काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री फेरिने सम्भावना बढेको छ । एमालेका पुथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।
लुम्बिनी प्रदेशमा जस्तो कुनै चमत्कार नभएमा दुई साताभित्र मुख्यमन्त्री गुरुङ हट्नेछन् । विपक्षी दलले अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभाको अधिवेशन अन्त्य गरेकोमा बिशेष अधिवेशन आह्वान भइसकेको छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ जना सांसदको हस्ताक्षरसहित वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। प्रदेश सभाको अधिवेशन अन्त्य गरेपछि मुख्यमन्त्रीसँग आक्रोशित विपक्षीले वैशाख २ मा विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए। उनले १३ बैशाखका लागि बिशेष अधिवेशन आह्वान गरिसकेका छन् ।
६० प्रदेशसभा रहेको गण्डकीमा एमालेसँग २८, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका तीन र जसपाका दुई सांसद छन्। गण्डकीमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्दछ। विपक्षी दलको सबै सांसद जोड्दा ३२ मतसहित बहुमत पुग्दछ। सभामुख नेत्रनाथ अधिकारी माओवादीनिकट हुन्। उनलाई मताधिकार नरहेकाले ३१ सांसद विपक्षमा पुग्दछ। उक्त अंक सुविधाजनक बहुमत भने होइन। २८ सांसद रहेको एमालेमा एक सांसद माधवकुमार नेपाल पक्षीय छन् भने राजीव गुरुङ स्वतन्त्र सांसदको दाबी गर्दै आएका छन्। मुख्यमन्त्री गुरुङ अन्य पार्टीका सांसदलाई मन्त्रीको आश्वासन दिएर कुर्सी जोगाउने खेलमा छन् । तर, गण्डकीमा लुम्बिनीमा भन्दा गाह्रो अवस्था देखिएको छ ।











