Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : स्पष्टीकरणको जवाफ दिने माधव समूहको निर्णयदेखि बाँकेमा एक साता लकडाउनसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसको संक्रमण बढेसँगै लुम्बिनी प्रदेशको बाँकेमा वैशाख ९ देखि लकडाउन हुने, बाँकेमा मंगलबारसम्म ८ सय ६६ जना संक्रमित थपिए, नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी पुष्टि, एक सातापछि पनि अवस्था हेरेर निर्णय गर्ने जिल्ला कोभिड १९ जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको निर्णय ।

२. पछिल्लो २४ घण्टामा एक हजार सात सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमित सबैभन्दा बढी काठमाडौंका, थप ११ जनाको मृत्यु, मृतक संख्या तीन हजार एक सय २ पुग्यो, भेरी अस्पतालमा परीक्षण गरिएकोमध्ये झण्डै ९३ प्रतिशतलाई संक्रमण, जेठ अन्तिमसम्ममा दैनिक ११ हजार कोरोना संक्रमित थपिने, ५ सय जना गम्भीर हुनसक्ने सरकारको प्रक्षेपण, सूर्य ल्याबले स्वाब नै नजचाई पिसिआर रिपोर्ट दिने गरेको आरोप, प्रहरीले मा¥यो छापा ।

३. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत २७ सांसदलाई पार्टी र संसदबाट निष्काशन गर्न स्पष्टीकरण, ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने माधव समूहको बैठकको निर्णय, कारावाही गरे अदालतसम्म जाने तयारी, सांसदलाई स्पष्टीकरण सोधेर ओलीले विभाजनको अर्को कदम चालेको माधव समूहको तर्क ।

४. प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच दुई घण्टा छलफल, नेता÷कार्यकर्तालाई लगाइएको मुद्दा दुई दिन भित्र मन्त्रिपरिषदबाट फिर्ता लिने बचन, केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा पार्टीमा सर्वसम्मत् निर्णय भएपछि मात्रै एजेण्डा बन्ने राजेन्द्र महतोको दावी ।

५. संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम चालेको नेकपा माओवादी केन्द्रको निष्कर्ष, केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा स्थायी कमिटीको बैठक अनिर्णित, संसद विघटन भएर मुलुक चुनावमा गए वैधानिक रूपमा हुने चुनावको पक्षमा रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ ।

६. कोरोना नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा १३ बुँदे निर्देशन जारी, मंगलबार जारी निर्देशनमा शैक्षिक संस्थादेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हललगायत भीड हुने स्थानसम्म सबै वैशाख मसान्तसम्म बन्द गर्नुपर्ने, सवारीसाधनमा स्वाथ्य मापदण्ड पालना गर्न, २५ जना भन्दा बढी भेला नहुन तथा मठमन्दिरमा पूजा÷प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन ।

७. जनता समाजवादी पार्टीका चार सांसद मन्त्रीमा नियुक्त भएपछि जसपाभित्रै विवाद चुलियो, लुम्बिनी प्रदेश संसदीय दलले स्पष्टीकरण सहित गर्यो कारवाही, २४ घण्टा जवाफ पेश गर्न निर्देशन, चार सांसदले नै पठाइएको स्पष्टीकरण बुझ्न मानेनन्, मन्त्रीहरु सहभागी सामाजिक र राजनीतिक कार्यक्रमहरुमा पार्टीका नेता कार्यकर्तालाई उपस्थित नहुन संसदीय दलको अपील ।

८. शेयर बजारमा ‘बुल’ र ’बियर’ बीच कडा भिडन्त, नेप्से सामान्य अंक बढ्दा कारोबार रकम घट्यो, सिटिजन्स बैंकको खुद नाफा साढे ४१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार, एक्यानको ३६औँ वार्षिक साधारणसभाबाट विधान संशोधन, गभर्नर अधिकारी र सिए उपाध्याय सम्मानित ।

९. त्रिकोणात्मक टी २० सिरिजमा नेपालको पहिलो हार, नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित, हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने, डेब्यु सिरिजमा नै टी २० अन्तराष्ट्रिय क्रिकेटमा लगातार तीन खेलमा अर्धशतक बनाउने कीर्तिमान कुशल भुर्तेलको नाममा दर्ता, सोमबार मात्र आइसीसीको टी २० बरियतामा १४ औं स्थानमा उक्लिएको नेपाल मंगलबार अपडेट भएको नयाँ बरियतामा फेरी १५ औं स्थानमा, फोर्ब्सको ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी जलपरी गौरिका सिंह ।

१०.र, भारतमा २ लाख ५६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह पनि संक्रमित, एकै दिन १७ सयको मृत्यु, अमेरिकाद्वारा भारतसहित विश्वका ८० देशको यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह, अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिए ।

प्रतिक्रिया दिनुहोस्