फेरि एउटा नयाँ युगको सुरुवात हुने छ’ दाहालले भने । उनले जनपक्षीय मुद्दामा आधारित कुनै षड्यन्त्रमा नलाग्ने, जालझेल नगर्ने शक्तिको सरकार बन्ने बताए ।

चितवनबाट काठमाडौं गएलगतै दलहरुको बैठक बस्ने भन्दै प्रचण्डले भने, ‘मलाई लाग्छ, केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ ।’

 

प्रतिक्रिया दिनुहोस्