Logo
Logo
एमाले विवाद निर्वाचन आयोगमा

ओलीको एक्लौटी निर्णय खारेज गर्न माधव समूहको माग (पत्रसहित)


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय बदर गर्न माग गर्दै निर्वाचन आयोग पुगेको छ।

चैत ७ गते गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक रहेको भन्दै कमिटीलाई आधिकारिकता नदिन माग गर्दै बेदुराम भुसााल, राजेन्द्र पाण्डे लगायतका नेताले आयोगमा निवेदन दर्ता गराएका हुन् ।

नेपाल पक्षका नेताहरुले ८८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेर महाधिवेशन आयोजक कमिटीको गठन पार्टी विधानविपरित भएको भन्दै निवेदन दिएका हुन् ।

निवेदनमा फागुन २८ र चैत ७ गतेको बैठकबाट गरिएको भनिएको निर्णयहरु पार्टीको विधानविपरित रहेकाले ती निर्णयहरु बदर गरिनुपर्ने माग राखिएको छ ।

निवेदनमा अहिलेको विधानमा महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै नरहेको उल्लेख गरिएको छ । चैत ७ गते ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि २ सय ६५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो ।

पार्टी अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल समूहले यसअघि पनि आयोगमा गएको थियो । तर आयोगले यसबारे कुनै निर्णय नगर्दै नेपाल समूहले अर्को निवेदन दिएको छ ।

नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पत्र :

प्रतिक्रिया दिनुहोस्