खैरो हेरोइनमा पाकिस्तानी गिरोह नेपालमा सक्रिय, तीन जना पक्राउ « Drishti News – Nepalese News Portal
Logo

खैरो हेरोइनमा पाकिस्तानी गिरोह नेपालमा सक्रिय, तीन जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । खैरो हेरोइनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् । ९ सय ग्राम अवैध लागूऔषध खैरो हेरोइन र ३ सय अमेरिकी डलर सहित धादिङ खनियाबास गाउँपालिका–१ स्थायी वतन भएका ४९ वर्षीय दावा लामा तामाङलाई गत चैत २६ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा थप दुई जना पक्राउ परेका हुन् ।


पाकिस्तानबाट एयर अरबिया एयरलाईन्स मार्फत सारजाह हुँदै नेपाल आएका दावाले अबैध लागूऔषध खैरो हेरोईनका क्याप्सुलहरू पेटमा लुकाई लिई आएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई सोही दिन नेपाल प्रहरी अस्पतालमा लगेर सिटि स्क्यान गर्दा पेटमा क्याप्सुलहरू देखिएपछि अस्पतालमा राखेर दिशाबाट निकालेर तौल गरीएको हो । बरामद लागूऔषधको अवैध बजार अन्दाजी मूल्य ९० लाख रुपैयाँ बराबरको रहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

साथै सोही कारोबारमा संलग्न धादिङ साबिक सत्यदेवी गाविस–२ बस्ने ५९ वर्षीया गोपी तामाङ, धादिङ रुवी भ्याली सेर्तुङ घर भएकी ४५ वर्षीया होनी माया तामाङनी र लम्जुङ मस्याङ्दी गाउँपालिका–४ घर भएका ५२ वर्षीय वयस बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

दावा लामा तामाङ यस अघि पनि २०६५ चैत ३० गते लागूऔषध नियन्त्रण व्यूरोबाट लागूऔषध सेतो हेरोईन मुद्धामा ६ जना नेपाली र ३ जना बिदेशी नागरिकसहित पक्राउ परि ५ वर्ष कैद भुक्तान गरी निस्किएको, गोपी तामाङ २०६५ चैत ३० गते लागूऔषध नियन्त्रण व्यूरोबाट चलाईएको लागूऔषध सेतो हेरोईन मुद्दामा समेत फरार रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्