Logo
Logo

मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति


दृष्टि संवाददाता


काठमाडौं । दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ ।

व्यवस्थापन केन्द्रको निर्देशनानुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले आजदेखि स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।

अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदलयात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा अधिकांशले मास्क लगाएको, केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।

उनका अनुसार मास्क प्रयोगमा हेलचक्र्याइँ गर्नेलाई अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले केन्द्रको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताए । उनले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले सबैलाई स्वास्थ्य मापदण्ड पूर्णपालना गर्न निर्देशन दिइएको जनाए।

टोलीले सुर्खेतस्थित ठूला होटल, ट्रकोमा रिसोर्ट, स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ ।

प्रदेश अस्पतालमा मङ्गलबार ६४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको आज पनि त्यही सङ्ख्यामा खोप लगाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्