Logo
Logo

कसैले रोक्न नसक्ने युवा


वद्रीविनोद प्रतीक



गत बुधवार दिउँसो टेलिभिजनको स्क्रिनमा ब्रेकिङ न्यूज देखेँ, पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना लिएर पाथीभरा मन्दिरबाट उडेको हेलिकप्टर बेपत्ता भएको समाचार केही नहोस् मनले कामना गरिहालें । एकपछि अर्को अपडेट थपिन थाल्यो । विश्वासै लागेन । अविश्वाश धेरै बेर टिक्न सकेन । अकल्पनीय सत्यले जित्यो । अन्ततः मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको निधन भएको खबर नेपाल टेलिभिजनले दिन बाध्य भयो ।
मृत्यु सत्य हो । यो कुरा थाहा भए पनि सबैले बिर्सिएका हुन्छौँ । यस्ता कुरा सम्झिएर पनि हुँदैन । कहिलेकहीँ यस्तो सत्य पनि पत्याउन कठिन हुँदोरहेछ ।


रवीन्द्र भूमिकाविहीन भएर बस्नै सक्दैन थिए । पार्टीमा भूमिगत भएर काम गर्नेहरूले उनीभित्रको क्षमता देख्दैनथे । रवीन्द्र आफ्नो क्षमता देखाउने ठाउँ खोजिरहेका हुन्थे । विसं २०५४÷५५ मा एमाले पार्टी दुई चिरा भयो । पार्टी फुटेर माले बन्यो । रवीन्द्र मालेको पछि लागे । उनले नयाँ पार्टीमा काम गर्ने अवसर पाए । त्यसले उनमा आत्मबल थपिदियो । उनी निरन्तर अगाडि बढे । उनलाई कसैले रोक्न सकेन । संविधानसभाको पहिलो चुनावमा उम्मेदवारी दिन धेरै नेताहरूले खुट्टो कमाए । त्यतिबेला माओवादीको दबदबा थियो । माओवादीसँग प्रतिस्पर्धा गर्ने आँट उनैले गरे । सिंगो कास्की माओवादीले कब्जा गर्दा पनि रवीन्द्रलाई हराउन सकेन । उनको नेतृत्व क्षमताको पहिचान सामान्य कार्यकर्ताले पनि गरे । जसको कारण त्यसपछिका कुनै चुनावमा उनलाई रोक्ने हिम्मत कसैले गरेनन् ।

