Logo
Logo

थुप्रै सहसचिवहरू कारबाहीमा


दृष्टि संवाददाता


काठमाडौं । गत बिहीबार नापी विभागको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको कार्यशैलीको आलोचना गरे । कर्मचारीका कारण देशमा ढिलासुस्ती भएको उनको आरोप थियो । तर, सरकारको कार्यशैली भने कस्तो छ भने ‘प्रो एक्टिभ’ भएर काम गर्ने कर्मचारीहरू धमाधम कारबाहीमा पर्न थालेका छन् । गत साता मात्र त्यस्ता दुई सहसचिव कारबाहीमा परे ।

नेपाल ट्रष्टको कार्यालयमा कार्यरत डा भिष्मकुमार भुषाललाई बिचौलियाको दबाबमा चार महिनामै सरुवा गरिएको छ । उनले यति समूहमाथि कारबाही गर्नेदेखि काठमाडौंं प्लाजा खाली गर्न सक्रियता देखाएका थिए । राजनीतिक संरक्षणमा नौ महिनासम्म व्यापारीले भाडा नतिरी काठमाडौं प्लाजा कब्जा गरेका थिए । उनीहरुको राजनीतिक पहुँच थियो । तर, भुषालले बारम्बार ताकेता गरेर खाली गराए ।

त्यस्तै यति समूहको थामसेर्कुले दरबारमार्गमा सम्झौता विपरीत भवन बनाएकोमा थप भाडा तय गर्ने प्रक्रिया अघि बढाएका थिए । ताहाचलमा सम्झौताभन्दा धेरै तला बनाउन खोजेपछि रोकेका थिए । सोही कारण उनी ट्रष्टको अध्यक्ष रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको तारो बनेका थिए । देशको सम्पत्ति जोगाउन इमान्दार प्रयास गर्दा कारबाहीस्वरुप उनलाई चार महिनामै त्यहाँबाट हटाएर नेपाल वित्त आयोगमा सरुवा गरिएको छ । माफिया समूहकै दबाबमा उनको सरुवा गरेको स्रोत बताउँछ । यसमा प्रधानमन्त्री ओलीलाई समेत जानकारी छ ।

त्यस्तै भएको छ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको । उनले पनि कामदार ठग्ने मेनपावरमाथि कारबाही थालेका थिए । तर, हालै नियुक्त भएका श्रममन्त्री गौरीशंकर चौधरी जसरी पनि पैसा कमाउने अभियानमा छन् । आफुलाई जानकारी विना मेनपावर कम्पनीमा छापा नहान्न समेत उनले निर्देशन दिएका थिए । जसकारण दाहाल र चौधरीको विवाद बढेको थियो । मन्त्रीकै सिफारिसमा दाहाललाई हटाएर विभागमा आफुअनुकुलका कृष्ण प्रसाद दवाडीलाई महानिर्देशक बनाइएको छ ।

कोकाकोला कम्पनीमाथि कारबाही थालेकामा राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई हटाइएको थियो । त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि विवादस्पद पृष्ठभुमी भएका गजेन्द्र ठाकुरलाई लगिएको छ । हाल सेटिङमा खप्पिस कर्मचारीहरु पुरस्कृत हुने र इमान्दार र नेताको स्वार्थ पुरा गर्न नसक्नेहरु कारबाहीमा पर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्