Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ओली र नेपालबीच भेटवार्तादेखि २४ घण्टामा २ हजार बढी कोरोना संक्रमित थपिएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा भेटवार्ता, झण्डै २ घण्टा ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल, पार्टीलाई विवादरहित बनाएर अघि बढ्ने विषयमा दुवै नेताबीच सकरात्मक संवाद भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको प्रतिक्रिया ।

२. निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूह सर्वोच्च अदालतमा, सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई आदेश जारी गरीपाउँ भन्दै निवेदन, निवेदन दिएपनि सर्वोच्चले दर्ता गर्न मानेन ।

३. नेपालमा कोरोना भाइरसको संक्रमण उकालो लाग्दै, एकैदिन दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, एक हप्तामा ४६ प्रतिशतले बढ्यो संक्रमण दर, काठमाडौँ विश्वविद्यालय जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा. अर्चना श्रेष्ठले अघिल्लो हप्ताको दाँजोमा १ सय ६२ प्रतिशतले संक्रमणको संख्यामा वृद्धि भएको भनाइ, अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नागरिकलाई अपिल, कोरोना संक्रमण तीव्र हुँदा सरकारले उदासीनता देखाएको सांसदहरूको गुनासो ।

४. जनता समाजवादी पार्टी संसदीय दल लुम्बिनी प्रदेशद्वारा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दावी, प्रेस विज्ञप्ति निकाल्दै कुनै फरक प्रसंगमा लिइएको हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएको भन्दै संसदीय दलका नेता सन्तोष पाण्डेद्वारा निन्दा, भर्खरै हिउँदे अधिवेशन सम्पन्न भएको र वर्षे अधिवेशन छिट्टै बस्ने भएकाले विशेष अधिवेशन बस्न आवश्यक नभएकाले जनता समाजवादी पार्टीले विशेष अधिवेशनका लागि समावेदन नगरेको विज्ञप्तिमा दाबी ।

५. सर्वोच्च अदालतद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला, घुस लिने व्यक्ति पक्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन गरेको प्रमाण ग्रहण नहुने सर्वोच्चको आदेश, अधिवक्ता विष्णुप्रसाद घिमिरेले संविधानसँग बाझिएको कानुन अमान्य र बदर घोषित गरीपाउँ भनि दायरको मुद्दामा सुनुवाइ गर्दै प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासको निर्णय ।

६. नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकद्वारा सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा, बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षालाई केन्द्रमा राखेर नीति कार्यक्रम अगाडि बढाउने निर्णय, आगामी बैठकमा संगठनात्मक कार्ययोजना र अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय ।

७. कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारद्वारा बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द, नेपाल हुँदै हवाईमार्गमार्फत तेस्रो मुलुक जाने भारतीय राहदानीवाहक नागरिकले अबदेखि काठमाडौंस्थित भारतीय राजदूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन नपर्ने ।

८. नेपालमा दोस्रो चरणको कोरोना भाइरस तिब्र रुपले फैलिन थालेपछि पछिल्लो समय शेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिन थाल्यो, बुधबार नेप्से सूचक १ दशमलव २२ प्रतिशत अर्थात ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २१ विन्दुमा, सिईडिबि हाइड्रोपावरले बैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्दै, विशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा, बिहीबारदेखि कारोबार हुने ।

९. काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजमा एक खेल अगावै नेपाल फाइनलमा, बुधबार भएको नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा टुंगिएपछि नेपाल फाइनलमा, सिरिजको उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससँग फाइनल खेल्ने, काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट लयमा देखिएका कुशल भुर्तेल विश्व टी २० बरियतामा पहिलो पटक समावेश, इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले पहिलो जित, पञ्जाव किंग्स नौं विकेटल पराजित ।

१०. र, भारत महाराष्ट्रको एक अस्पतालमा अक्सिजन चूहावट हुँदा २२ जनाको मृत्यु, भारतमा संक्रमितको संख्यामा रेकर्ड, एकैदिन २ लाख ९४ हजारमा संक्रमण, एकै दिन दुई हजारको मृत्यु, कोरोना महामारीको अन्तिम विकल्प लकडाउन मात्रै भएको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ, अमेरिकामा गत वर्ष घाँटी थिचेर मारिएका जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्वप्रहरी अधिकारी डेरेक चोभनलाई जुरीले दोषी ठहर ।

प्रतिक्रिया दिनुहोस्