Logo
Logo

दोस्रो मात्रा खोप लगाएका डा केसीलाई पनि संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्डको दुई मात्रा (डोज) पूरा गरिसकेका चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।

हाड जोर्नी रोग विशेषज्ञ डा कपिलमणि केसीलाई संक्रमण भएको हो । नेशनल प्याथ ल्याब बेल्बास बुटवलमा परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनी आफैले जानकारी दिए ।

डा केसीले पहिलो खोप गत माघ १८ गते ​ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुवै खोप लगाएका थिए । उनले दोस्रो डोज गत चैत २२ गते लगाएका थिए । उनले भने, ‘कोभिड-१९ खतरनाक नै देखियो । सात/आठ दिनसम्म उच्च ज्वरो देखियो । सात दिनसम्म त सुत्नै नसक्ने भएँ ।’

खोपको डोज पूरा गरेर पनि पुनः संक्रमण भएको घटना नेपालमा यो पहिलो भने होइन । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहलाई पनि गत चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले पनि माघ १४ गते पहिलो र चैत १७ गते दोस्रो डोज खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्