मैले रवीन्द्र अधिकारीलाई चालिसको दशकमा भेटेको थिएँ । उनी सानो–सानो गाठीका फुर्तिला युवा थिए । कुरा गर्दा हाँसिरहन्थे । पृथ्वीनारायण क्याम्पसमा हामी स्नातकोत्तर तहमा पढ्थ्यौँ, उनी प्रमाणपत्र तहमा भर्ना भएका थिए । प्रमाणतहमा पढनेहरू एक त साना हुन्थे अर्को डिग्री तहमा पढ्नेहरूले उनीहरूलाई वास्ता पनि गर्दैनथेँ । मेरो र उनको उमेरको ग्याप बढी भए पनि सम्बन्ध नजिक थियो । राजनीतिक रूपमा उनी सानैदेखि सचेत थिए । हामी पनि राजनीतिका कुरा गथ्र्यौ । हाम्रा कुरा बुद्धिविलासका लागि हुन्थे । उनका कुरा राजनीतिक योजनासहितका हुन्थे ।
मैले पृथ्वीनारायण क्याम्पसको इतिहासमा तीन जना अधिकारीहरूलाई विशेषगरी चिन्दथेँ । जो सधैँ चर्चामा हुन्थे । ती थिए, सोमनाथ अधिकारी, खगराज अधिकारी र रवीन्द्र अधिकारी । यी तीनै जनाको सिद्धान्त र विचार एउटै थियो, स्वभाव भने फरक–फरक थियो । उनीहरूको राजनीतिक जीवनको जग विद्यार्थी आन्दोलन नै हो । यी तीनै जनाले पृथ्वीनारायण क्याम्पसको स्ववियुमा नेतृत्व पनि गरे ।
सोमनाथ र खगराज निरंकुश पञ्चायती शासनसँग निरन्तर भिडीरहे । नेपाली जनताको आन्दोलनलाई जनआन्दोलनमा परिणत गरे । रवीन्द्रले नेतृत्व गर्दा निरंकुश पञ्चायत ढलिसकेको थियो । तर लोकतन्त्रभित्र कांग्रेसको राज थियो । कांग्रेसमा पनि गिरिजाप्रसाद कोइरालाको निरंकुशतासँग पौठेजोरी खेल्ने रवीन्द्र नै थिए । उनले त्यतिबेला विद्यार्थी हकहित र शैक्षिक सुधारको क्षेत्रमा धेरै काम गरे । रवीन्द्रले थालेका सुधारका कार्यहरू धेरैको स्मृतिमा छन् । उनले क्याम्पसभित्रको भौतिक सुधार मात्र होइन विद्यार्थीको पोशाकमा एकरूपकता, यातायतामा विद्यार्थी सहुलियत र पठनपाठनमा नियमितताजस्ता कहिल्यै नभुल्ने काम गरेका थिए । क्याम्पसको नियमित विद्यार्थीको नाता मेरो विसं २०४३ बाटै टुटे पनि उनीसँग झन्–झन नजिक भएँ । मैले अँगालेको पेशा पत्रकारिता र शिक्षण थियो । उनी स्ववियुको सभापति हुँदा म पोखरावाट मातृभूमि साप्ताहिकमा काम गर्दथेँ । त्यसले उनीसँग नजिक थिएँ ।
रवीन्द्रको एउटा राम्रो गुण थियो– उनी कुरा सुन्थे र निर्णय पनि आफैँ गर्दथे । स्ववियुले गरेका केही राम्रा कामहरूको प्रचारमा सहयोग खोज्थे । विज्ञप्ति लेखेर पत्रिकाको कार्यालयहरूमा पठाउँथे । ती विज्ञप्तिहरू भद्दा र आधाभन्दा बढी संगठनको गुनगान र पोखराको सौन्दर्य वर्णनले भरिएको हुन्थ्यो, मूल कुरा पुछारमा मात्रै हुन्थ्यो । सम्पादकहरूले विज्ञप्ति आधा पढ्दा पनि मूल विषय नभेटेपछि डसविनमा फाल्थे, समाचार आउँदैनथ्यो । एक दिन उनीसँग भेट हुँदा समाचार नआएको गुनासो गरे । मैले उनलाई त्यतिबेला एउटा छोटो समयमा सिक्ने पत्रकारिताको सूत्र भनिदिए । त्यसपछि समाचार नआएको गुनासो कहिल्यै गरेनन् । विज्ञप्ति पनि बुझिनेगरी आउन थाल्यो ।
विद्यार्थी फाँटका लोकप्रिय नेता भइसकेका थिए उनी । पृथ्वीनारायण क्याम्पसको मात्र होइन विसं २०५३ मा केन्द्रीय क्याम्पस कीर्तिपुरको समेत सभापति भए । उनको प्रगतिलाई कसैले छेक्न सकेन । विसं २०५६ मा अनेरास्ववियुको केन्दीय अध्यक्ष भएपछि उनी काठमाडौं र पोखरा आधा–आधा रहन थाले ।
अनेरास्ववियुको अध्यक्ष भएपछि उनी नेकपा एमालेको कास्की जिल्ला कमिटी सचिव भए । म त्यतिबेला पोखरा हटलाइनको सम्पादक थिएँ । उनको त्यतिबेला एउटा गुनासो थियो । भूमिगत पार्टी हुँदा काम गरेका कमरेडहरूले सहयोग गरेनन् । काम गर्न गाह्रो भयो ।
बाहिर उनी लोकप्रिय थिए । आँट भएको नेताको रूपमा चिनिएका थिए । उनले हत्यारा दरबारमा होइन जेलमा रहनुपर्छ भन्दा निकै तहल्का मच्चिएको थियो । तत्कालीन युवराज पारसलाई जेल हाल्नुपर्छ भनी दरबारलाई दबाब दिइरहे । पाँच लाख तीस हजारभन्दा बढीको हस्ताक्षर संकलन गरेर दरबारमा बुझाएका थिए । लोकप्रिय गायक प्रविण गुरूङका हत्यारा पारस हुन भनी किटानी जाहेरी दिन हस्ताक्षर संकलन गरेका थिए । यसले उनको नेतृत्व क्षमता प्रदर्शन गरिसकेको थियो ।
रवीन्द्र भूमिकाविहीन भएर बस्नै सक्दैन थिए । पार्टीमा भूमिगत भएर काम गर्नेहरूले उनीभित्रको क्षमता देख्दैनथे । रवीन्द्र आफ्नो क्षमता देखाउने ठाउँ खोजिरहेका हुन्थे । विसं २०५४÷५५ मा एमाले पार्टी दुई चिरा भयो । पार्टी फुटेर माले बन्यो । रवीन्द्र मालेको पछि लागे । उनले नयाँ पार्टीमा काम गर्ने अवसर पाए । त्यसले उनमा आत्मबल थपिदियो । उनी निरन्तर अगाडि बढे । उनलाई कसैले रोक्न सकेन । माले फेरि एमालेमै मिसियो । रवीन्द्र फेरि संकटमा परे । कार्यकर्ताले मन पराए पनि एमालेमै रहेकाहरूले उनलाई अवसरवादीको आरोप लगाए । कार्यकर्ताले सुम्पिएको जिम्मेवारी पनि उनले पूरा गर्न पाएनन् । अनेक बखेडा झिकेर उनलाई कुर्चीबाट ओरालियो ।
जिल्ला अध्यक्षबाट हटाए पनि उनी निरास भएनन् । निरास हुने उनको स्वभावै थिएन । मनभित्र जतिसुकै पीडा भए पनि लुकाएर हाँस्न सक्ने र निरन्तर लक्ष्यको नजिक पुग्न सक्ने क्षमता उनीसँग थियो । त्यसैले उनलाई भूमिकाहीन बनाउन खोज्नेहरूलाई पराजित हुँदै गए ।
संविधानसभाको पहिलो चुनावमा उम्मेदवारी दिन धेरै नेताहरूले खुट्टो कमाए । त्यतिबेला माओवादीको दबदबा थियो । माओवादीसँग प्रतिस्पर्धा गर्ने आँट उनैले गरे । सिंगो कास्की माओवादीले कब्जा गर्दा पनि रवीन्द्रलाई हराउन सकेन । उनको नेतृत्व क्षमताको पहिचान सामान्य कार्यकर्ताले पनि गरे । जसको कारण त्यसपछिका कुनै चुनावमा उनलाई रोक्ने हिम्मत कसैले गरेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्दाञ्जिली व्यक्त गरी पार्टीको झण्डा ओढाउदै । तस्बिर : रासस

