Logo
Logo

सेतो मच्छेन्नाथको रथयात्रा आजबाट सुरु, राष्ट्रपतिबाट दर्शन


दृष्टि संवाददाता


काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज (मंगलबार)बाट सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम बढेका बेला भिडभाड कम गर्दै माक्स प्रयोग अनिवार्य गराइएको छ ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।
रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा राखिनेछ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

स्वास्थ्य मापदण्ड अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको छ । एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ ।

समितिका सचिव सुजीव बज्राचार्यले सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन कोरोना महामारीबाट बच्ने पर्याप्त व्यवस्था गरिएको बताए ।
गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्