Logo
Logo

एमाले अनुशासन आयोगको ओलीलाई पत्र : भोलिको बैठक रोकौँ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबारका लागि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठक स्थगित गर्न माग गरेको छ ।

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका नेता एवं एमाले केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष अमृतकुमार बोहोराले सोमबारका लागि बोलाएको केन्द्रीय समिति हाल रुपान्तरित महाधिवेशन आयोजक समितिको बैठक तत्काल स्थगित गर्न माग गरेको हो ।

आइतबार विज्ञप्ति प्रकाशित गरी उनले पार्टीभित्रको विवाद समाधानको उयाय नखोजी उल्टै आयोजक समितिको नाममा बैठक राखेर स्थिति झन् असहज बनाउन खोजेको भन्दै तत्काल रोक्न आग्रह गरेका हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई छुट्याइदिएपछि पार्टी २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै उनले सोही मितिका आधारमा अघि बढे विवाद समाधान हुने बताए ।

विज्ञप्तिमा ‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोक्नुपर्दछ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनैपनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ’, बोहोराले भनेका छन् ।

त्यस्तै बोहोराले सवै पक्षलाई आग्रह गर्दै भनेका छन, –‘मेरो गोरुको बाह्रै टुक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ । पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको एकतर्फी निर्णयलाई विनाशर्त फिर्ता गरौँ । विधिविपरित कमिटीमा थप गर्ने र हटाउने गरी भएका सवै निर्णय सच्याऊ ।’

एमाले आमूल रुपान्तरण र समाजवाद प्राप्तिको निम्ति संघर्षरत पार्टी भएकोले एकता जोगाउन र श्रमजीवी जनसमुदायका अगाडि गरेका संकल्पलाई फेरि गम्भीर भएर स्मरण गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्