रवीन्द्र प्रायः एक्लै हिँड्दैनथे । दुई जना मात्र बसेर चिया पिउन खोज्दा कहिल्यै समय मिलेन । रेष्टुराँमा छिर्दा हामी दुई मात्र छिथ्र्यौ, निस्कदा दर्जनको हाराहारीमा हुन्थ्यौँ । जति जनाले चिया पिए पनि पैसा आफैँ तिर्थे । मैले पैसा तिरेर कहिल्यै चिया पिलाउन सकिनँ उनलाई ।
मन्त्री भएपछि उनीसँगको सम्बन्ध पातलो भयो । उनका केही निर्णयहरूबारे मेरो टिप्पणी रह्यो । सुझावसहितको उनका कामहरूको टिप्पणी प्रकाशित गरेँ । त्यसमा उनले नराम्रो देखेनन् । एउटा भेटमा भनेका थिए– कार्यकर्ताहरूले गर्न नमिल्ने काम पनि गराउन खोज्छन् । के गर्नु ? उनको कुरा सुनेपछि खुशी लाग्यो । नेतामा हुने गुण उनीमा पाएको थिए ।
अन्त्यमा, पोखरामा फागुनको ९ र १० मा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा थियो । सभाको लागि उनले राम्रो सहयोग गरेका थिए । दीपेन्द्र श्रेष्ठ, पुन्य पौडेल र म काठमाडौँ गएर मन्त्रालयमै भेटेर उनीसँग चिया बिस्कुट खाएको सम्झना अन्तिम भयो । फागुन ९ गते पोखरा सभागृहमा आफ्नो मन्त्व्य दिएर हतारमा छु भन्दै बिदा भए । एउटै मञ्चमा थियौँ हामी । त्यसरी बिदा भएर गएका रवीन्द्रलाई फेरि भेट्ने अवसर नजुट्ने भयो । पोखरा सभागृहबाट बिदा भएर गएका मदन भण्डारी र जीवराज आश्रित जीप दुर्घटनामा परेर संसारबाट बिदा भएका थिए । आज रवीन्द्र त्यसैगरी हवाई दुर्घटनामा परी सबैबाट बिदा भए । मदन र आश्रितको जस्तै जनताको माया पाए रवीन्द्रले । कहिल्यै नदेखेको जनउपस्थितिले उनको लोकप्रियतालाई उठायो । उनको क्षमताको परीक्षण ग¥यो । आज मात्र होइन युगौसम्म पनि नबर्सिने गरी उनले कोरेको समृद नेपालको नक्साले हामीलाई युगौँसम्म सम्झाइरहनेछ । नेपालको पर्यटन र हवाई उड्डयानको क्षेत्रमा थालिएका पोखरा अन्तर्राष्ट्रिय विमास्थल, गौतमबुद्ध–लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललगायतका विमानस्थलको सञ्चानलपछि रवीन्द्रको सम्झना झन्झन् बढेर आउनेछ ।

प्रतिक्रिया दिनुहोस्