Logo
Logo

कार्यकर्ता नछुटेको भन्दै बालुवाटारमा बम्के विप्लव !


दृष्टि संवाददाता


काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच तीन बुँदे सहमति भएको दुई महिनाभन्दा धेरै भइसक्यो । तर, सहमति कार्यान्वयनमा सरकार गम्भीर देखिएको छैन ।

सरकार विप्लव समूहबीच भएको तीन बुँदे सहमतिको पहिलो बुँदा सरकारले लगाएको प्रतिवन्ध फुकुवा थियो । त्यो कार्यान्वयन भइसक्यो । तर, अर्को महत्वपूर्ण बुँदा बन्दी रिहाइ अझै कार्यान्वयन भएको छैन । त्यसैले विप्लव हैरान छन् ।

सरकारसँग सहमति नभएसम्म विप्लव समूहले भूमिगत रूपमै सरकारलाई चुनौती दिइरहेको थियो । तर, प्रतिबन्ध फुकुवासँगै विप्लव कमजोर भएका छन् । बेला–बेला वालुवाटार धाउनुपर्ने बाध्यतामा छन् ।

जंगलमा शेर झै बसेका विप्लव आजकाल भिजेको मुसा झै लुसुलुसु बालुवाटार पुग्ने गरेका छन् । मुलधारको राजनीतिमा आएसँग विप्लव थुप्रै पटक सहमति कार्यान्वय गर्न माग गर्दै बालुवाटार पुगे । तर, प्रधानमन्त्री ओलीले विप्लवलाई वास्तै गर्न छोडिसकेका छन् ।

आइलबार पनि सहमति कार्यान्वयन गर्न माग गर्दै विप्लव बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग भेटवार्ता भयो । प्रधानमन्त्रीले विस्तारै सबै काम हुन्छ भन्दै सधै झै विप्लवलाई मनाउने प्रयास गरे । तर, आइतबार भने विप्लव बम्के !

बालुवाटार स्रोतका अनुसार विप्लवले ‘प्रधानमन्त्रीज्यूको यो तरिका भएन । सहमति भएको यतिका दिन बितिसक्दा पनि हाम्रा नेता कार्यकर्ता किन नछुटेको ?’ भन्दै प्रधानमन्त्रीलाई विप्लवले प्रश्न गरेका थिए ।

विप्लवले आक्रोशित भएर प्रधानमन्त्रीलाई प्रश्न गरे पनि प्रधानमन्त्री शालिन रूपमै प्रस्तुत भए । सधै झै सरकारले यथाशक्य छिटो बन्दी रिहाइको तयारी गरेको र मुद्दा खारेजी हुने भन्दै प्रधानमन्त्रीले विप्लवलाई थुम्थुमाएर पठाए ।

विप्लव समूहका १ सय २३ जना नेता, कार्यकर्ता राजनीतिक बन्दीका रूपमा कारागारमा छन् । विप्लव समूह र सरकारबीच फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्