Logo
Logo

मन्त्री बनेका जसपाका सांसदले फ्याँके स्पष्टीकरण पत्र


दृष्टि संवाददाता


बुटवल । पार्टी निर्णय उल्लंघन गर्दै सोमबार लुम्बिनी प्रदेशको मन्त्री बनेका जनता समाजवादी पार्टीका चार संसदलाई संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताकाक्रममा सोमबार हस्ताक्षर गरेका सन्तोष पाण्डे, सुमन रायमाझी, विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिएका छन् । उनले पार्टीको ह्विप उल्लङघन भएको बताएका छन् ।

तर, कर्मचारीले चारैजनालाई पत्र बुझाएको भएपनि पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले अस्वीकार गरेका छन् । पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएका थिए ।

स्पष्टीकरण सोधिएका मन्त्री सन्तोष पाण्डेयले भने संसदीय दलको नेता आफू भएको बताए । उनले बहुमतले निर्णय गरेर आफूलाई दलको नेता चयन गरेको दाबी गर्दै अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने बताए ।

यसअघि पार्टी प्रदेश समितिका अध्यक्ष अशोक यादवले पनि चारै जनालाई स्पष्टीकरण नआउँदासम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमार्फत जनाएका थिए ।

यसैबीच जसपा रुपन्देहीले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी चारैजना मन्त्रीको कार्यक्रम बहिष्कार गर्न कार्यकर्तालाई अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्