Logo
Logo

गाउँकै सोल्टीसँग ‘लभ’ पर्यो– कविता बान्तावा राई, अभिनेत्री


दृष्टि संवाददाता


कोही रहरले, कुनै ‘कर’ले । कलाकारिता गर्नेहरुको पनि आ–आफ्नै बानी छ । यहाँ करले भन्दा रहरले धेरै रंगीन दुनियाँमा रमाइरहेका छन् । नेपाली फिल्म ‘बैनाबट्टा’की अभिनेत्री कविता बान्तावा राईका लागि भने कला क्षेत्र रहर र कर दुवै भएको छ ।

रेडियो र टेलिभिजनमा बोल्दाबोल्दै मोडलिङ सुरु गरेकी कविता भन्छिन्, ‘मोडलिङ र अभिनयमा सानैदेखि रुचि थियो । तर, क्यामेरा फेस गर्न डर लागेपछि गरिनँ ।’

पाँचथर रवीकी, कविता कलाकारिताका लागि भाग्यमानी मानिन्छन् । म्युजिक भिडियोदेखि फिल्म निर्देशकसम्मको आँखामा परेकी कविताका लागि समय अभावले कलाकारिता ‘कर’जस्तै भएको छ ।

व्यवसायमा संलग्न कविता भन्छिन्, ‘कति अफर आउँछ, समय अभावले गर्न सकेकी छैन ।’ रेडियो जंकी र टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा लामो अनुवभ संगालेकी कविता अचानक काठमाडौंमा भेटिइन् । एक सेमिनारका लागि काठमाडौं आएकी मोडल तथा अभिनेत्री कविता बान्तावा राईसँग दृष्टिको जम्काभेट :

तपाइँको घर इलाम कि पाँचथर ?

म जन्मिएकी इलामको लक्ष्मीपुर हो । कर्मथलोचाहिँ पाँचथरको रवी । कर्मथलोलाई नै आधार मानेर भन्ने हो भने म अहिले पाँचथरकी हुँ ।

तपाइँ अभिनय र मोडलिङ गर्नुहुन्छ होइन त ?

म रहरले कलाकार हुँ । समय मिल्दा मोडलिङ र अभिनय दुवै गर्छु ।

कलाकारितामा रहर कहिलेबाट जाग्न थाल्यो ?

अलिअलि रुचि सानैदेखि थियो । तर, सुरुमा रेडियोमा काम गरेँ । इलामको ‘इलाम एफएम’मा साढे चार वर्ष कार्यक्रम चलाएँ । त्यसपछि रेडियो रवीमा काम गर्दागर्दै विर्तामोडको सुर्योदय टेलिभिजनमा भिजे भएर काम गरेँ । टेलिभिजनमा गीत बजाउँदा बजाउँदै मलाई पनि मोडलिङ गर्ने रहर जाग्यो । त्यसपछि मोडलिङ सुरु गरेकी हुँ ।

पहिलोपटक क्यामेरा फेस गर्दा डरले नर्भस हुनुभएन ?

मोडलिङ गर्नुअघि टेलिभिजनमा काम गरिसकेकाले केही जस्तो लागेन । मैले टेलिभिजनमा पनि अडिसनविनै काम थालेकी हुँ । म विर्तामोड बस्न थालेकी थिएँ । एकैपटक कार्यक्रम प्रस्तोतामा ‘ओके’ भए । ‘ओके’ भनेर फकँदै गर्दा बाटोमै थिए ।  कार्यक्रम निर्माताले फोन गरेर बोलाउनुभयो र प्रोगाम चलाउ भन्नुभयो । त्यो फोनिङ कार्यक्रम थियो ।

अभिनयमा आउनुअघि मोडलिङ गर्नुहुन्थ्यो ?

केही म्युजिक भिडियो गरेकी थिएँ । तर, अहिले त्यो भिडियो हेर्दा आफ्नै अभिनयमा चित्त बुझ्दैन । अहिले त्योभन्दा राम्रो गर्न सक्छुजस्तो लाग्छ ।

फिल्ममा अवसर कसरी पाउनुभयो ?

म रवीमा आफ्नो पसलमै थिएँ । उहाँहरु (राज चाम्लिङ)को टिम शर्ट फिल्म खिच्न रवी आउनुभएको थियो । त्यो शर्ट फिल्ममा उहाँहरुले मलाई छोटो भूमिका दिनुभयो । त्यो मन पराएर होला, पछि उहाँहरुले फिल्म ‘बैनाबट्टा’का लागि प्रस्ताव गर्नुभयो ।

‘बैनाबट्टा’मा तपाइँको भूमिका के छ ?

‘बैनाबट्टा’ नेपाली कथानक चलचित्र हो । फिल्ममा म मुख्य भूमिकामै छु । मेरो रोलचाहिँ बाहिर पढेर गाउँमा फर्किएकी युवतीको छ । जसको गाउँकै सोल्टीसँग लभ पर्छ ।

आफ्नो पहिलो फिल्म आफैँले हेर्दा कस्तो लाग्यो ?

मलाई त राम्रो लाग्यो । हामीले जुन हिसाबले सुटिङ गरेका थियौँ, त्यो हिसाबले राम्रो लागेको हो । ‘बैनाबट्टा’मा निर्देशकदेखि कलाकारसम्म नयाँ थियौँ । सबैको डेब्यू फिल्म हो । सुटिङ पनि छोटो समयमै सकेका थियौँ । डेब्यूका हिसाबले फिल्म राम्रो बनेको छ ।

नयाँ फिल्मका लागि अफरहरु आइरहेको छ कि छैन ?

म्युजिक भिडियो र फिल्मका लागि अफरहरु त आइरहेको छ । तर, मैले नै समय दिन भ्याएकी छैन । कतिपय फिल्म मैले सोचेजस्तो पनि हुन्न । मैले चाहेजस्तो विषयवस्तु भएको फिल्ममा अफर आयो भने समय दिनेछु ।

रहरमात्र गर्ने समय दिन नभ्याउने कसरी हुन्छ ?

म आफ्नो विजनेशमा बढी व्यस्त हुन्छु । सकेसम्म कलाकारितालाई पनि समय दिने प्रयास गर्दै आएकी छु । तर, अहिले त कर जस्तै भइसकेको छ ।

काठमाडौं केका लागि आउनुभएको नि ?

विजनेशकै सिलसिलामा आएकी हुँ । साथै एउटा सेमिनारमा पनि थियो । त्यसैले हतारमा छोटो समयका लागि काठमाडौं आए पनि मंगलबार नै फर्कँदैछु ।

कलाकारितामा घरपरिवारको सर्पोट कि छैन ?

सर्पोट छ । सर्पोट पाएर नै अहिले यो क्षेत्रमा छु ।

विवाह गरेपछि बन्धनमा परेँजस्तो अनुभव भएको छैन ?

केही त फरक पर्छ नै । तर, मलाई घरबाट रोकतोक छैन । आफ्नो इच्छाअनुसार चल्न सक्छु । चल्दै आएकी पनि छु ।

तपाइँको प्रेम विवाह कि मागी ?

प्रेम त नभनौँ । विवाहअघि उहाँ (श्रीमान)लाई एक दुई पटक देखेको हुँ । त्यसपछि मागी विवाह भयो । विवाह पछि प्रेम भयो ।

प्रतिक्रिया दिनुहोस्